तिहारमा महानगरको अनुगमन

आदर्श समाज सम्वाददाता
कार्तिक १७, २०७८
anugaman metro

पोखरा । तिहारको मौका पारेर बजारमा म्याद गुज्रेका, तौल कम भएका बिक्री भएको गुनासो बढेपछि पोखरा महानगरपालिकाले मंगलबार पोखरामा अनुगमन गरेको छ ।
महानगरको अनुगमन टोलीले पोखरा तेर्सापट्टी, नालामुख क्षेत्रमा रहेका तिहारका सामान किनबेच हुने पसलमा अनुमगन गरेको हो ।
टोलीले तौल कम भएका, म्याद गुज्रेका, उत्पादन र समाप्त मिति उल्लेख नभएका तथा मूल्यसूची नलेखिएको फेला पारेको पोखरा महानगरपालिका उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए । तेर्सापट्टीस्थित महावीर खेलौना पसलमा म्याद गुज्रेका खाद्य सामग्री र मूल्यसूची नटाँसिएको पाइएकोले उनले जनाए । उक्त पसलमा म्याद गुज्रेका सामान तत्काल हटाउन र मूल्यसूची टाँसका लागि निर्देशन दिई महानगरमा उपस्थित हुन भनिएको छ ।
त्यस्तै, नालामुखस्थित न्यू पशुपति मिठार्ई पसलले ओखरका प्याकेट कम तौलमा बिक्री गरेको पाइएको छ । सो पसलले १ सय ग्राम तौल कम गरेर १ किलोको भनी ओखर प्याकेट बिक्री गरेकोले पूरा तौल गर्न निर्देशन दिंदै महानगरमा सम्पर्क राख्न भनिएको छ ।
महानगर कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङसहित संलग्न अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय कास्कीका शिवप्रसाद गौतम, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका शिव बराल, गुणस्तर तथा नाप तौल कार्यालयका रघु पौडेल, महानगर सहकारी तथा उद्योग वाणिज्य शाखाका अर्जुन नेउपाने, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि मंगल नेपाली, महानगर कृषि महाशाखाका दामोदर अधिकारी लगायत थिए ।
चाडपर्वमा व्यवसायीले उपभोक्तालाई ठग्ने गरेको गुनासो आएकोले अनुमगन गरिएको महानगरका कावा प्रमुख गुरुङले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width