सिनेमा संवाद @ घान्द्रुक

आदर्श समाज सम्वाददाता
माघ १३, २०७७
cinema tourism

पोखरा । मुलुकका ग्रामीण क्षेत्रहरु प्राकृतिक स्टुडियोको रुपमा विकास गर्न सकिने सम्भावना देखिँदै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मको सुटिङका लागि विशेषतः पोखरा र आसपासका क्षेत्र फ्रेममा अटाएका छन् । फिल्ममा उक्त क्षेत्रको दृश्य समेटिनुसँगै त्यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको छ । त्यस्तै ठाउँ मध्ये कास्की अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँ पनि सिनेमा छायांकनको लागि सम्भावनायुक्त रहेको ठाउँ हो ।

सुन्दर घान्द्रुक गाउँमा नेपाल चलचित्र पत्रकार संघ कास्की शाखाको आयोजनामा मंगलबार ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रममा ‘सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना’बारे छलफल चल्यो ।

छलफलमा वक्ताको रुपमा नेपाली चलचित्रका निर्देशक/नायक सुदर्शन थापा, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई र पत्रकार वासु मिश्रले सहजीकरण गरे । छलफलको सुरुवातमै सहजकर्ता मिश्रले वक्तातर्फ भावार्थ रुपमा नेपाली भूगोललाई नेपालीले नै चिन्न नसकेको र पर्यटन प्रर्वद्धनमा ठूलो आयतनमा सहयोग नपुगेको बताए ।

कोभिड पछि अत्यन्तै प्रभावित क्षेत्रमध्ये सिनेमा र पर्यटन दुबै पर्छन् । अहिलेको पर्यटन क्षेत्रको अवस्था कस्तो छ त ?‘कोरोनाले हरेक क्षेत्रलाई अस्तव्यस्त बनाएको छ । कोरोना साम्य बन्दै गएपछि भने विस्तारै लयमा फर्किँदै छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले भने, ‘आन्तरिक पर्यटनलाई कसरी पुर्नस्थापना गर्न सकिन्छ भनेर नेपाल सरकारसँग समन्वय गरिरहेको अवस्था छ ।’

निर्देशक सुदर्शन थापाले कोभिडले सम्पूर्ण क्षेत्रलाई असर गरेको बताउँदै सिनेमा र पर्यटन दुबै क्षेत्र पनि अति प्रभावित भएको सुनाए । उनी भन्छन्, ‘पर्यटन र सिनेमा एकदमै जोडिएको विषय हो । सिनेमा छायांकनका लागि विभिन्न ठाउँमा पुगिन्छ । म पनि १२ वर्ष अघि घान्द्रुक आएको थिएँ ।’ आफू १२ वर्षअघि मेरो एउटा साथी छ फिल्म सुटिङका लागि नयाँपुलदेखि खच्चरमा सामान बोकाएर घान्द्रुक आएको स्मरण गर्दै उनले भने, ‘सिनेमाले पर्यटनलाई सहयोग त गर्छ नै । म त्यसबेला र अहिले आउँदा धेरै परिवर्तन भइसकेको छ । केही हदसम्म टेलिफिल्मले निकै चिनायो घान्द्रुकलाई । विकास निर्माणको काम पनि धेरै भइसकेको रहेछ ।’

तनहुँको मानहुँकोटको चर्चा यतिबेला चुलिएको छ । युवापुस्तामाझ चर्चित टिकटक एपमा राखिएको १५ सेकेण्डको भिडिओले उक्त डाँडालाई चर्चित बनायो । त्यसरी नै सिनेमाले कुनै ठाउँलाई पर्यटकीय हबको रुपमा विकसित भइसकेको छ । सहजकर्ता मिश्रले मानहुँकोटकै सन्दर्भ उल्लेख गर्दा पर्यटन परिषद्का अध्यक्ष भट्टराई समहत सुनिए ।

उनले भने, ‘सिनेमाको माध्यमबाट विश्वका धेरै ठाउँहरु पर्यटकीय हब बनेका छन् । सिनेमाबाट पोखराका पेरिफेरि एक्सपोजर भइरहेका छन् । अहिले पर्यटन संस्थाहरु अस्ताएको हो कि भन्ने लाग्छ । त्यसमा हाम्रो समन्वय जरुरी छ ।’
तर सिनेमा र गीतसंगीतले पर्यटकीय क्षेत्रको रुपमा कुनैपनि स्थानलाई चिनाउन सहयोग गरेपनि त्यसको विकास निर्माणमा सहयोग गरि नै हाल्ने भने नहुने निर्देशक थापाको मत छ । उनले भने, ‘मुस्ताङमा सुटिङ गर्दा के यो माया हो ? फिल्म खिच्यौं तर त्यसमा भूगोलको चर्चा भएन । पछि त्यहीँ प्रेम गीत खिच्यौं । घाँसादेखि मुस्ताङसम्मको क्षेत्रलाई स्टोरीमा बाँधेर देखाउँदा स्थानीयको प्रतिक्रिया राम्रो पायौं । आन्तरिक पर्यटन आउँदा नै अझ राम्रो बनेको सुनियो । त्यो ठाउँलाई कसरी देखाउने, भेषभूषा, कल्चरलाई देखाउन सक्यौं भने रुचिका साथ दर्शकले हेर्न पाउँछन् ।’

सरकारी निकायको सहयोग भने अपेक्षा नगरिएको भएकाले वास्ता नभएको उनको प्रतिक्रिया छ । त्यसको साटो स्थानीय स्तरबाट पाएको सहयोगले नै हौसला मिलेको उनले बताए । ‘ड्रोन शटका लागि सरकारी अनुमति लिनुपर्छ । त्यसमा प्रक्रिया त्रुटि भयो भने पनि हामी सजाय भोगिरहेका हुन्छौं ।’

पर्यटन सम्बद्ध संस्थाहरुको सहयोग सिनेमा क्षेत्रलाई पर्याप्त नभएको पो हो की ? पर्यटन परिषद्का अध्यक्ष गोपी भन्छन्, ‘माया त गरेकै छौं तर समन्वय नभएको चाहिँ हो । विगतमा भएको कमजोरी भन्दा पनि आगामी दिनमा राम्रो गर्दै जाने हो ।’

उक्त प्रसंगमा भने निर्देशक थापाको मत केही फरक सुनियो । उनी भन्छन्, ‘कुनै ठाउँलाई सिनेमाले पर्यटन क्षेत्रलाई उकास्यो भने पनि धन्यवाद पाएनौं । हामी पनि छायांकन सकेर त्यस ठाउँसँग सम्बन्ध राखेनौं । स्थानीयस्तरमा त धेरथोर होला तर सम्बद्ध निकायसँग छैन ।’

दोस्रो सेसन ‘सिनेमा साहित्यः सम्बन्ध र साझेदारी’ विषयमा बहस हुनेछ । छलफलमा कवि भूषिता वशिष्ठ, साहित्यकार गणेश पौडेल, अभिनेता दीपकराज गिरी वक्ताको रूपमा हुनेछन् । जसको सहजकर्ता दिनेश डिसी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै