राइनासकोटमा प्याराग्लाइडिङ परीक्षण उडान सफल

नवराज पहाडी
कार्तिक २८, २०७६
para_Fotor

लमजुङको राइनासकोटमा नेपाली सेनाद्वारा प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको छ। पोखरामा हाल निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण पूरासँगै पोखराको प्याराग्लाइडिङको विकल्प खोज्न थालिएको छ।

नेपाली सेना र नेपाल हवाइ खेलकुद संस्था (ना) को संयुक्त आयोजना तथा राइनास नगरपालिकाको समन्वयमा राइनासकोटमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताए।

उनका अनुसार यसअघि पोखराका प्याराग्लाइडिङका व्यावसायीहरूको एक टिम आएर परीक्षण उडान गरी पोखराभन्दा पनि उपयुक्त स्थान भएको जनाएको थियो। यसटपक नेपाली सेनाबाट पनि परीक्षण उडान सफल हुनु गौरवको विषय हो, उनले भने।

उडानका लागि नेपाली सेनाका २२ जना र ना संस्थाका ८ जना गरी ३० जनाको टोली यहाँ आएको नेपाली सेनाका प्रमुख सेनानी अर्जुन बस्नेतले जानकारी दिए। टोलीले आइतबारदेखि मंगलबारसम्म तीन दिन परीक्षण उडान गरेको हो। जसबाट यहाँ प्याराग्लाइडिङ उडानको बलियो सम्भावना बढेको छ।

साहसिक प्याराग्लाइडिङलाई व्यापक बनाउने र पोखरामा केन्द्रित रहेको प्याराग्लाइडिङ सम्भावित अन्य ठाउँमा पनि लैजाने उद्देश्यले परीक्षण उडान गरिएको प्रमुख सेनानी बस्नेतले बताए। उनले भने, ‘नेपाल भ्रमण वर्ष–२०२० भव्यताका साथ सफल पार्न सघाउने उद्देश्यले पनि यो स्थानमा परीक्षणका लागि आएका हौं। ’

‘प्याराग्लाइडिङको साहसिक उडानका लागि हरेक दृष्टिकोणले राइनासकोट सफल देखिन्छ। यो स्थानमा व्यावसायिक प्याराग्लाइडिङको प्रबल सम्भावना छ, उनले भने।

राइनसकोटबाट प्याराग्लाइडिङ गरिँदा छिमेकी लमजुङ, गोरखा र तनहूँका मनोरम दृश्यको एकसाथ अवलोकन गर्न सकिन्छ।

राइनासकोटबाट उडेको प्याराग्लाइडिङलाई गोरखाको पालुङ्टार, लमजुङको सुन्दरबजार तथा राइनासटार तथा तनहूँको बाइस जघारमा ल्याण्डिङ गराउन सकिने जनाइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width