जमुनेडाँडा माविमा महायज्ञ हुने

आदर्श समाज सम्वाददाता
पौष २५, २०७५
20190108_085733_Fotor

पोखरा, २४ पुस। स्याङ्जाको बिरुवा गाउँपालिका वडा २, मोचाबारीस्थित जामुनेडाडाँ माविले श्रीमद्रभागवत् महापुराण सप्ताह ज्ञानमहायज्ञ गर्ने आयोजना गने भएको छ।

विद्यालयले पोखरामा मंगलबार पत्रकार सम्मेलन गरी माघ ३ देखि ११ गतेसम्म महायज्ञ गर्न लागेको जानकारी दिएको हो। प्राविधिक शिक्षाअन्तर्गत बागबानी शिक्षा तथा मातृभाषाको संरक्षणका लागि कक्षा संचालन गर्न आवश्यक रकम जुटाउने उद्देश्यले महायज्ञ गर्न लागेको विद्यालयले जनाएको छ।

विद्यालय क्षेत्रको भूभाग फलफूल खेतीका लागि योग्य भएकाले त्यसका लागि प्राविधिक जनशक्ति उत्पादन गरी स्वरोजगारमा टेवा पुर्याउन बागवानी शिक्षा संचालनमा जुटेको महायज्ञ मूलआयोजक समिति संयोजक तिलबहादुर गुरुङले जानकारी दिए। बागवानी शिक्षा संचालनसँगै जेटी उत्पादन हुने र जेटी फलफूल खेतीका लागि आवश्यक रहेको उनको भनाइ छ।  विद्यायलले पहिलो चरणमा कक्षा ९ देखि १२ सम्म बागवानी शिक्षा संचालन गर्ने तयारी गरेको छ। मातृभाषाअन्तर्गत आधारभूत तहसम्म मगर, गुरुङ र संस्कृत भाषाको पढाइ संचालन गर्ने बताइएको छ।

आउँदो शैक्षिक सत्रदेखि नै बागबानी शिक्षा संचालन गरिने विद्यालयका प्रधानाध्यापक रामचन्द्र शर्माको भनाइ छ।

‘गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य सरकारको जिम्मेवारी भए पनि समुदाय नै शिक्षाका लागि अग्रसर बन्न लागेको बताउँदै प्रधानाध्यापक शर्माले भने, ‘प्रदेश सरकारसँग पनि समन्वय गरिरहेका छौं।’ उनले बागवानी शिक्षा संचालनका लागि सरकारसँग दरबन्दी माग गरिने बताए। त्यस्तै विद्यालयले कक्षा ८ सम्म अङ्ग्रेजी माध्यममा कक्षा संचालन गर्ने तयारी गरिरहेको छ।

महायज्ञबाट २ करोड रुपैयाँ बढी रकम जुटाउने लक्ष्य लिइएको छ। महायज्ञ मिति नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ।

महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले श्रीमद्भागवत् कथा वाचन गर्ने छन्। महायज्ञमा हरेक दिन संगीतमय प्रवचनसँगै झाँकी समेत प्रदर्शन गरिने बताइएको छ।

बिरुवा गाउँपालिका वडा २ का वडाध्यक्ष बुद्वबहादुर आलेको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन गरिएको थियो।

महायज्ञ मूल आयोजक समिति संयोजक तिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रामचन्द्र शर्माले स्वागत र प्रचार संयोजक सागर चर्तीमगरले संचालन गरेका थिए।

विद्यालयमा हाल १ सय ६८ जना विद्यार्थी अध्ययरत छन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै