पोखरा, ११ चैत । पोखरामा चैत अन्तिम साता ‘मुक्तक महोत्सव २०७४’ हुने भएको छ ।
मुक्तक मञ्च पोखराको आयोजना र रोट्रयाक्ट क्लब अफ हेमजाको सह-आयोजनामा चैत २२ देखि २४ गतेसम्म साइमन पार्टीप्यालेस, सिर्जनाचोकमा महोत्सव आयोजना गरिएको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सिर्जनाको मूल्य दिलाउन ‘टिकटमा मुक्तक’ कार्यक्रमको उद्गमथलो पोखरालाई मुक्तक सहरका रुपमा स्थापित गर्ने अर्को प्रयासस्वरुप मुक्तक महोत्सव गर्न लागेको मुक्तक मञ्च पोखराका अध्यक्ष प्राञ्जलले बताए ।
महोत्सव अवसरमा ४० जनाभन्दा बढीले मुक्तक वाचन गर्ने भएका छन् ।
काठमाडौं, पोखरा, चितवनसहित देशका विभिन्न जिल्लाका चर्चित मुक्तककारले मुक्तक वाचन गर्ने अध्यक्ष प्राञ्जलले बताए ।
त्यस्तै, महोत्सवमा मुक्तक गोष्ठी, पुस्तक परिचर्चा, मुक्तकका पुस्तक प्रदर्शनी, मुक्तकको सैद्धान्तिक बहस, मुक्तकसंग्रह विमोचन लगायत कार्यक्रम हुने उनले बताए ।
महोत्सव सफलताका लागि प्रायोजक खोजी भइरहेको आर्थिक उपसमिति संयोजक गौरी तमुले जानकारी दिइन् ।
यसैबीच, यस वर्षको राष्ट्रिय मुक्तक पुरस्कार मुक्तककार सरुभक्तलाई प्रदान गरिने भएको छ । मुक्तक विधामा नेपालमै पहिलो पटक साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित र मुक्तक मञ्च पोखराद्वारा सञ्चालित पुरस्कार यसपटक सरुभक्तलाई दिइने जनाइयो ।
मञ्चका अध्यक्ष प्राञ्जलले ११ हजार १ सय ११ रुपैयाँ रहेको पुरस्कारको राशी यस वर्षबाट बढाएर २२ हजार २ सय २२ रुपैयाँ नगद, ताम्रपत्र र दोसल्ला प्रदान गरिने जानकारी दिए । संस्थापक अल्पविरामले पुरस्कारको अक्षयकोष सकेसम्म बढाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।
नेपाली मुक्तकको विकास र लेखनका लागि सरुभक्तको महत्त्वपूर्ण योगदानको कदर गर्दै उनलाई पुरस्कार प्रदानका लागि सिफरिस गरिएको प्रतिभा छनोट समितिका संयोजक दीपक समीपले जनाए ।
कविता, नाटक, गीत, गजल, उपन्यास र कथाका ३ दर्जनभन्दा बढी कृतिका लेखक सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ (२०३५) पोखराकै पहिलो मुक्तक संग्र्रह हो । उनका हजार बुद्धहरु (२०६१) र प्रेमयात्रा (२०६७) सहित ३ मुक्तक संग्रह प्रकाशित छन् ।
उनको पागल बस्ती उपन्यासले २०४८ को मदन पुरस्कार प्राप्त गरेको थियो । २०१२ सालमा पोखरा बागबजार जन्मेका सरुभक्त हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति छन् । सिर्जनाको मूल्य खोज्ने कार्यक्रम टिकटमा मुक्तक सञ्चालनमा पनि सरुभक्तको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपिन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य तथा अध्यक्ष प्राञ्जल र पुरस्कारका संस्थापक विष्णु अल्पविराम पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
मञ्चले मुक्तकको लेखन, विकास वा अनुसन्धानमा लागेका संस्था वा व्यक्तिलाई हरेक २ वर्षमा पुरस्कार प्रदान गर्दैआएको छ । यसअघि सो पुरस्कारबाट कृष्णप्रसाद पराजुली र रत्नशमशेर थापा सम्मानित भइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१