महिला खेलाडीलाई प्राेत्साहन गर्न वालिङ नगरपालिकाकाे छात्रवृत्ति

तोलाकान्त बगाले
पौष ८, २०७७
walling football

वालिङ । वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीको प्रोत्साहनका लागि छात्रवृत्ति दिने भएको छ ।
नगरपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीहरुको अध्ययनका लागि सम्बन्धित विद्यालय तथा क्याम्पससँग समन्वय गरी छात्रवृत्ति दिन लागेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

‘महिला फुटबलमा निक्कै सम्भावना बोकेको वालिङका महिला खेलाडीलाई खेलसँगसँगै उनीहरुको शैक्षिक योग्यतालाई पनि मध्यनजर गर्दै छात्रवृत्ति दिन लागेका छौं,’ नगर प्रमुख खाँणले भने, ‘जसले गर्दा खेलसँगै अध्ययन पनि राम्रो हुने र थप आर्थिक बोझ पर्ने छैन ।’

नगरपालिकाले फुटबल खेलको विकास र खेलाडीको आन्तरिक प्रतिभालाई प्रष्फुटन गराउन प्रतिबद्ध भएर लगानी गरेको खाँणले बताए । उनले खेलकुदका क्षेत्रमा गरिएको खर्च, खर्च नभई लगानी रहेको भन्दै भोलिका दिनमा पक्कै पनि प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे ।

नगरपालिकाले महिला खेलकुदको विकासका लागि वालिङकै खेलाडी दिलीप थापालाई प्रशिक्षकमा नियुक्त गरेको छ । वालिङको महिला फुटबल टिमले यसअघिका प्रतियोगितामा सहभागिता जनाउँदै राष्ट्रियस्तरमै उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ ।

आगामी लिगमा सर्वोत्कृष्ट बन्नका लागि आवश्यक रणनीति अपनाउन कुनै कञ्जुस्याई नगर्ने उपप्रमुख कल्पना तिवारीले बताइन् ।

महिला खेलाडीहरुले आफूले अध्ययन गर्दै आएको विद्यालय÷क्याम्पस उल्लेख गरी छात्रवृत्तिका लागि नगरपालिकामा निवेदन दिएपछि छात्रवृत्तिको प्रक्रिया थालिने उपप्रमुख तिवारीले बताइन् । नगरपालिकाले आगामी लिगलाई मध्यनजर गर्दै अन्य विदेशी खेलाडीहरु अनुबन्ध गर्ने तयारी गरेको उनको भनाइ थियो ।

वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीहरुको क्षमता विकासमा अग्रसरता देखाएर खेलाडीहरुमा ऊर्जा थपेको अखिल नेपाल फुटबल संघ महिला फुटबल समितिका अध्यक्ष पेमा लामाले बताइन् । वालिङ नगरपालिका सकारात्मकरुपमा खेलाडीको हितमा उभिएकाले पनि यहाँका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थान बनाउन सकेको उनको भनाइ थियो ।

वालिङका महिला फुटबल खेलाडीहरुले विभिन्न उमेर समूहमा राष्ट्रिय टिममा सहभागी भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समावेश भइसकेका छन् ।

आगामी माघ ७ गतेबाट काठमाडौंमा हुने महिला फुटबल लिगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभागीय टिम तथा वालिङ नगरपालिकासहित अन्य तीन टिमहरु प्रतिस्पर्धामा उत्रँदै छन् ।

वालिङमा मंगलबार भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा एन्फा महिला फुटबल समितिका सदस्य एवं ओलम्पिक पदक विजेता खेलाडी संगिना वैद्य, एन्फा केन्द्रीय सदस्य एलबी ज्वारचन, एन्फा स्याङ्जाका अध्यक्ष मुक्तबहादुर राना, उपाध्यक्ष ताराबहादुर गुरुङ (समशेर) महासचिव भीमप्रसाद पंगेनी, फुटबल प्रशिक्षक दिलीप थापा लगायतले फुटबल खेलको सम्भावना र चुनौतीकाबारेमा धारणा राखे ।

यसैबीच लामा र वैद्यलाई मंगलबार वालिङ नगरपालिकामा स्वागत गरिएको छ । उनीहरुलाई नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित जनप्रतिनिधि तथा कर्मचारीले स्वागत गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width