दसैं मनाउन घर फर्कनेको लर्को

धनबहादुर गुरुङ
असाेज १९, २०७८
Dashain Yatayat Photo Main

पोखरा । बसबिसौनीभरि गाडी । गाडीको घ्यार्रघ्यार्र । उत्तिकै संख्यामा यात्रु । यात्रु बटुल्न सहचालकलाई हतारो छ । टिकट काउन्टरमा पनि टिकट काट्नेको भिड देखिन्छ । सोमबार पोखरा पृथ्वीचोकको यो दृृश्यले दसैं माहोल सुरु भएको प्रष्ट संकेत दिन्थ्यो । कोरोनाले थलिएर केही शान्त भएको बेला ठूला चाडवाड संघारमा आएकाले यतिखेर घर फर्कने हतारमा छन्, मानिसहरु ।
फेरि पनि कोरोना प्रभावले दसैं मनाउन घर पुग्न नपाएला कि भन्ने शंकामा यात्रु बडेमानका झोला लिएर बसबिसौनी पुगिरहेका छन् । सहचालक पनि ‘कहाँसम्म पुग्ने हो, हिंड्नै लायो चढिहालम्’ भन्दै आकर्षित गरिरहेका छन् । सहचालकको बोली खेर नजाओस् भनेर चालकले गाडी घ्यार्रघ्यार्र पारिरहेका छन् । एउटा बस छुट्न नभ्याउँदै अर्को बस अर्को आइहाल्छ । बसबिसौनी नजिकै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको टिकट काउन्टर छ । त्यहाँका ४ जना कर्मचारीको व्यस्तता पनि अचेल बढ्दो छ ।
सो काउन्टरबाट दैनिक सय हाराहारीमा टिकट काट्नेहरु भेटिन्छन् । अघिल्लो वर्ष कोरोना प्रभावले दसैं अघि चहलपहल थिएन । अहिले जे जति भएको छ, सन्तोषजनक रहेको काउन्टरका कर्मचारी नवीन गुरुङ बताउँछन् । ‘पहिला यही पनि थिएन । अहिले चहलपहल बढिसक्यो,’ उनले भने, ‘हामी यहाँ ४ जना छौं । व्यस्तता दिनानुदिन बढ्दै छ ।’ अग्रिम टिकट काउन्टर व्यवस्था भएकाले आफूहरुलाई केही सहज भएको उनी सुनाउँछन् ।
यता, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्रबहादुर केसीले चाडपर्व नजिकिएसँगै तयारी तीव्र बनाएको बताउँछन् । ‘हामीले अग्रिम बुकिङ सुरु गरेका छौं । आवश्यकताअनुसार गाडीहरु उपलब्ध गराउने तयारी छ,’ उनले भने, ‘सामाजिक दूरी कायम गर्न सिटभन्दा बढी मान्छे नराख्ने, सेनिटाइजर एवं मास्क अनिवार्य गरेका छौं ।’

गत वर्ष कोरोना प्रभावबीच दसैं मनाएका नेपालीले यस वर्ष उत्साहसाथ दसैं मनाउने आशावादी छन्

सहर पढ्न बस्ने विद्यार्थी र तिनका अभिभावक गाउँ नै रहेका कारण अग्रिम टिकटमा त्यति यात्रुको भीड नरहेको उनले बताए । तर कोरोनाकै कारण गत वर्ष भन्दा यो वर्ष दसैं मुखमा घर फर्किनेहरु केही मात्रामा बढेको उनी बताउँछन् । बिस्तारै बसपार्क एवं बसबिसौनीमा यात्रु चहलपहल सुरु भइसकेको केसीले बताए । कम्पनीअन्तर्गत लामो तथा छोटो दूरीमा चल्ने ४ सय बस छन् । तीमध्ये पछिल्ला दैनिक २ सय गाडी पोखराबाट अन्यत्रका लागि छुट्छन् । यात्रुलाई कुनै हालतमा कम्पनीले गाडीको अभाव महसुस हुन नदिने गरी आफूहरुले तयारी थालेको उनले बताए । ‘हामीलाई तत्कालका लागि गाडी समस्या छैन,’ उनले भने, ‘यात्रुले गाडी पाइएन भन्ने वातावरण पृथ्वी राजमार्गले हिजो पनि गराएन, आज पनि गराएको छैन र भोलि पनि गराउने छैन ।’


चाडवाडको समय सम्भावित दुर्घटना न्युनीकरणका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले पनि तयारी सुरु गरिसकेको जनाएको छ । बिस्तारै चाडवाडका लागि घर फर्कनेहरु बढेकाले यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइसकेको छ । पृथ्वीचोकको पोखरा बसपार्क र बाग्लुङ बसपार्कमा सोमबार सहायता कक्ष स्थापना गरिएको हो । चाडपर्वका बेला सवारीसाधनमा क्षमता बढी यात्रु राख्ने, बढी भाडा लिने लगायत गलत क्रियाकलाप हुने भएकाले सोको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको ट्राफिक प्रमुख अमृतबहादुर बस्नेतले बताए । यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी खटाइएको छ ।
उनले भने, ‘हामीले पोखराका २ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएका छौं । कुनै पनि यात्रुलाई समस्या परे सो कक्षमा सम्पर्क राख्न सक्छन् ।’
चाडपर्वको बेला ‘नमस्ते अभियान’ सँगै देशविदेश तथा अन्यत्र स्थानबाट पोखरा केन्द्रित भई आवतजावत गर्ने सम्पूर्णलाई लक्षित गरी उनीहरुको गुनासो समाधान गर्ने उनको भनाइ थियो । साथै चाडपर्व अवधिम हुने सवारी दुर्घटना एवं कोभिड –१९ संक्रमण न्युनीकरण गर्न सचेतनाका लागि यात्रुसँग १ मिनेट, पर्चा पम्लेट वितरण, स्टिकर टाँस्न, मास्क वितरण, जिंगल तथा माइकिङ कार्यक्रम गरिने ट्राफिक प्रमुख बस्नेतले जानकारी दिए । पोखराका मुख्य नाकाहरु गगनगौडा, छोरेपाटन र हेमजामा चेकिङ कडाइ बनाउने उनको भनाइ थियो ।
विश्वभर कोरोना महामारीका कारण नेपालमा गत २०७६ चैत ११ मा पहिलो पल्ट देशभर लकडाउन भएको थियो । गत वर्ष कोरोना प्रभावबीच नेपालीले जसोतसो दसैं मनाएका थिए । त्यसपछि केही महिना खुकुलो बनेको लकडाउन पुनः दोस्रो लहरले यस वर्ष वैशाख दोस्रो सातादेखि कडा पारिएको थियो । हाल संक्रमण कम हुँदै जाँदा ठाउँठाउँमा गतिविधि पूर्ववत रुपमा फर्किएको पाइन्छ ।

Related News

सम्बन्धित समाचार

  • जिभिपी युके लन्डनलाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लन्डनले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की आयोजनामा शनिबार…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  • हातपात अभियोगमा पक्राउ

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई…
  • तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त…
  • उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि उषा खनाल र प्रकाश थापा…

hero news full width