बढ्न थाल्यो कोरोना, भरिन थाले अस्पताल

धनबहादुर गुरुङ
श्रावण २७, २०७८
covod bed

पोखरा। कोरोनाको तेस्रो भेरियन्ट संघारमा सरकारी अस्पताल भरिन थालेका छन् । दोस्रो भेरियन्ट सुरु हुँदाताका गत बैशाख तेस्रो सातातिर जसरी अस्पताल भरिभराउ थिए, सोही अवस्था दोहोरिन थालिसकेको छ ।

कोरोना नियन्त्रणका लागि सरकारको स्मार्ट लकडाउनले संक्रमण वृद्धि गर्न सघाउ पुगिरहेको पाइन्छ । फलस्वरुप गण्डकी प्रदेश राजधानी पोखरामा सञ्चालित कोरोना डेडिकेटेट अस्पतालमा आइसियु र भेन्टिलेटर पाउन मुस्किल परिसकेको छ ।

संक्रामक रोग तथा सरुवा रोग अस्पताल, पोखराका निर्देशक डा. विकास गौचनको व्यस्तता बढ्न थालेको छ । बेड लगभग भरिएका छन् । उपचारार्थ आएका बिरामीलाई अचेल बेड मिलाउन हम्मेहम्मे परिसकेको छ, उनलाई । संक्रमितमध्ये अधिकांश अक्सिजन दिनुपर्ने खालका छन् ।

अस्पतालको बेड संख्या ५० हो तर परिआएको खण्डमा ५२/५३ वटासम्म बेड अस्पतालले व्यवस्थापन गर्न सक्छ । यहाँका ६ आइसियु र ३४ एचडियु बेड फुल छन् । बाँकी जनरल बेडमा उपचार गरिरहेका छन् । ‘जनरलमा संक्रमित आउने र निको भएर जाने क्रम चलिरहन्छ,’ उनले भने, ‘पछिल्लो समय बिरामी बढेका छन्, हामीले क्षमताभन्दा बढीलाई सेवा दिनुपरेको छ ।’ जनरल वार्डमा अक्सिजन चढाउन समस्या भएको समयमा आइसियु र एचडियुमा बेड व्यवस्थापन गर्न गाह्रो परेको डा. गौचन सुनाउँछन् ।

कोरोनाको दोस्रो लहर उच्च रहेको बेला ५६ जनासम्म राखेर उपचार गरिएको डा. गौचनले बताए । केही घटेजस्तो भइ निषेधाज्ञा समेत खुकुलो हुँदै जाँदा अचेल कोरोना संक्रमितको संख्या फेरि उकालो लागेको उनले बताए । लकडाउन खुकुलो बनाइनु र स्वास्थ्यका मापदण्ड पूरा नगर्दा संक्रमित बढेको हुन सक्ने उनको भनाइ छ । सरकारले काम गरिरहे पनि व्यवस्थित रुपमा खोपको पहुँच पुर्‍याउन नसकेको उनको भनाइ छ । नागरिकले पनि स्वास्थ्य मापदण्डमा ख्याल नगर्दा संक्रमण बढेको उनको आकलन छ ।

पछिल्लो समय अस्पतालमा अक्सिजन ग्यास खपत समेत बढेको छ । केही दिन अघिसम्म दैनिक ५० सिलिन्डर खपत भए पनि अचेल दैनिक १ सय हाराहारीमा ग्यास सिलिण्डर आवश्यक परेको डा. गौचनले जानकारी दिए । यसरी नै संक्रमित बढ्दै जाने र सजगता नअपनाउने हो भने स्थिति झनै भयावह बन्न सक्ने उनको दाबी छ ।
गत असारमा गण्डकी प्रदेशमै पहिलो पटक गोरखा र स्याङ्जामा गरी ५ जनामा कोरोनाको डेल्टा भेरियन्ट देखा परेको थियो । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार स्याङ्जामा २ र गोरखामा ३ जनामा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ संक्रमण फेला परेको हो ।

प्रदेशको ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा समेत पछिल्ला दिन कोभिडका बिरामी बढ्न थालेका छन् । केही दिनयता छिमेकी जिल्लाबाट बिरामी आउन थालेसँगै संक्रमित चाप बढेका कोरोना फोकलपर्सन डा. शरदचन्द्र बरालले जानकारी दिए । बेड खाली नभएकाले लक्षण देखिएकालाई रिपोर्ट नआउँदासम्म इमर्जेन्सी वार्डमै राखिएको उनले बताए । ‘कोरोनाको दोस्रो भेरियन्ट सुरु भएदेखि हाम्रो हस्पिटलमा बेड खाली छैन,’ उनले भने, ‘तेस्रो भेरियन्ट देखिने बेला भइसक्यो । अहिले झनै संक्रमित बढेको बढ्यै छ । तेस्रो भेरियन्ट झनै शक्तिशाली हुने भएकोले सचेतना जरुरी छ ।’
हाल अक्सिजन सिलिन्डर खपत ३ सयभन्दा बढी हुने गरेको उनले बताए । बीचमा खपत घटेर १ सय ५० सिलिन्डर पुगेकोमा अचेल बढेको उनको भनाइ छ । अस्पतालका ३० कोभिड एचडियु बेड २ सातादेखि भरिन थालेका हुन् । सरकारीमा पर्याप्त आइसियु बेड नहुँदा संक्रमितले निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । भेन्टिलेटर भने अस्पतालमा थपिने क्रम जारी छ ।

हाल गण्डकीभर सरकारी, सामुदायिक र निजीमा गरी २ सय १४ कोभिड आइसियु बेड र ८३ भेन्टिलेटर छन् । सरकारीमा आइसियु ६० र भेन्टिलेटर ३० बेड छन् । केही जिल्ला अस्पतालमा भेन्टिलेटर रहे पनि जनशक्ति अभाव छ । त्यसकारण आइसियु सञ्चालन हुन सकेका छैनन् । मनाङ र मुस्ताङका जिल्ला अस्पताल, बन्दीपुर अस्पताल, शिशुवा कोभिड अस्पाल र मातृशिशु अस्पतालमा आइसियु र भेन्टिलेटर दुवै छैनन् । लमजुङ, पर्वत र गोरखामा २ देखि ५ बेडका कोभिड आइसियु छन् । ती पनि जनशक्ति अभावमै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् ।

प्रदेश सरकारले सञ्चालन गरेको संक्रामक तथा सरुवा रोग अस्पतालमा ६ आइसियु बेड र ७ भेन्टिलेटर छन् । बागलुङस्थित धौलागिरि अस्पतालमा ४ आइसियु बेड र ४ भेन्टिलेटर, नवलपुरको मध्यविन्दु अस्पतालमा ५ आइसियु र ३ भेन्टिलेटर, म्याग्दीको बेनी अस्पतालमा ५ आइसियु बेड, दमौली अस्पतालमा ७ आइसियु र ४ भेन्टिलेटर, जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा २ भेन्टिलेटर छन् । समयमै ख्याल नगर्ने हो भने कोरोनाको डेल्टा भेरियन्टले विकराल रुप लिने चिकित्सकको आकलन छ । कोरोनाका बिरामी जाँच गर्दागर्दै चिकित्सक थाकिसकेको डा. बरालको भनाइ छ । ‘स्वास्थ्यकर्मी थाकिसके । त्यसरी काम गरिरहनु भएको छ,’ उनले भने, ‘कोरोना झन् बढ्न थालेको अवस्था छ, बिरामी दिनानुदिन बढिरहेका छन् ।’

Related News

सम्बन्धित समाचार

hero news full width

trending post