सामाजिक यथार्थको सन्देश ‘नीरमाया’

आदर्श समाज सम्वाददाता
माघ २, २०७५
nirmaya 5

पोखरा, १ माघ । नाटक हेरेपछि दर्शकले सामाजिक असमानताको खाडल अपनत्व महसुस गर्छन्। गरीब, शोषित, दलित, यौनपीडित समाजको नाङ्गो यथार्थ बोकेको नाटकले दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिन्छ।

पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक ‘नीरमाया’ हेरेपछि दर्शकमा छुट्टै उर्जा थप्छ । गत पुस २८ देखि मञ्चन भैरहेको सो नाटक माघ १२ सम्म दैनिक मञ्चन हुनेछ । एक घण्टा ४० मिनेट लामो सो नाटकले नाटक हेर्न पुगेका दर्शकको मन जितिरहेको छ। नाटकले घरी दर्शक रुवाउँछ, घरी हसाँउछ, कतिबेला गम्भीर बनाउँछ। त्यतिमात्र हैन नाटकमा लाइभ बाजा र रत्यौलीको प्रयोग छ । नयाँ तथा पुराना कलाकारको अभिनय मिश्रणले अझ मिठासपन बढाउँछ । उनीहरुको भेषभूषा, प्रयोग गरिएका सामग्री, बोल्ने लवज, वानी व्यवहारले दर्शकलाई वास्तविकताको अनुभूत गराउँदछ।

साहित्यकार सरुभक्तले झण्डै ३० वर्ष अगाडि लेखेको सो नाटकको निदेर्शन परिवर्तन कार्कीले गरेका हुन् । यसअघि नाटक ‘बितेका कुरा’ निदेर्शन गरी निदेर्शनमा डेब्यु गरेका कार्कीले यो नाटकमा आफू खारिएको दर्शकलाई विश्वास दिलाउन सफल भएका छन्।

नाटकमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, बबिता मल्ल ठकुरी, अञ्जु दाहाल, रमेशबाबु तिम्सिना, निश्चल विमल, सूर्य सुवेदी, नवराज गिरी, रेवन राई, देव बस्नेत, गोविन्दरमण पराजुली, सन्दीप पाण्डे, ईश्वर कार्की, सोनिया कार्की, प्रतीक घिमिरे, मनिषा थापा, पार्वती थापा, धनबहादुर गायक, हरिबहादुर परियार, विनोद गायक, सौरभ तिम्सिना, विश्वराज पौडेल, विष्णु तिम्सिना लगायत कलाकारको अभिनय छ।

पोखरा थियटरमा मञ्चित सो नाटक २३ औँ हो । नाटक हरेक दिन साँझ ४:४५ बजे मञ्चन भैरहेको छ । शनिबार तथा बिदाको दिन अतिरिक्त शो समेत हेर्न पाइनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width