कोभिडले समस्यामा यौनिक अल्पसंख्यक

आदर्श समाज संवाददाता
पौष ८, २०७७
third gender

पोखरा । कोभिड– १९ का कारण यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले थप मानसिक समस्या भोग्नु परेको बताएका छन् ।

नीलहिरा समाजले पोखरामा कोभिड १९ ले समुदायका सदस्यमा पारेको प्रभावसँगै देखिएको चुनौती र अबको बाटोको विषयमा सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा सहभागीले कोभिड–१९ समयमा थप समस्यामा भोग्न बाध्य भएको बताएका हुन् ।

नीलहिरा समाजका कार्यक्रम व्यवस्थापक सुमन नेपालले यस समुदायका सदस्यले बन्दाबन्दीको बेलामा आफ्नो यौनिकता सहितको परिचय स्वीकार नगर्ने परिवारसँग बस्नु पर्दा थप मानसिक समस्या भोग्नु परेको बताए । उनले महामारीको असरको बारेमा समाजले देशभरि आफ्नो सञ्जालमा भएका एलजिबिटिआइ समुदायका व्यक्तिहरुसँग गरेको सर्भेमा २७.१ प्रतिशत सहभागीहरुले आफूलाई तनाव बढेको बताएका छन् । २१.६ प्रतिशतले छिट्टै रिस उठ्ने वा छिटो झगडा गर्ने र १३.४ प्रतिशतले डिप्रेसन बढेको बताएका छन् ।

समाजका अध्यक्ष पिंकी गुरुङले यस समुदायका सदस्य आर्थिक सक्षमता नहुँदा कोभिड–१९ को परिक्षण र रोगको उपचार गर्न र स्वास्थ सेवा उपभोग गर्नबाट समेत बञ्चित हुनु परेको बताइन् । उनले भनिन्, ‘यो समयमा हाम्रो समुदायका सदस्य अझ बढी बेरोजगारीमा पर्ने र शारीरिक र मानसिक स्वास्थ सेवाहरुबाट बञ्चित हुने जोखिम बढेको छ । कोभिड– १९ को कारण सिर्जित परिस्थितिबाट आत्महत्या गर्नेको संख्या १९ पुगेको छ ।’ उनले बन्दाबन्दीको कारण रोजगार गुमाउनु परेको, घरभाडादेखि आफ्नै जिविकोपार्जनको आधार टुटेको र आफ्नो घरमा फर्केर जाँदा झनै तिरस्कृत हुनुपर्दा धेरैमा नैराश्यता आएको समेत बताइन् ।

समाजका कार्यकारी निर्देशक मनिषा ढकालले घर समाजबाट पनि अपहेलित र राज्यको पनि विभेदपूर्ण नीतिले यस समुदायका सदस्यहरुले निरन्तर हिंसा र विभेद खेप्नु परेको बताइन् । उनले संविधानको धारा ४२ मा राज्यका हरेक नियकामा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समावेश हुने अधिकार उल्लेख भए पनि व्यवहारमा समानता नभएको बताइन् ।

समाजका कार्यक्रम निर्देशक सञ्जय शर्माले २०६४ साल पुस ६ गते सर्वोच्चले यौनिक तथा लैङ्गिक अल्संख्यकको पहिचान सहितको अधिकार प्रदान गर्न सरकारका नाममा निर्देशात्मक आदेश दिएको ऐतिहासिक दिन रहेको स्मरणमा विभिन्न जिल्लाहरुमा कार्यक्रम गरिएको जानकारी दिए ।

कार्यक्रममा तेस्रोलिंगी अधिकारकर्मी भक्ति शाह र नौलो बिहानी पोखराका अध्यक्ष बिन्दिया गौतमले एलजिबिटिआईलाई हेर्ने सामाजिक दृष्टिकोण र राज्यले गरेका विभेदपूर्ण व्यवहारबाट खेप्नु परेको विभेदको बारेमा अनुभव सुनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै