लेखनाथ महोत्सव: ३ लाख दर्शक, १५ करोडको कारोबार

आदर्श समाज सम्वाददाता
पौष १६, २०७५
lekhnath festival

महोत्सवको फाइल फोटो ।

लेखनाथ, १६ पुस । कास्कीको लेखनाथमा जारी १५ औं लेखनाथ महोत्सवले समापन अघि नै लक्ष्य प्राप्ति गरेको आयोजकको दावी रहेको छ ।

महोत्सव समापन हुन एकदिन अगाडि नै आयोजकले सुरुमा राखेको लक्ष्य प्राप्त भएको आइतवारसम्मको आर्थिक कारोवारले प्रष्ट पारेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले बताएका छन् ।

‘सुरुमा हामीले महोत्सव अवधिभर तीन लाख दर्शक र १५ करोड बरावरको आर्थिक कारोबार हुने अनुमान गरेका थियौ,’ भण्डारीले भने, ‘तर, त्यो अनुमान समापनपुर्ब नै पुगेकाले विगतका महोत्सव भन्दापनि यस बर्षको महोत्सवले नयाँ कृतिमान राख्न सफल भएको छ ।’

महोत्सवको ११ औं दिनपनि यस प्रदेशमा सार्वजनिक विदा परेकोले आइतवार करिब ४० हजार दर्शकले मेलाको अवलोकन गरेको र हालसम्म तीन लाख ४० हजार दर्शकले मेलाको अवलोकन गरिसकेका प्रचार प्रसार उपसमितिका संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिएका छन् ।

महोत्सवका पछिल्ला दिनहरुमा दर्शकको चाप सँगसँगै आर्थिक कारोवारमा पनि बृद्धि भई आइतबार मात्र दुई करोड बराबरको आर्थिक कारोवार भएको र हालसम्म करिब १७ करोड बराबरको कारोबार भइसकेको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिएका छन् ।यसैबीच, महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवको थप आकर्षकका रुपमा रहेको रत्यौली गीत प्रतियोगितामा र महोत्सवको मुख्य आर्कषणको रुपमा रहेको खोजी अभियानअन्तर्गत गायन विधाको गण्डकी तारा प्रतियोगिताको घोषणा आइतबार समापनका दिन हुने संयोजक मेनुका श्रेष्ठ र ऋषिराम जमरकटेलले जानकारी दिएका छन् ।

१२ दिनसम्म चलेको महोत्सवको महानगर प्रमुख मानबहादुर जिसीद्धारा सोमवार समापन गर्ने कार्यक्रम रहेको महासचिव भरतकुमार अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width