अख्तियार प्रमुखमा घिमिरे

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७५

काठमाडौँ, ४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त भएका छन् । संसदीय सुनुवाइ समितिको विहीवार बसेको बैठकले घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उनको योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णे जानकारी दिए ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले प्रमुख आयुक्त घिमिरेलाई विहीवार नै पद तथा गोपनीयताको शपथ गराए । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नवनियुक्त घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराइएको हो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

यसअघि, संसदीय सुनुवाई समितिको बैठकमा आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि कार्ययोजनासहित काम गर्ने तथा सभ्य र भ्रष्टाचाररहित समाज निर्माणका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका थिए । उनले भ्रष्टाचार र अनुचित कार्य छुटयाएर काम गर्ने प्रणालीको विकास गरिएको र पछिल्लो दिनमा स्थानीय निकायको बढी उजुरी आएको जानकारी दिएका थिए । “म आयोगलाई व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा चलाउँछु र प्रभावकारी परिणाम निकाल्छु, प्रवृत्तिका रुपमा बढेको भ्रष्टाचार नियन्त्रणका लागि सबैको सहयोग जरुरी छ”, उनले भने ।

२०७४ फागुन २ गतेदेखि कायममुकायम प्रमुख आयुक्तका रुपमा आयोगको नेतृत्व सम्हालिरहेका घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि हदैसम्मको प्रयास गर्ने प्रतिबद्धतासमेत जनाए । उनले भ्रष्टाचार नियन्त्रणका लागि अग्रसरता लिने र तोकिएको समयमा काम नगर्ने प्रवृत्तिविरुद्ध पनि दृढताका साथ उभिने विश्वास दिलाए । उनले भ्रष्टाचार नियन्त्रण चुनौतीम्पूर्ण भए पनि त्यसलाई नियन्त्रणका लागि विज्ञ कर्मचारी एवं प्रविधिको समेत जरुरी रहेको बताएका थिए ।

बैठकमा सांसदले “प्रमुख आयुक्त हुनका लागि तपाईँको कार्ययोजना के-के  छन् ” भनेर प्रश्न गरेका थिए । सांसदको प्रश्नको जवाफमा आयुक्त घिमिरेले आफ्नो कार्यकालमा कानूनी र नीतिगत सुधार गर्ने तथा भ्रष्टाचार नियन्त्रणका लागि प्रविधि तथा अनुसन्धानको दायरासमेत फराकिलो बनाउने उल्लेख गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै