संक्रमितलाई अक्सिजनको भर

धनबहादुर गुरुङ
वैशाख २६, २०७८
oxygen (4)

प्रहरीको सक्रियतामा गत शनिबार पोखरामा संकलन गरिएका अक्सिजन सिलिन्डर । वर्कसप र मोटर ग्यारेजहरुबाट सिलिन्डर संकलन गरी ग्यास कम्पनीलाई बुझाइएको छ । तस्बिर : आदर्श समाज

प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पताल कोरोना संक्रमित बिरामीले भरिइसक्यो । केही दिनअघि १० जना कोरोनामुक्त भएपछि नयाँ भर्ना गरियो । ५० बेडको अस्पतालमा अहिले ५१ जना बिरामी छन् । ५१ जनामा ४० जनालाई अक्सिजन दिएर राख्नुपरेको अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले जानकारी दिए । ‘पछिल्लो सयम भर्ना भएका संक्रमितमा अधिकांशलाई अक्सिजन दिनुपरेको छ,’ उनले भने ।

पोखराका चरक मेमोरियल, गण्डकी मेडिकल कलेज र फिस्टेल हस्पिटलले कोरोनाका बिरामीको उपचार गर्ने गरे पनि सामान्य नागरिकको क्षमताभन्दा महंगो छ । त्यसैले सर्वसाधरण सरकारी आइसोलेसन नै खोजिरहेका छन् । प्रदेश मातहतको अस्पतालमा ‘हाउसफुल’ भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० बेडको कोभिड आइसोलेसन बनाइयो । पहिलो लहरमा कम भएर बन्द गरिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसन बनाइएको ५ दिन नबित्दै बिरामी भरिए । त्यहाँ भर्ना भएका सबै बिरामी कोरोनाको दोस्रो भेरियन्टका संक्रमित हुन् । प्रतिष्ठानले बनाएको आइसोलेसनमा भर्ना हुने धेरैजसोलाई अक्सिजन आवश्यकता परेको प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बरालले बताए । उनका अनुसार त्यहाँ उपचाररत करिब ९५ प्रतिशत बिरामीलाई अक्सिजन सपोर्ट दिनुपरेको छ । अस्पतालमा अहिले दैनिक ८० वटासम्म ग्यास खपत भइरहेको बरालले जानकारी दिए ।

अस्पताल पुर्‍याइएका ९५ प्रतिशत बिरामीलाई अक्सिजन दिनु परेको छ

छिमेकी देश भारतलगायत नेपालको तराईकै केही जिल्लामा कोरोनाका बिरामीलाई अक्सिजनको अभाव भइरहेको छ । अक्सिजन अभावकै कारण संक्रमितको मृत्यु पनि भएको छ । कास्कीसँगै प्रदेशमा दिनानुदिन कोरोना संक्रमितको ग्राफ बढ्दै जादा गण्डकीमा पनि अक्सिजनको अभाव हुने हुन्छ कि भन्ने सर्वसाधरणले आँकलन गर्न थालिसकेका छन् । शुक्रबार कास्कीमा मात्रै ५ सय ५६ जना कोरोना संक्रमित भए । प्रदेशमा १ हजार ३ सय ९६ जनामा कोरोना भयो । यही अनुपातमा संक्रमित जाने हो र सबैलाई अक्सिजन दिनुपर्ने हो भने प्रदेशले उत्पादन गर्ने अक्सिजनले पुग्दैन् । प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र संयोजक नवराज शर्माका अनुसार प्रदेशमा दैनिक १ हजार १ सय ६५ सिलिन्डर उत्पादन हुन्छ ।

‘अक्सिजन अभाव हुन दिन्नौं’

प्रदेशका अस्पतालमा अक्सिजन अभाव हुन नदिन जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट तयारी अवस्थामा रहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र संयोजक नवराज शर्माले जनाए । ‘प्रदेशका जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट तयार भइसकेका छन्,’ उनले भने, ‘मनाङ र गोर्खामा उत्पादनमा हुन केही समय लाग्नेछ ।’ म्याग्दी, अस्पताल, स्याङ्जा र तनहुँ जिल्ला अस्पतालमा ग्यास रिफिल गर्ने काम भइरहेको छ । अस्पतालका ग्यास प्लान्टबाहेक अहिले दैनिक ३/४ सय सिलिन्डर खपत हुँदै आएको डा.शर्माको भनाइ छ ।

पछिल्लो समय सिलिन्डरको अभाव हुने आकलन गर्दै पोखराका निजी कम्पनीमा पुगेर रेकर्ड लिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । पोखरामा २ वटा निजी अक्सिजन उत्पादक कम्पनी छन् । पोखरा अक्सिजन ग्यास प्रालिका १ हजार ५ सयभन्दा बढी र कालीगण्डकी अक्सिजन ग्यास प्रालिका ३ हजारभन्दा बढी सिलिन्डर रहेको डा. शर्माको भनाइ छ । ‘२ निजी कम्पनीमा गरी करिब ५ हजार सिलिन्डर छन्,’ उनले भने, ‘आद्योगिक क्षेत्रहरुमा पनि अक्सिजन सिलिन्डर प्रयोग हुने रहेछन्, ती पनि हामीले मागेका छौं ।’ कोभिड नहर्ने केही प्राइभेट अस्पतालमा रहेका सिलिन्डरहरु पनि सापटीको हिसाबमा मगाइसकेको उनले स्पष्ट पारे । त्यसका साथै प्रदेशमा अझै ५ हजार सिलिण्डर आवश्यक पर्ने भन्दै केन्द्रमा पत्र पठाइसकेको छ । ‘तत्काललाई सिलिन्डरको कुनै अभाव त छैन,’ उनले भने, ‘यही अवस्थामा संक्रमित बढ्दै जाने हो भने अभाव हुने देखिन्छ तर अहिलेलाई चिन्ताजनक अवस्था छैन ।’ प्रदेशमा दैनिक ७ घन्टामा ११ सय ६५ सिलिन्डर भर्ने क्षमता भए पनि आवश्यकता अनुसार १८ घन्टासम्म चलाएर क्षमता बढाउने योजना रहेको उनको भनाइ छ ।

सिलिन्डर खोज्दै प्रशासन र प्रहरी

ग्यास अभाव हुन नदिन वैशाख १९ गते नेपाल सरकारको मन्त्री परिषद्को निर्णय अनुसार प्रयोगमा नआएको तथा खाली रहेका सिलिन्डर फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले वैशाख २१ गते सूचना जारी गर्‍यो । त्यो सूचना थाहा पाएका केहीले फिर्ता गरे केहीले पछि फिर्ता गर्ने शर्तमा दिए । तर फिर्ता नगर्नेहरुका लागि फेरि शुक्रबार अर्को सूचना जारी गर्‍यो । त्यही सूचनाका आधारमा शुक्रबार पोखरा महानगरपालिकाको सहकार्यमा जिल्ला प्रहरी कार्यालयले केही थान सिलिन्डर संकलन गर्‍यो।

वडाको विभिन्न मेटल कम्पनी, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरुमा सिलिन्डर खोज्न पुगेको पोखरा ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजुले बताए । ‘हामी वडाको सबै स्थानमा पुगेर सिलिन्डर दिन आग्रह गरेका थियौं,’ उनले भने, ‘यो समयमा उहाँहरु सबैले मद्दत गर्नुभयो ।’ यसरी पोखरा महानगरको विभिन्न स्थानबाट संकलन गरिएको १ सय ८७ वटा अक्सिजन सिलिन्डर जिल्ला प्रहरी कार्यालय कास्कीले ग्यास कम्पनीलाई दिएको छ । शुक्रबार र शनिबार पोखराको विभिन्न स्थानबाट संकलन गरेको ग्यास सिलिन्डर पोखरा अक्सिजन ग्यास प्रालि र कालीगण्डकी अक्सिजन ग्यास प्रालिलाई दिएको हो ।

कोरोना महामारीको समयमा हाल प्रयोगमा नभएका सिलिन्डर संकलन गरी हस्तान्तरण गरेको प्रहरी उपरीक्षक एवं कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । संकलित सिलिन्डर पछि सोही धनीलाई नै फिर्ता गरिने प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । उक्त सिलिन्डर ग्यास कम्पनीले कोरोना संक्रमित रहेका विभिन्न अस्पतालमा पुर्‍याइनेछ । जिल्ला प्रहरी कार्यालयले कम्पनी तथा व्यक्तिहरुसँग भएको अक्सिजन ग्यास सिलिन्डरहरु कम्पनीलाई उपलब्ध गराई सहयोग गरिदिन अनुरोधसमेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराका भवन निर्माणमा नयाँ प्रविधि

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी तथा प्राविधिकको क्षमता अभिवृद्धिका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) सम्बन्धी प्रशिक्षण बुधबारदेखि सुरु भयो…
  • सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत सामाजिक विकास केन्द्रले आफ्ना गतिविधिको सामाजिक परीक्षण गराएको छ । बालश्रम न्यूनीकरण र श्रममा…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width