शपथ हतारोले फाष्टट्रयाकमा मर्मत

आदर्श समाज सम्वाददाता
माघ ७, २०७४
pradesh pramukh in pokhara

पोखरा, ६ माघ । तालिम र सभा सम्मेलनका लागि बनाइएको पोखराको नदीपुरस्थित नगर प्रशिक्षण केन्द्र अब सांसदको भेला हुने ठाउँ बनेको छ । २०२८ सालमा नगर प्रशिक्षण केन्द्रका भवनहरु निर्माण भएपछि २०४९ सालमा सभाहल बनेको थियो ।

तत्कालीन प्रधानमन्त्री स्व. गिरीजाप्रसाद कोइरालाले उद्घाटन गरेको सभाहल २५ वर्षपछि संघीय संरचना अनुसार प्रदेशसभामा परिणत भएको छ । सामान्य टुटफुट मर्मत गरिए पनि निर्माणकै बेलादेखि यहाँका भवनहरु मर्मत सम्भार भएका छैनन् । तर राज्यको पुनर्ःसंरचनाले लामो समयपछि नगरविकास प्रशिक्षण केन्द्र रंगिएको छ । यहाँको चहलपहल बढेको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । देश संघीय संरचनामा गएपछि आवश्यक पर्ने प्रादेशिक कार्यालय खोज्ने क्रममा प्रादेशिक संरचना सिफारिस समितिले नगर प्रशिक्षण केन्द्रलाई प्रदेशसभा र सचिवालयका लागि उपयुक्त भनि सिफारिस पठाएको थियो । सोही सिफारिसका आधारमा अहिले मर्मत सम्भार थालिएको क्षेत्रीय प्रशासक लक्ष्मणप्रसाद अर्यालले जानकारी दिए ।

‘आइतबार प्रदेशका सांसदज्यूको शपथको कार्यक्रम छ । सरकारको निर्णय ढिलो भएका कारण काममा हतारो पनि बढी छ’-उनले भने-‘आइतबारदेखि नगर प्रशिक्षण केन्द्र प्रदेशसभाको रुपमा स्थापित हुनेछ ।’ यो भवन नेपाल सरकार र संघीय गणतन्त्र जर्मन सरकार (जिटी जेड) को संयुक्त सहयोगमा निर्माण गरिएको हो ।

प्रदेश प्रमुखको नियुक्ति र अस्थायी केन्द्र तोकिएपछि पोखरामा प्रादेशिक कार्यालय धमाधम मर्मत भैरहेका छन् । प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा कार्यालयको मर्मत र सरसफाईमा पूरै शक्ति खटिएको छ । अध्यागमन कार्यालयलाई पर्यटन कार्यालयमा सारेर त्यहाँ प्रदेश प्रमुखको कार्यालय स्थापना गरिएको छ । रंगरोगन सहित आवश्यक फर्निचरको व्यवस्था मिलाइएको छ । अध्यागमन कार्यालयको साईनबोर्ड हटाएर प्रदेशप्रमुखको कार्यालय लेखिएको साईनबोर्ड टाँसिएको छ ।

उता, प्रदेश सांसदलाई शपथ खुवाउने कार्यालय नगर प्रशिक्षण केन्द्रमा पनि अत्यावश्यक व्यवस्थापनको काम भैरहेको छ । शनिबार दिनभर रंगरोगन र स्टेज तथा कुर्चीको व्यवस्था मिलाइएको र बाँकी काम आइतबार बिहानै हुने प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए । सहज जनसम्पर्क हुन सक्ने, सुरक्षाका दृष्टिले सहज तथा भौतिक पूर्वाधारलाई मुख्य आधार बनाएर प्रदेशका कार्यालय व्यवस्थापन गरिएको उनको भनाइ छ । ‘सबै काम हतारमै भैरहेका छन् । तर हतारो देखाएर व्यवस्थापनमा कुनै कमजोरी भएको छैन’-उनले भने-‘प्रदेश प्रमुखको कार्यालय लगभग तयार भएको छ । प्रदेशसभा आइतबार बिहानै रेडी हुन्छ ।’

गत बुधबार अस्थायी केन्द्र र प्रदेश प्रमुख तोकेपछि पोखराभित्र रहेका सरकारी कार्यालय भवनमै प्रदेशका आवश्यक सबै कार्यालयहरु राख्ने तयारी गरिएको हो । मुख्यमन्त्री, प्रदेशप्रमुख लगायत आवश्यक सबै मन्त्रालयहरु साविकका सरकारी भवनमै रहनेछन् । प्रदेशसभाको पहिलो बैठक बसेको २० दिनभित्रै मुख्यमन्त्री निर्वाचित हुनेछन् । त्यसपछि मन्त्रीमण्डल विस्तार हुनेछ । मुख्यमन्त्री र अन्य मन्त्रालयहरुको व्यवस्थापन पनि थप चुनौती छ । जिल्ला समन्वय समितिमा मुख्यमन्त्री र अरु क्षेत्रीय तथा जिल्लास्तरका कार्यालयहरुमा सम्भावित मन्त्रालय राख्ने गरी तयारी भैरहेको छ । यसको सबै रुपरेखा समितिले सरकारलाई बुझाएर मर्मत खर्च समेत मागेको छ । तत्कालको मर्मतका लागि २८ करोड मागिए पनि हालसम्म बजेट निकासा नभएको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ ।

के हुन्छ मनाङ्गेको शपथ ?

प्रदेश सांसदले आइतबार शपथ लिँदा मनाङबाट निर्वाचित सांसद दीपक मनाङ्गे भने सहभागी हुने छैनन् । सवोर्च्च अदालतले अपराधी ठहर गरी ५ वर्ष कैद सजाय सुनाएका कारण उनी सहभागी नहुने सम्भावना छ । यद्यपि अदालती काजगात निर्वाचन आयोगमा नपुगेका कारण शपथका लागि खबर गरिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । तर उनी शपथका लागि आए पनि प्रहरीलाई दीपक मनाङ्गे पक्राउ गर्ने आदेश भएका कारण शपथ अघि नै प्रहरीले पक्राउ गर्ने बुझिएको छ । ‘शपथका लागि सांसदकै हैसियतले वहाँलाई खबर पुगेको छ’-श्रोतले भन्यो-‘प्रहरी पक्राउ पुर्जी लिएर बसेका कारण शपथ अघि नै पक्राउ गर्ने सम्भावना छ ।’

शपथपछि तत्काल उनलाई पक्रिन कानुनले पनि अवरोध मान्छ । त्यसैले झन्झट नहुँदै पक्राउ गर्ने प्रहरीको तयारीका कारण उनी यहाँ आउने सम्भावना नरहेको श्रोतको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width