ढिकुरपोखरीमा तीज मेला

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७५
hemja photo

हेमजा, २० भदौ। ढिकुरपोखरीमा हुने तीजमेलाको तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक ढिकुरपोखरी युवा संजालले बुधवार पोखरामा पत्रकार सम्मेलन गरी तयारी अन्तिम चरण पुगेको जनाएको हो ।

ढिकुरपोखरीस्थित माछापुच्छे्र माविको प्राङ्गणमा भदौ २३ देखि २८ गतेसम्म हुने उक्त मेलाअन्तर्गत खुला नकआउट फुटबल प्रतियोगिता, तीजगीत, ठेलो तथा रस्साकसी लगायत विविध सांस्कृतिक कार्यक्रम गरिने मेला संयोजक विकास गुरुङले बताए।

खुला नकआउट फुटबल प्रतियोगिताको प्रथम पुरस्कार एक लाख ११ हजार एक सय ११, दोस्रो पुरस्कार  ५५ हजार पाँच सय ५५ साथमा शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ।

मेलामा ‘स्थानीय निकाय र महिला नेतृत्व’ विषयक वडास्तरीय तीजगीत प्रतियोगिता पनि हुँदैछ।जसमा प्रथमले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार तथा सान्त्वना समूहले ५ हजार साथमा प्रमाणपत्र पुरस्कार पाउने छन्। फुटबलतर्फ १२ टिम तथा तीजगीततर्फ २० देखि २२ टिमले सहभागिता जनाउने आयोजकको भनाइ छ। गाउँपालिका अध्यक्ष युवराज कुँवरले ढिकुरपोखरी तीजमेलाको ऐतिहासिक महत्व रहेको औँल्याउँदै मेलालाई सक्दो सहयोग गर्न सरोकारवालासमक्ष आग्रह गरे।उनले गाउँपालिकाले पनि मेलालाई आवश्यक सहयोग गर्ने वचनबद्घता व्यक्त गरे।

मेला सम्पन्न गर्न १२ लाख १० हजार खर्च लाग्ने अनुमान गरिएको छ। मंगलवारसम्म विभिन्न संघसंस्था एवं व्यक्तिबाट ९ लाखको हाराहारीमा सहयोग घोषणा भएको संजालका अध्यक्ष सुशील भट्टचनले जानकारी दिए।

संजालका महासचिव दिल जिसीले विगतभन्दा यसवर्षको तीजमेलालाई विशेष बनाउन लागिएको भन्दै सहयोग गर्न अनुरोध गरे। मेला संयोजक विकास गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संजालका कोषाध्यक्ष प्रकाश गुरुङले स्वागत तथा कार्यक्रम संचालन संजालका महासचिव दिल जिसीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width