प्रदेश सरकारको मूल्यांकन नगरौं : मुख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७५

लमजुङ, २६ फागुन। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारको मूल्यांकन गर्ने बेला भएको छैन भन्नुभएको छ। उनले बेसीशहर नगरपालिका–८, सेरास्थित अर्थली आमाविको रजत महोत्सवको उदघाटन गर्दै आइतबार सो धारणा व्यक्त गरेका हुन्।

उनले शिक्षाको गुणस्तर तथा विद्यालयको व्यवस्थापन, शिक्षा नीति तथा पाठ्यक्रम के कस्तो हुनुपर्ने भन्नेमा बहस चलिरहेको बताए। अबको शिक्षा प्रविधियुक्त, रोजगारमूलक र जीवन उपयोगी हुनुपर्ने मुख्यमन्त्री गुरुङको भनाई थियो। उनले सामुदायिक र संस्थागत विद्यालय बीचको खाडल पुग्नुपर्ने शिक्षा क्षेत्रमा वर्तमानको चुनौति भएको बताए। ‘शिक्षा प्रणाली कसरी जीवन उपयोगी र शिक्षाको गुणस्तर उठाउने भन्ने माग छ। शैक्षिक केन्द्रको माग छ,’ उनले भने, ‘जुन माग छ। त्यसको व्यवस्था नभएका कारण हजरौं विद्यार्थी विदेश गएका छन्। अब, देशमै माग अनुसारको शैक्षिक केन्द्र आवश्यक छ। प्रदेश सरकारले त्यस्तो कदम चालिसकेको छ। ’

उनले गत बर्ष मात्रै ५६ हजार विद्यार्थी विदेश गएको तथ्यांक रहेको बताउँदै चाहनाअनुसारको विषय अध्ययन गर्न पाउने व्यवस्था र त्यस विषयमा अब्बल बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे। मुख्यमन्त्री गुरुङले प्राविधिक शिक्षा, सीपमूलक शिक्षा, रोजगारमूलक शिक्षामा जोड दिँदै अघि बढुनुपर्ने आजको आवश्यकता रहेको बताए।

अर्को एक प्रसङ्गमा उनले प्रदेश सरकारको मूल्यांकन गर्ने बेला भएको छैन भन्दै सरकारले विकासका लागि जग हाल्ने काम गरिरहेको छ। ‘घर निर्माण गर्दा जग राखेको देखिदैन तर त्यो महत्वपूर्ण काम हो,’ उनले भने, ‘बलियो जग भएन भने घर बलियो हुँदैन। त्यसैले यो विचमा सरकारले गरेका काम नदेखिएको र सरकारले केही गरेन भन्ने गुनासो सुन्नु परेको छ। तर हामीले पुरानो संरचना, मानिसकता तथा अदक्ष कर्मचारीतन्त्रले गर्दा सरकारका लागि अपजसको भागी सरकार बन्नु परेको हो। तर, सरकारको मूल्यांकन र आलोचना गर्ने बेला भएको छैन। ’

उनले सरकारले सिके राउतसँग हालै गरेको सम्झौता उपलब्धीपूर्ण भएको दावी गर्दै नेपालको भौगोलिक एकता, अखण्डता र सावैभोमिकता स्वीकार गरी सकेपछि तपसिलका कुरामा खोते थाप्न नहुने बताए।

शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा प्रदेशले काम अघि बढाए पनि संरचना, प्राविधिक लगायतको समस्या भएकाले यसका लागि सबैको सहयोगको आवश्यकता हुने उनले बताए। अबको १० बर्षमा एक खालको नयाँ संरचना तथा नयाँ अनुसहार देख्न पाउने उनको दावी थियो।

संविधान सभा सदस्य जमिन्द्रमान घलेले शैक्षिक क्षेत्रको विकासका लागि शैक्षिक संस्थासंगै स्थानीय तह, अभिावक र स्वंय विद्यार्थीको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने बताए। सो अवसरमा मुख्य मन्त्री गुरुङले उक्त विद्यालय हातामा निर्माण गरिएको रजत स्तम्भको अनावरण गरे। यसैगरी, संविधान सभाका सदस्य जमिन्द्रमान घलेले वार्षिकोत्सवका लागि तयार गरिएको केक काटेका थिए। कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, प्याब्सन लमजुङका अध्यक्ष मेन घले सहितले शुभकामना व्यक्त गरेका थिए। अर्थली आमाविको सञ्चालक समितिका अध्यक्ष गंगा घलेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल उद्दव घिमिरेले प्रगति प्रतिवेदन सुनाएका थिए। सोही विद्यालयको सञ्चालक समितिका सदस्य हृदयनिधि तिवारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल रञ्जिता अधिकारीले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै