व्यवसाय जीवन रक्षाकोष छिट्टै कार्यान्वयन : मन्त्री किरण गुरुङ

आदर्श समाज सम्वाददाता
पौष २४, २०७७
pcc photo

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबार सुरु भएको छ ।

महाधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी सरकारले स्थापना गरेको व्यवसाय जीवन रक्षाकोष छिट्टै कार्यान्वयनमा ल्याइने बताए । उनले जीवनरक्षा कोषलाई प्रभावकारी बनाउन सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । कोभिड–१९ बाट पीडित व्यवसायीको जीवनरक्षाको लागि प्रदेश सरकारले १ अर्ब रुपैयाँको व्यवसाय जीवनरक्षा कोष घोषणा गरेको थियो ।

‘गण्डकीका साना र मझौला व्यवसाय लक्षित गरी हामीले जीवन रक्षाकोषको कार्यविधि बनाएका छौं’, उनले भने, ‘हामी यो कार्यक्रमलाई यहीँ आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौँ भने अर्को आर्थिक वर्षमा यो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।’

उनले आर्थिक विकासको लागि राजनीतिक स्थिरता जरुरी भएको बताउँदै संसद विघटन र निर्वाचन घोषणाले केही अन्यौलता थपेको उल्लेख गरे ।
आफ्नै पार्टीभित्रबाट सरकार चलाउन नदिएर अस्थिरता निम्त्याउन खोजेपछि बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासमक्ष जान मध्यावधि चुनाव घोषणा गर्नुपरेको बताए ।

महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले संसद पुनःस्थापना वा चुनाव नै भएपनि देश आर्थिक रुपले पछि पर्ने अवस्था आउने दाबी गरे । उनले संघीय संसद भंग भएसँगै प्रदेश सरकार विघटन हल्ला चल्दा निजी क्षेत्रमाथि पिरलो थपिएको बताए । उनले २÷३ वर्षमा हुने चुनाव देशले धान्न सक्दैन भन्दै कालोधनको प्रवेश तथा चुनावताका हुने भ्रष्टाचारले प्रश्रय पाउने आशंका व्यक्त गरे ।

महासंघ उपाध्यक्ष दिनेश श्रेष्ठले कोभिड–१९ ले जर्जर अर्थतन्त्र सबै मिलेर माथि उठाउनुपर्ने बताए । भर्चुअलमार्फत जोडिँदै उनले कोरोनाले निजी क्षेत्र प्रताडित भएकाले कर्जाको ब्याज चुक्ता गर्ने समयसीमा बढाउन सरकारसँग आग्रह गरे ।

महासंघ केन्द्रीय सदस्य कुविरकुमार श्रेष्ठले राजनीतिक अस्थिरताले लगानी वातावरण खल्बलिएको बताए ।

पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारीले छिमेकी देशमा पनि कोभिड–१९ विरुद्धको खोप लगाउने प्रक्रिया सुरु भएको बताउँदै छिटोभन्दा छिटो खोप व्यवस्था गर्न एवं नागरिकको जीवन रक्षाप्रति संवेदनशील बन्न सरकारसँग आग्रह गरे ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष बलराम ढकाल, पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, उपाध्यक्ष (उद्योग) बिन्दु कोइराला सुवेदी, महासचिव अर्जुन पोखरेलले नेपालको निजी क्षेत्र उकास्न सरकारले विशेष कार्यक्रम ल्याउन माग गरे ।

संघको बन्दसत्रमा महासचिव पोखरेलद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छेद्वारा प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन पारित भएको छ ।
यसैबीच, संघले उत्कृष्ट व्यवसायी सम्मान–२०७७ बाट विनायक फ्रेस हाउस चिप्लेढुंगा र गण्डकी मेसिनरी प्रोडक्टस औद्योगिक क्षेत्रलाई प्रदान ग¥यो । मन्त्री गुरुङले विनायकका कैलाश पालिखे र गण्डकी मेसिनरीका युवराज शर्मालाई सम्मानित गरे ।

त्यस्तै, लक्ष्मी हाउसद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य संघबाट सञ्चालित लक्ष्मी विद्यापदक पनि प्रदान गरिएको छ । यस वर्ष बिबिएतर्फ ला ग्रान्डी कलेजका डिक्सन लिम्बु र बिबिएसतर्फ गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसकी सुप्रिया गुरुङ सम्मानित भएको संघले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width