भारतमा बर्डफ्लु देखिएपछि नेपाली किसान त्रासमा, चितवनमा उच्च सतर्कता

rss रासस
पौष २४, २०७७
bird fle in indiaa

चितवन । भारतमा बर्डफ्लु देखिएसँगै यहाँ उच्च सावधानी अपनाउन थालिएको छ ।

सरकार र निजी क्षेत्रबाट आ–आफ्नो ढङ्गले सावधानी अपनाउन थालेका छन् । सरकारले भारतमा बर्डफ्लु देखिएपछि पशु सेवा विभागअन्तर्गतका कार्यालय र क्वारेन्टिनलाई सक्रिय बनाएर पक्षीजन्य पदार्थ आयातमा रोक लगाएको छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा दयाराम चापागाईका अनुसार पक्षीजन्य पदार्थ आयातको सिफारिस दिइँदै आएकामा बन्द गरिएको हो । जिल्लामा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला बर्डफ्लु प्राविधिक समिति हुने गर्दछ ।

चापागाईका अनुसार चितवनमा केही दिनअघि समितिको बैठक बसेको थियो । बैठकले व्यवसायीलाई उच्च सावधानी अपनाउन अनुरोध गरेको छ । वाग्मती प्रदेश सरकारको सहयोग र व्यवसायीको साझेदारीमा नारायणगढ–मुग्लिन सडकखण्डमा ढुवानी गर्ने साधन सरसफाइ र निसङ्क्रमण गरिँदै छ ।

भरतपुर महानगरपालिकासँग जग्गा माग गरी रु २५ लाख खर्च गरेर सवारी साधनको सरसफाइ र निसङ्क्रमण स्थल निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । काठमाडौँ, पोखरा, गोरखा, धादिङ, लमजुङलगायतका जिल्लामा यही बाटो हुँदै कुखुराजन्य पदार्थ जाने गर्दछ ।

फर्कदा सवारी साधनलाई निसङ्क्रमण गर्न लागिएको हो । देशकै सबैभन्दा बढी कुखुराजन्य वस्तु उत्पादन हुने चितवनका कृषकलाई जैविक सुरक्षा अपनाउन अनुरोध गरिएको उहाँले बताउनुभयो । कुखुराको रोगको परीक्षण गर्ने केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला चितवनमा नै छ ।

प्रयोगशाला प्रमुख डा चेतनाथ खरेलका अनुसार यो प्रयोगशालाको कार्यक्षेत्र देशैभर हो । प्रयोगशालामा कोभिड–१९ परीक्षण गरिएकाले यहाँ सङ्कलन भएका नमूना त्रिपुरेश्वरको पक्षी रोग अन्वेषण प्रयोगशालामा पठाइँदै आएको छ । प्रयोगशालाले त्यही कृषकले ल्याउने नमूना र आफैँले देशैभरबाट सङ्कलन गर्ने नमूना परीक्षण गर्ने गर्दछ ।

भारतमा बर्डफ्लु देखा परेसँगै नमूना सङ्कलन बढाइएको उहाँले जानकारी दिनुभयो । हाल यस प्रयोगशालामा ब्याक्टेरियोलोजी परीक्षण मात्र हुने गरेको छ । मोलीकुलर, एलाइजा, पिसिआर, हिस्टोप्याथोलोजीलगायतका महत्वपूर्ण परीक्षण रोकिएका छन् । त्यस्ता सरदर दैनिक एउटा नमूना काठमाडौँ पठाइँदै आएको छ ।

खरेलले कोभिड–१९ प्रयोगशाला अन्यत्र सारेर पक्षीजन्य परीक्षणलाई यही गर्नका लागि पटकपटक अनुरोध गरिँदै आएको बताउनुभयो । गएको चैत महिनामा तीन महिनाका लागि त्यहाँ कोभिड–१९ प्रयोगशाला स्थापना गरिएको भए पनि हालसम्म स्थानान्तरण गर्न सकिएको छैन । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले भारतबाट आउने कुखुराजन्य पदार्थ तत्काल रोक्नुपर्ने, सरकारी निकाय चनाखो हुनुपर्ने र कृषक एवं व्यवसायीले जैविक सुरक्षामा ध्यान दिन सकेमा रोग भित्रन नपाउने बताउनुभयो ।

नेपालमा कुखुराजन्य पदार्थको मूल्य बढेकाले भारतबाट लुकीछिपी आउने क्रम बढ्दो रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले डराउनुपर्ने अवस्था नरहे पनि सरकारी र निजी क्षेत्रले आफ्नो जिम्मेवारी पूरा नगरेमा रोग भित्रन सक्छ ।” सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सकेमा नेपालमा रोग भित्रन नपाउने उहाँको भनाइ छ । पक्षी रोग प्रयोगशालाबाट तत्काल कोभिड–१९ प्रयोगशाला स्थानान्तरण गरेर त्यहाँ पक्षीको परीक्षण बढाउनुपर्ने उहाँको भनाइ छ ।

कुखुराजन्य पदार्थमा नेपाल आत्मनिर्भर रहेको छ । यस क्षेत्रमा रु एक खर्बभन्दा बढीको लगानी भइसकेको व्यवसायीको भनाइ छ । जाडो मौसममा बर्डफ्लुको उच्च जोखिम हुने गर्दछ । –––

Related News

सम्बन्धित समाचार

    • कास्कीमा खुल्यो कृषि ज्ञान केन्द्र

      Avatar आदर्श समाज सम्वाददाता फागुन १०, २०७७
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषिमा उच्च प्रविधिको प्रयोगसँगै उत्पादकत्व वृद्धिमा प्रदेश सरकारले जोड दिँदै आएको बताएका छन्…
    • अन्नपूर्णमा कुखुरापालन तालिम

      Avatar आदर्श समाज सम्वाददाता फागुन ६, २०७७
      हेमजा, ५ फागुन। अन्नपूर्ण गाउँपालिकाका व्यावसायिक कुखुरापालक किसानलाई तालिम दिइएको छ । गाउँपालिकास्थित पशु सेवा शाखाको आयोजनामा ३ दिनसम्म आयोजित…
    • सबै खर्च किसानको पक्षमा छ: मन्त्री लेखबहादुर थापा

      prakash dhakal प्रकाश ढकाल फागुन ४, २०७७
      पाेखरा । गण्डकी सरकारमा मन्त्री हुनुहुन्छ । मत एकै ठाउँमा भएप नि मन विभाजन छ पार्टीभित्र । आजको दिनमा तपाईंलाई कृषि…
    • बिउका लागि लेखनाथमा आलु खेती

      Avatar आदर्श समाज सम्वाददाता माघ २२, २०७७
      लेखनाथ । संगत अनुसारको फल बिउ गुनाको बालो भन्ने प्रचलित उखानलाई ध्यानमा राख्दै कास्कीको लेखनाथमा बिउ उत्पादनका लागि आलु खेती गरिएको…
    • गण्डकी काउ फार्म: सम्झौताको वर्ष बित्यो, काम शून्य

      prakash dhakal प्रकाश ढकाल माघ २०, २०७७
      पोखरा । गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष काउ फार्म सञ्चालनका लागि सेयर लगानी गर्ने गरी ११ करोड मन्त्रिपरिषद बैठकबाट छुट्यायो ।…

    hero news full width

    sanil ads

    wordlink ads