पुतलीबजार पूर्णखोप सुनिश्चिता पालिका घोषणा

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०८१
Khop

स्याङ्जा । पुतलीबजार नगरपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्चिता नगर घोषणा गरिएको छ । साथै, दिगोपनाका लागि प्रतिबद्धता पनि जनाइएको छ ।

शिक्षा स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ पालिका पूर्ण खोप सुनिश्चिता एवं दिगोपनाका लागि प्रतिबद्धता गरिएको हो ।

पूर्ण खोप सुनिश्चिता र दिगोपनाको सुनिश्चिताको घोषणा गर्दे नगरप्रमुख तुलसीराम रेग्मीले पालिकाभित्रका १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप उपलब्ध गराएकाले पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताए ।

उनले घरधुरी सर्वेक्षणपश्चात् नगरभित्रका लक्षित सबै बालबालिकाले पाउनुपर्ने १३ प्रकारका खोप पाएको जानकारी गराए । बालमृत्युदर घटाउन राज्यले प्रत्येक बालबालिकाका लागि हजारौं लगानी गरेको जनाउँदै यसको उपयोग गर्न समेत नगरप्रमुख रेग्मीले सुझाव दिए ।

बर्सेनि बालबालिकाको जन्म भैरहने हुँदा यस्ता अभियानलाई प्रत्येक वर्ष निरन्तरता दिइने बताउँदै यस्ता पुनित कार्यमा सहभागी हुनुहुने स्वास्थ्यकर्मी, कर्मचारी, अभिभावक लगायत सरोकारवाला सबैलाई धन्यवाद दिए ।
उपप्रमुख देवी अर्याल नगरभित्रका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिमका खोप उपलब्ध गराउनु सबैले चासो दिनुपर्ने बताइन् ।

स्वास्थ्य अधिकृत सन्तोष पौडेलले खोपका बारेमा कार्यपत्र प्रस्तुत गरे । नगर स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदीले खोपको आवश्यकता, उपयोगिता र पुतलीबजार नगरपालिकाको अवस्थाबारे जानकारी दिइन् । स्वास्थ्य अधिकृत ईश्वर थापाले कार्यक्रममा सहजीकरण गरेका थिए ।

पुतलीबजार नगरपालिकाभित्र १६ देखि ५९ महिनाभित्रका पूर्ण खोप लगाएका बालबालिकाको संख्या १ हजार ८ सय २२ जना रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width