गुरुङ विद्यार्थीलाई लोकसेवा तयारी कक्षा

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७६
tamu loksewa

पोखरा। तमु धिं नेपालले तमु विद्यार्थीका लागि लोक सेवा आयोग परीक्षाको तयारी शुरु गरेको छ । पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख, तमु धिं नेपालका प्रमुख सल्लाहकार शिक्षाविद् एवम वरिष्ठ समाजसेवी गणेशबहादुर गुरुङको स्मृतिमा तमु विद्यार्थीलाई निजामती सेवामा प्रवेश गराउने उद्देश्यले तयारी कक्षाको संचालनमा ल्याइएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लामो संघर्षसँगै सहमतिमा प्राप्त संविधानले दिएको अधिकार पूर्णरुपले उपयोग गर्नसके समावेशीताको अधिकारको अनुभूति हुने बताए । विभेदकारी राज्यको चरित्रको अन्त्य र समानताको लागि लामो लडाईले ल्याएको परिवर्तनको उपलब्धि बेवारिसे हुन लागेको भन्दै श्रीखण्ड नै नभए पनि संविधानले दिएको अधिकार उपयोगका लागि जुट्न उनको जोड थियो । म मुख्यमन्त्री भए पनि टुप्पी मात्रै छ, ज्यान नभए जस्तो भएकाले निजामती सेवामा तमु लगायत हिजोदेखि विभेदमा पारिएका समुदायको प्रवेश आवाश्यकता रहेको भन्दै मुख्यमन्त्री गुरुङको आव्हान थियो। बेलायतको सेवा सुविधा नेपालमै छ अहिले, स्वाभिमानका साथ मुलुकमै सेवा गर्न निजामती सेवामा प्रवेशमा तमुहरुले दिनुपर्ने उनको भनाई थियो ।

विदेशमा बहादुर, भिसी र एमसी नेपालमा पछाडिएको रुपमा परिभाषित हुनु दुखदायी हो भन्दै उनले तमुहरुले ग्राउण्ड नै खाली गरेर विदेश पलायन गर्न नहुने बताए । गोर्खा भर्तिपनि क्रमिक रुपमा सिमितहुदै गएकाले अहिले पुस्तासम्म त केही–केही पेन्सनले रमाउला, यस पछाडिका पुस्ताले निजामती सेवा नै रोज्नुपर्दछ, मुख्यमन्त्रीको भनाई थियो। १० वर्षमा आश्चार्यजनक ढंगले मुलुकमा विकास हुदैछ, निजामती सेवामा पनि सेवा सुविधा राम्रो भएकाले तमु युवाहरुको लक्ष्य सरकारी क्षेत्रमा प्रवेशका लागि हुनुपर्दछ, मुख्यमन्त्रीको भनाई थियो। समावेशीताका अधिकारलाई उपयोग गर्दै निजामती सेवामा तमुहरुको प्रवेशका लागि तमु धिं नेपालद्धारा आयोजित लोक सेवा आयोग परीक्षा तयारी कक्षाले महत्वपुर्ण भूमिका खेल्ने बताए । अब प्रदेश सरकारले पनि करिब दुइ हजार बढी कर्मचारीको आव्हान गर्नुपर्ने अवस्था भएकाले यस तयारी कक्षामा सहभागीहरुले उक्त अवसरको सदुपयोग गर्नुपर्ने उनको भनाई थियो।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले राज्यको हरेक निकायमा तमुहरुको सहभागिताका लागि युवाले विशेष ध्यान दिनुपर्दछ भन्दै निजामती सेवामा प्रवेश बिना समावेशीताको महसुश नहुने बताए । अब राज्यको हरेक कुर्ची तमु युवाको उपस्थिति गराउनका लागि तयारी कक्षाले महत्वपुर्ण भूमिका खेल्ने बताए । तमु विद्यार्थी समितिका पूर्व अध्यक्ष आस तमुले शुभकामना व्यक्त गर्दै तमु विद्यार्थीका लागि तमु धिं नेपालले धेरै ठूलो स्थान प्रदान र प्रोत्साहन गर्दै आएको बताए । तमु विद्यार्थीलाई प्रोत्साहित गरेकै कारण अहिले राज्यको विभिन्न निकायमा तमु विद्यार्थी समितिमा आवद्ध विद्यार्थी प्रवेश गरिरहेको भन्दै लोक सेवा आयोगको परीक्षाका लागि तयारी कक्षाले तमु युवालाई सरकारी कर्मचारी क्षेत्रमा प्रवेश गराउन सघाउने बताए ।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले राज्यको हरेक कुर्चीमा तमुहरुको उपस्थितिका लागि परीक्षा तयारी कक्षा सुरु गरेको बताउदै अब तमु युवा विद्यार्थीको सपना निजामती सेवा हुनुपर्नेमा जोड दिए । कार्यक्रममा तयारी कक्षाका लागि सहयोगी संस्था निप्सल एजुकेशनका प्रवन्ध निर्देशक कुशल सुवेदीले लोक सेवा आयोग र परीक्षाको आवाश्यकताका बारेमा जानकारी दिए । कार्यक्रमको संचालन तमु धिं नेपालका महासचिव गिरीप्रसाद गुरुङले गरेका थिए । तयारी कक्षामा ८१ जना तमु विद्यार्थीको नाम दर्ता गरेको महासचिव गुरुङले बताए । शनिवारदेखि लोकसेवाका तयारी कक्षा संचालन हुने जानकारी दिइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width