गुप्तेश्वरमा बूढानीलकण्ठको मूर्ति अनावरण

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७५
Budha Nil Kantha Murti

पोखरा, ७ साउन । पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा परिसरमा निर्माण गरिएको बूढानीलकण्ठ भगवान्को मूर्ति सोमबार अनावरण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री रवीन्द्र अधिकारीले सोमबार मूर्ति अनावरण गरेका हुन् । सो क्रममा मन्त्री अधिकारीले मुस्ताङचोकबाट पुम्दी जाने बाटोसम्म चार लेनको फराकिलो पेटी र ग्रिनेरी सहित सडक बनाउने गरी ७० करोडको योजना अघि सारेको जानकारी दिए ।

उनले थपे, ‘राम्रो गरे राम्रै हुन्छ, नराम्रो गरे नराम्रो नै हुन्छ, काम नगरी बस्नेहरू अरुलाई गालीमात्र गरेर बस्छन्।’

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोखरामा आउने पर्यटकका लागि डेभिडफल्स र गुप्तेश्वर गुफा प्रमुख गन्तब्य बनेकोमा मूर्तिसँगै थप आकर्षणको केन्द्रविन्दु बनाउन सकिने धारणा राखे।

करिब २२ फुट लम्बाइ, १२ फुट चौडाइ र ६ फिट उचाइको सो मूर्ति सुखेतका वरिष्ठ मूर्तिकार तीलवीर सेञ्चुरी सम्मिलित समूहले ६ महिना लगाएर निर्माण गरेको हो।

गुफा व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेलले मूर्ति निर्माणमा हालसम्म १५ लाख रुपैयाँ खर्च लागेको र अझै केही काम गर्न बाँकी रहेको जानकारी दिए।

समिति अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष तुलसीराम बराल र संचालन ऋषिराम बरालले गरेका थिए।

मूर्ति अनावरणअघि छोरेपाटनदेखि पोखराका विभिन्न स्थानमा झाँकी सहितको कलशयात्रा निकालिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width