पर्यटन चिन्न सकेनौंः मन्त्री लम्साल

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७७
hemja progrem photo

हेमजा । हेमजा मेलबोटबाट सुरु भई अस्ताम, धिताल, धम्पुसहुँदै मर्दी हिमाल पुग्ने पदमार्ग शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पदमार्ग शिलान्यास गर्दै नेपाली स्वयम्ले नेपालको पर्यटन चिन्न नसकेको टिप्पणी गरे ।

उनले अझै पनि नेपालमा पर्यटनका लागि पर्याप्त सीपयुक्त जनशक्ति नभएको पनि बताए । त्यसका लागि प्रदेश सरकारले ध्यान दिइरहेको दाबी गरे । जुनसुकै पर्यटकले मोटरबाटो भन्दा पैदलमार्ग रुचाउने तर्क गर्दै मन्त्री लम्सालले कोभिड–१९ पछाडि गण्डकी क्षेत्रमा पर्यटकको बाढी नै आउने ठोकुवा गरे।

प्रदेश सांसद रामजीप्रसाद बरालले निर्माण गर्न लागिएको पदमार्ग रणनीतिक महत्वको रहेको चर्चा गर्दै त्यसलाई बेलैमा पूरा गर्नुपर्ने जनाए। पछिल्लो समय केही स्थानमा पदमार्ग नाममा ट्रयाक खोल्ने तर त्यसलाई व्यवस्थित नगर्ने कार्य भइरहेकोतर्फ संकेत गर्दै सांसद बरालले सो मार्गमा त्यस्तो नहुने विश्वाससमेत लिए ।

सो अवसरमा प्रदेश योजना आयोग सदस्य डा विष्णु बराल, नेपाली काँग्रेस महासमिति सदस्य रामचन्द्र त्रिपाठी, माछापुच्छे« गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी, हेमजाका वडाध्यक्ष शोभाकर तिम्सिना, धितालका वडाध्यक्ष हरिशचन्द्र ढुङ्गाना, टान पोखराका कावा अध्यक्ष धर्मराज पन्थी, तीव्रेकोट वनका अध्यक्ष विशालजंग कुँवर लगायतले पदमार्गको महत्व विषयमा बोलेका थिए ।

उनीहरुले पदमार्गसँगै साइकल ट्रयाक पनि निर्माण गर्नुपर्ने, समग्रमा मास्टर प्लान बनाउनुपर्ने, यात्रीको सुरक्षामा पनि ध्यान दिनुपर्ने, धार्मिक पर्यापर्यटनसँग पनि पदमार्ग जोड्नुपर्ने लगायतबारे बोलेका थिए ।

गण्डकी प्रदेश सरकारको १० लाख तथा जनसहभागिता १ लाख गरी कुल ११ लाखको लागतमा उक्त मार्ग निर्माण सुरु भएको हो । यसपटक मेलबोटदेखि अस्तामसम्मको बाटोको झाँडी फाड्ने, २ सय ३० मिटर बाटोमा सिँढी हाल्ने र ५० मिटर रेलिङ निर्माण हुनेछ । आगामी पुस मसान्तसम्म यस वर्षको कार्य सक्ने योजना पनि समितिको छ ।

मार्गको मेलबोट अस्ताम खण्डमा लालीगुराँसको जङ्गल, सिलीपिङ बुद्घ भ्यू पोइन्ट, रुद्रमहादेव, पञ्चेबाजा पार्क, सुनझाँक्रीको थान, देउराली माइको मन्दिर लगायत जङ्गली जनवार, पुराना तोरी पोल्ने कोलहरु र विभिन्न प्रजातिका वनस्पतिको पनि अवलोकन गर्न सकिने छ।

त्यस्तै समितिले मार्गको बीचबीचमा विश्राम र योग स्थल साथै छुट्टै रुपमा साइकल ट्रयाक निर्माणको लक्ष्य पनि राखेको छ । मार्ग निर्माणमा स्थानीय ४ सामुदायिक वन तीव्रेकोट, धुवाउने, झिर्झिका धुवाउने र गर्भेकुनाको क्षेत्र प्रयोग हुँदैछ ।

निर्माण समिति अध्यक्ष विश्वराज अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा, तीव्रेकोट वनका अध्यक्ष विशालजंग कुँवरले स्वागत, धितालका वडाध्यक्ष हरिशचन्द्र ढुङ्गानाले धन्यवाद ज्ञापन र सचिव कृष्णबहादुर कुँवरले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width