प्राविधिक त्रुटिले फेवामा बिलायो बाँध

धनबहादुर गुरुङ
असार २५, २०७८
Harpan Khola Photo 3

पोखरा । पोखरा २३ नयाँबस्ती लुकुवाका पवित्रा परियारलाई पानी परेको दिन निद्रा पर्दैन । कुन बेला हर्पन खोलाले धार परिवर्तन गरेर बस्तीमा आउने हो भन्ने चिन्ताले सताउँछ उनलाई । उमेर ६५ लागेकी परियारलाई पहिला पहिला हर्पन खोलाको उत्तिकै डर थियो । महानगरको पहलमा दाँया बायाँ तटबन्धसहित ड्याम बनाउने भएपछि केही राहत होला भन्ने सोचेका थिए । तटबन्ध बन्यो, ड्याम तयार भयो तर उनको डर पहिलाभन्दा बढ्यो । ड्याममा रोकिएको पानी भरिएर गाउँ नै तलाउ बन्ने चिन्तामा छन्, नयाँबस्तीबासी ।
हर्पन खोलामा आएको बाढीले उक्त ठाउँ भरिंदै थियो, राति एक्कासि ड्याम फुट्यो । बाँध फुटेर पानीको सतह घटेपछि किनार छेउछाउ बस्नेहरुको पिर पनि घट्यो । तर तलतिर लगाएको धान बिहान उठ्दा पानीले सखाप पारिसकेको थियो । ड्याम बनाउने काम स्थानीयलाई उतिबेलै निको लागेको थिएन । हर्पनजस्तै तालका अन्य सहायक मुहानहरुबाट बर्सेनि १ लाख २४ हजार मेट्रिक टन गेग्रान फेवा पुग्ने तथ्यांक निकाल्यो । तिनै गेग्रान रोक्ने र ताल बचाउने भन्दै महानगर र प्रदेशले काम गर्ने भनेपछि फेवाताल जोगाउने काममा उनीहरुले विरोध गरेनन् । तर बस्ती जोगाउने गरी तटबन्ध अग्लो बनाउनुपर्ने माग उनीहरले गरेका थिए ।
तर स्थानीयको माग नसुनी खड्का कृष्ण/पि.के जेभी दाङले २०७६ पुसदेखि काम सुरु गर्‍यो । ७ करोड ८८ लाखमा निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको २ वर्ष नबित्दै बाँध बाढीले बगाएको छ । बुधबारदेखि आएको पानीले ड्यामको करिब १० मिटर भाग बगाएको पोखरा २३ का कार्यवाहक अध्यक्ष भरतराज भण्डारी जानकारी दिए । ड्याम फुटेर गएको पानीले ठूलाखेतका ६ घरमा क्षति पुर्‍याएको उनले बताए । मानवीय क्षति नभएको भए पनि फेवाताल जोगाउन बनाएको ड्यामकै कारण झन् समस्या उत्पन्न भएको उनको भनाइ छ ।

गलत डिजाइन र कमसल मालको करामत
निर्माण कम्पनीको गलत डिजाइन गरेकै कारण करौडौं लगानी पानीमा बगेको कार्यवाहक अध्यक्ष भण्डारीले बताए । गलत डिजाइनबीच पनि नाफा कमाउनका लागि कमसल माल प्रयोग गर्दा नदीको कम बहाबले पनि बगाएको उनको दाबी छ । ‘नाफा कमाउने आधारमा कमसल माल प्रयोग गरिएको थियो,’ उनले भने, ‘त्यही कारण गतसाल बनाउँदा बनाउँदै पनि जीर्ण भएको थियो, पुनः मर्मत गर्दा पनि अहिले यसरी बगायो ।’ नगरपालिकाले ड्याममा भएको ढुंगा गिटी बालुवा निकाल्न दिएको ठेक्काको कारण पनि असर गरेको उनी बताउँछन् । ‘ठेकेदारलाई सिल्ट्रेसन निकाल्न महानगरले दिएपछि अलि ब्यालेन्समा निकालिदिए पनि हुन्थ्यो,’ भण्डारीले भने, ‘ड्यामको नजिकै आएर ड्याम हल्लिने गरी निकाल्दा त्यसको थर्कनले पनि रातारात क्षति पुर्‍याएको हो ।’
ठेकेदार कम्पनीले स्थानीयको सुझाव सल्लाह नसुनी काम गर्दा क्षति भएको स्थानीय तारानाथ पराजुली बताउँछन् । आफूहरुले खहरे ठाडो खोलाका लागि सामान्य डिजाइनले नहुने भन्दाभन्दै इन्जिनियरको हामीले जे गरे पनि हुन्छ भन्ने भावनाले असर गरेको पराजुलीको भनाइ छ । ‘यहाँको भौगोलिक अवस्था अध्ययन पनि भएन, खोला कति स्पिडमा आउँछ भन्ने तिर ध्यान दिइएन्,’ उनले भने, ‘इन्जिनियरहरुले यो यस्तै हो बन्छ भन्नुभयो, कस्तो बनेको रहेछ देखिहालियो नि ।’

फेवाताल जोगाउन बनाएको बाँधकै कारण स्थानीय र फेवाताल जोखिममा छन् । बाँध बनाउँदा कमसल माल प्रयोग भएकाले हातले छुँदासमेत भत्किन्छ

२०७६ पुसमा निर्माण सुरु भएको ड्याम बनाउँदा ताका नै विवादमा परेको थियो । छिटो सक्ने नाममा कच्चा सामग्री प्रयोग गरेको र त्यसले बस्ती जोखिममा पर्ने भन्दै स्थानीयले विरोध पनि गरेका थिए । अहिले पनि सामान्य हातले छुँदासमेत भत्किन्छ । बनाउँदा नै कमसल माल प्रयोग भएको विषयमा स्थानीयले विरोध गर्दा इन्जिनियरले मै हुँ भन्ने व्यवहार देखाएको पराजुलीको आरोप छ । कावा अध्यक्ष भण्डारी आफैंले पनि काम गुणस्तरहीन छ अगाडि बढाउन हँुदैन भन्दा भन्दै महानगर र प्रदेश सरकारले आफ्ना कुरा नसुनेको भण्डारीले बताए ।

फेवा जोगाउन बनेका अरु ड्याममा पनि शंका
हर्पन खोलाको ड्याम बगाएपछि आफ्ना वडामा बनेका अर्को ड्यामसहित अन्यमा पनि शंका गर्ने ठाँउ रहेको कावा अध्यक्ष भण्डारी बताए । फेवातालको मुख्य स्रोत नै हर्पन खोला हो । हर्पन खोलामा बनेको बाँध बगाएको खण्डमा अरु बाँधमा प्रश्न उठाउने ठाउँ रहेको उनको धारणा थियो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा फेवाताल संरक्षणको लागि हर्पनखोला, अँधेरीखोला, लौरुकखोला र बेतनीखोलामा ४ ठाउँमा ड्याम बनाइएको थियो ।
हर्पनखोलामा निर्मित ‘सिल्टेसन ड्याम’ पनि खड्का कृष्ण/पि.के जेभी दाङले नै निर्माण गरेको हो । यसको लागत ७ करोड ८८ लाख रुपैयाँ रहेको थियो । पोखरा २३ र २४ मा पर्ने अँधेरीखोलामा निर्मित ‘सिल्टेसन ड्याम’ पनि खड्का कृष्ण÷पि.के जेभी दाङले नै निर्माण गरेको थियो । यसको लागत ९ करोड ६ लाख रहेको छ ।
पोखरा २४ स्थित वेतयानी खोलामा निर्माण गरिएको ‘सिल्टेसन ड्याम’ श्री गीता/जयनेपाल ईश्वर जेभी, स्याङ्जाले निर्माण गरेको हो । यसको लागत ५ करोड ४६ लाख रुपैयाँ छ । यसैगरी पोखरा २४ लौरुकखोलामा निर्मित ‘सिल्टेसन ड्याम’ खड्का कृष्ण÷पि.के जेभी दाङले निर्माण गरेको थियो । यसको लागत ५ करोड ७४ लाख छ ।
फेवातालको सबैभन्दा माथिल्लो सिरान क्षेत्र तालको सिरान क्षेत्रमा सिल्ट पोखरी र ड्याम निर्माण भएसँगै फेवाताल पुरिनबाट जोगिने विश्वास गरिएको थियो । फेवातालको सिरान क्षेत्रका खोलाहरुबाट बगेर आउने ढुंगा, गिटी, माटो, बालुवा लगायतका ग्रेगर बगेर फेवातालमा मिसिंदा बर्सेनि फेवातालको गहिराई घट्दै गएको थियो भने फेवाताल पुरिँदा त्यसको आकार पनि घट्दै गएको तथ्यले देखाएको थियो । फेवाताल जोगाउन बनाएको बाँधकै कारण ताल मुहानका स्थानीय र फेवाताल जोखिममा पर्न स्थानीयले आकलन गर्न थालेका छन् ।

बाँधका विषयमा काम हुँदै छ : उपमेयर गुरुङ
भत्किएको ड्याम अवलोकनका लागि पुगेकी पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ स्थानीयको समस्या बुझेर फर्किएकी छिन् । ड्यामको विषयमा भने तत्काल नै केही गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘केही प्राविधिक त्रुटि होला, गुणस्तर सही पनि नहोला तर तत्काल बस्ती जोखिममा परे भन्ने हिसाबमा गएको हो,’ उनले भनिन्, ‘ड्यामका बारेमा विरोधका कुराहरु छन्, संघर्ष समितिका कुराहरु छन्, धेरै विषयहरुमा हामीले काम गर्दै छौं ।’
तत्कालका लागि बस्ती जोगाउने र बाँकी रहेको ड्याम कसरी संरक्षण गर्ने भन्ने महत्वपूर्ण रहेको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै