पोखरा । गण्डकी सरकारले कोरोनाविरुद्ध जुध्न विभिन्न शीर्षकमा ५१ करोडभन्दा बढी निकासा दिएको छ । चैत ११ देखि चार महिना अवधिमा ५१ करोड ३४ लाख निकासा दिइएको हो । सबैभन्दा धेरै कोरोना कोषबाट जिल्लास्तरका अस्पतालमा खर्च निकासा दिइएको छ । कोषबाट मात्रै असार मसान्तसम्म १८ करोड ५४ लाख खर्च भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोभिड–१९ सम्बन्धी औषधी र उपकरण खरिदमा ५ करोड ५ लाख खर्च भएको छ भने प्रदेशभरी पीसीआर परीक्षण गर्ने भीटीएम सहित पीपीई, किट र पीसीआर मेसिन खरिदमा ७ करोड ७६ लाख खर्च गरिएको छ ।
भत्तामा मात्रै पौने ६ करोड रुपैयाँ गएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० बेडको आइसोलेसन तयार गर्न ५० लाख दिइएको छ । विभिन्न मितिमा तालिम र अभिमुखीकरण शीर्षकमा मात्रै ६० लाख खर्च गरेको देखिन्छ । बागलुङ अस्पतालमा आइसियू वार्ड तथा आइसोलेसन स्थापना गर्न ६० लाख, विभिन्न जिल्लामा आइसोलेसन वार्ड स्थापना गर्नका लागि मात्रै १ करोड ५० लाख रुपैयाँ दिइएको छ । कोषमा हालसम्म ३४ करोड ७० लाख रुपैयाँ जम्मा भएको छ ।
यस्तै, जोखिम भत्ताका लागि ५ करोड २७ लाख, राहत वितरणका लागि स्थानीय तहलाई ६ करोड ९० लाख, प्रदेश तहका सुरक्षा निकायलाई ४५ लाख, सबै जिल्ला प्रशासन कार्यालयलाई १ करोड ४५ लाख दिइएको छ । सबै जिल्ला अस्पताललाई गाडी किन्न ४ करोड ९५ लाख र आइसियू कक्ष स्थापनामा १३ करोड ७८ लाख रुपैयाँ निकासा दिइएको छ ।
साढे ५ करोडको भत्ता
मन्त्रालय सहित मातहतका कार्यालयमा भत्ताका लागि मात्रै सरकारले साढे ५ करोड अख्तियारी दिएको छ । विभिन्न २५ वटा कार्यालयलाई ३ लाखदेखि ९१ लाख रुपैयाँसम्म निकासा दिइएको हो । सर्वाधिक चर्चामा रहेको धवलागिरि अस्पताललाई ९१ लाख १३ हजार निकासा दिइएको छ । यसबाहेक जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कर्मचारीलाई पनि थप ५ लाख उपलब्ध गराइएको छ । जिल्ला अस्पताल र स्वास्य कार्यालय नवलपुरलाई ८० लाख, स्याङ्जालाई ६५ लाख, तनहूँमा ५३ लाख, गोरखा र पर्वतमा ४३/४३ लाख, म्याग्दी र लमजुङमा समान ३३ लाख, मनाङ र मुस्ताङमा १÷१ लाख तथा कास्की स्वास्थ्य कार्यालयलाई ३ लाख रुपैयाँ भत्ता लागि रकम दिइएको छ ।
यस्तै, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीलाई २४ लाख ६० हजार, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई ५ लाख, स्वास्थ्य निर्देशनालयमा २० लाख र मन्त्रालयमा कार्यरत कर्मचारीलाई पनि २० लाख रुपैयाँको भत्ता खुवाइएको छ । सरकारले तोकेको आइसोलेसन केन्द्रको आधारमा रकम अख्तियारी दिइएको सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत दुर्योधन गिरीले बताए । रकम अख्तियारी दिइए पनि सबै रकम खर्च हुन नसक्ने उनले बताए । ‘संघ सरकारले बनाएको मापदण्ड आधारमा भत्ता दिने हो । पैसा आयो भनेर सबै खर्च गर्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘कोभिड उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेशलाई आधार मानेर यो भत्ता वितरण गर्नुपर्छ । स्वास्थ्यकर्मी हुँदैमा भत्ता पाउँदैन, ऊ काममा खटिएको हुनुपर्छ ।’ तर अधिकांश कार्यालयले अख्तियारी पाएको सबै रकम खर्च गरिसकेका छन् ।
गाडी सबैले किने, आइसियू छैन
प्रदेश सरकारले एकैपटक दुई शीर्षकमा सबै जिल्ला अस्पताललाई पैसा पठाइदियो । एउटा गाडी खरिद र अर्को आइसियू कक्ष निर्माण । सबै जिल्लामा गाडी खरिद भएको छ । तर आइसियू भने अझै धेरैले जडान गर्न बाँकी छ । केहीले किनेका छन् । केही खरिद प्रक्रियामै छन् । हालसम्म लमजुङ, तनहूँ, मुस्ताङ र स्याङ्जाले उपकरण खरिद नै गरेका छैनन् । गोरखा, बागलुङ, म्याग्दी, नवलपुरमा आइसियू कक्ष तयार भैसकेको छ । कास्की, मनाङ र पर्वतमा सामान आएपनि जडान भैसकेको छैन ।
लमजुङले ४४ लाख ३५ हजारमा गाडी खरिद गरेर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ भने आइसियू निर्माणको लागि दोश्रो पटक टेण्डर आह्वान गरेको छ । तनहूँले गाडी खरिद गरेपनि आइसियू कक्ष बनाएको छैन । ४४ लाखभन्दा बढीको गाडी किनेको अस्पतालले जनाएको छ । आइसियू कक्ष स्थापनाका लागि उपकरण खरिदको टेण्डर गर्ने समय अभाव भएको अस्पतालका डा. सुनिल पौडेलले जानकारी दिए ।
मुस्ताङमा पनि सम्झौता अनुसार काम नभएपछि आइसियू बेड जडानको काम हुन सकेन । गाडी भने खरिद गरिएको छ । ४५ लाखमा स्कारपिओ गाडी किनिएको अस्पतालले जनाएको छ । स्याङ्जाले अहिलेसम्म आइसियू खरिदको प्रक्रिया नै शुरु गरेको छैन । ५ बेड आइसियू बनाउने स्वीकृति पाएपनि बहुवर्षे कार्यक्रम भनेर ढुक्कसँग बसेको छ । गाडी भने खरिद भैसकेको छ ।
कोभिडको डेडिकेटेड अस्पताल धवलागिरिले ३ बेडको आइसियू कक्ष स्थापना गरेको छ भने ४५ लाख पर्ने स्कारपिओ गाडी किनेको छ । प्रदेश सरकारले पठाएको रकमभित्रै पर्ने गरी आइसियू कक्ष निर्माण र गाडी खरिद गरिएको सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिए ।
उता, गोरखाले पनि दुवै काम सकेको छ । २ बेडको आइसियू कक्ष निर्माण भएको छ भने स्कारपिओ पिकअप गाडी खरिद गरेको अस्पतालका सूचना अधिकारी कृष्णप्रसाद ढकालले जानकारी दिए । म्याग्दीले ५ बेडको आइसियू कक्ष स्थापना गरेको छ भने २ वटा भेन्टिलेटर जोडिएको छ । ४४ लाख ६७ हजारमा स्कारपिओ गाडी पनि खरिद गरिएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । नवलपुरमा ४४ लाख ७६ हजारको स्कारपिओ गाडी खरिद गरिएको छ । ५ बेडको आइसियू कक्षमा २ वटा भेन्टिलेटर जोडिएको छ ।
पर्वतमा शुक्रबारमात्रै आइसियूको उपकरण आइपुगेको छ । ५ बेड आइसियू र ३ भेन्टिलेटरको जडानको काम शुरु भएको अस्पतालले जनाएको छ । गाडी भने पहिले नै खरिद भैसकेको छ । कास्कीमा पनि आइसियू र भेन्टिलेटरको उपकरण भर्खरै झरेको छ । गाडी खरिद भैसकेको छ । जिल्ला अस्पताल नभएकोले कास्कीको लागि पोखरा–१६ स्थित मातृशिशु मितेरी अस्पताललाई यो सहयोग दिइएको हो । अस्पतालमा ५ बेड आइसियू र २ वटा भेन्टिलेटर जडान गर्न लागिएको हो ।
यस्तै, मनाङमा उपकरण खरिद भएपनि ठाउँको अभावले जडान हुन सकेको छैन । साँघुरो भवन भएकोले एउटा मात्रै आइसियू कक्ष तयार गरिएको अस्पतालले जनाएको छ । तर सामान भने दुईवटै आइसियू कक्षका लागि किनिएको छ । मनाङले गाडी पनि छोटो बाटोबाट खरिद गरेको छ ।
कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि परिचालन गर्न प्रत्येक जिल्ला प्रशासन कार्यालयलाई पनि रकम उपलब्ध गराइएको छ । मनाङ र मुस्ताङमा ५/५ लाख छ भने बाँकी ९ वटै जिल्लालाई १५ लाखका दरले उपलब्ध गराइएको छ । प्रशासन कार्यालयमा पठाइएको अधिकांश रकम पनि अनुगमन र मूल्याङ्कन नाममा खर्च भएको छ । यो रकममध्ये अधिकांश भत्तामा खर्च हुन्छ । यो शीर्षकमा मात्रै ४८ लाख दिइएको हो । यसबाहेक इन्धन खर्चमा ४७ लाख, सवारी साधन मर्मतमा २९ लाख, विविध खर्च १० लाख छ । प्रशासनलाई दिइएको रकम अधिकांश बैठकका नाममा भत्ता दिइएको प्रदेश सांसदहरुले गुनासो गरेका थिए । यसबाहेक कार्यालय सञ्चालनको लागि ५ लाख ५० हजार र सञ्चारका लागि ५ लाख ५० हजार दिइएको छ ।
यसबाहेक सबै स्थानीय तहमा राहत वितरणका लागि प्रदेश सरकारले छुट्टै रकम पठाइदिएको थियो । पोखरा महानगरपालिकालाई १ करोड, २६ वटा नगरपालिकालाई १० लाखका दरले २ लाख ६० हजार र ५८ गाउँपालिकालाई ५ लाखका दरले ४ लाख २५ हजार निकासा दिइएको हो । प्रदेशस्थित नेपाली सेनाको पश्चिम पृतना, नेपाल प्रहरीको प्रदेश कार्यालय र सशस्त्र प्रहरीको गुल्मलाई १५÷१५ लाख रुपैयाँ औषधी खरिदका लागि निकासा दिइएको छ ।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
hero news full width
मुख्य समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१