नेपालको लगातार तेस्रो हार

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७४

काठमाडौँ, २६ फागुन। आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।

शनिबार भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १९५ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३८.४ ओभरमा चार विकेटको क्षतिमा भेटायो । अफगानिस्तानका लागि नाजिबुल्लाह जादरन ५२ रनमा नटआउट रहे, भने रहमत शाहले ४६, मोहम्मद नाबीले ३४, जावेद अहमदले २६ र कप्तान रसिद खानले २१ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अल आउट हुँदै १९४ रन जोडेको थियो ।

नेपालका लागि कप्तान पारस खड्काले ७५ रनको उत्कृष्ट पारी खेले पनि अन्य व्याट्सम्यानले खेल्न नसक्दा सस्तैमा समेटिन पुग्यो । ८२ बल खेलेका कप्तान खड्काले एक छक्का र १० चौकाको मद्दतले ७५ रन बनाए । यस्तै, दीपेन्द्र सिंह ऐरीले ३२, उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए भने अनिल साह सात रनमा आउट भएका थिए । त्यसैगरी, रोहितकुमार पौडेलले एक, आरिफ शेखले २३, सोमपाल कामीले नौ र करण केसी छ रन बनाएर आउट भए ।

अफगानिस्तानका मोहम्मद नाबीले चार तथा रसिद खानले तीन विकेट लिए । नेपालले अर्को खेल आगामी सोमबार हङ्कङसँग खेल्नेछ । नेपालले यसअघि जिम्बाब्वे र स्कटल्याण्डसँग हार बेहोरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width