पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन् । स्टल सञ्चालकले उनको प्रश्न भुइँमा खस्न नपाउँदै बेरोजगार सूचना फाराम भराए । साथै, केसीको योग्यता, सीपबारे परामर्श गर्दै उनलाई रोजगार मिल्नेबारे आश्वास्त पारे । संगीतामात्र हैन, भर्खरै एसइई दिएर बसेकाहरु पनि भविष्यमा के पढ्दा उपयुक्त होला लगायत जिज्ञासा लिएर आएको पाइन्थ्यो । साथै, बेरोजगार सूचना फाराम झैं जनशक्ति आवश्यकता सम्बन्धी एवं रोजगारदाताले प्रदान गर्ने रोजगारबारे अर्को फाराम भर्नेहरुको पनि भीडभाड थियो ।
पोखरा सभागृहमा चलिरहेको दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला–२०८१ को दृश्य हो, यो । एकातिर सीप भएर पनि बेरोजगार बस्नुपर्ने त अर्कोतिर रोजगारदाताले जनशक्ति नपाउने अवस्थाबीच यो मेलाले पुलको काम गरेको पाइन्छ । साथै, सीप परीक्षण, निशुल्क प्राविधिक शिक्षाको अवसर, विद्यालय तहको अध्ययनपछि के पढ्ने भन्नेबारे सहजीकरण गरिएको छ ।
गत वर्षदेखि पोखरामा थालनी भएको यस्तो प्रकृतिको मेला यहाँ दोस्रो पल्ट आयोजना गरिएको हो । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा सोमबारदेखि सुरु मेला ३ दिनसम्म चल्नेछ । मेलामा २७ वटा स्टल राखिएका छन् ।
गण्डकी बहुप्राविधिक शिक्षालयका सहायक लेखापाल सन्तोष तिमिल्सिनाले शिक्षालयले पढाउने विषयबारे जिज्ञासालाई परामर्श दिनमा व्यस्त देखिन्थे । ४ वर्षअघि पोखराको भण्डारढिकमा खुलेको शिक्षालयमा पढेकाहरु अहिले पोखराका क्षेत्रमा इन्टर्नसिपमा गइसकेका बताए । उनका अनुसार शिक्षालयले डिप्लोमातर्फ सिभिल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, फार्मेसी पढाउँदै आएको छ । साथै, प्रमाणपत्र तह सामान्य चिकित्सा पनि पढाइरहेको तिमिल्सिनाले परामर्श दिँदै थिए ।
उता, पोखरा इन्जिनियरिङ कलेजमा डिप्लोमा इन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङ पढेका विद्यार्थीले बनाएका प्रदर्शनीमा दर्शक आकर्षित देखिन्थे । विधाता हस्तकला तथा प्रशिक्षण केन्द्रहोस् वा राइट फर चिल्ड्रेन, पोखरा पर्यटन परिषद्, इकमर्स साथी, कान्तिपुर डेन्टल अफ हेल्थ साइसेन्ज एन्ड कान्तिपुर डेन्टल हस्पिटल, फेवा सिटी इन्स्टिच्युट अफ मेडिकल साइन्स, पञ्चकन्या मेटल इन्जिनियरिङ, कृषि औजार, विभिन्न संघसंस्था एवं रोजगार सेवा केन्द्रहरुले आ–आफ्नो सेवा सुविधाबारे जानकारी दिने गरेका थिए ।
मेलाबाट ३ सयलाई रोजगारी दिने लक्ष्य रहेकोमा १५ सय जनशक्ति माग
गत वर्ष मन्त्रालयले मात्र गरेकोमा यसपालि पोखरा महानगर जोडिएको महानगर प्रवक्ता मोतीलाल तिम्सिना बताउँछन् । दिनहुँ करिब २ हजारको संख्यामा मानिसहरु वैदेशिक रोजगारीका लागि विदेशिनुपरेको तीतो यथार्थबीच स्वदेशमै रोजगारीको अवसर र सम्भावनाबारे जान्ने अवसर मिल्ने उनले बताए ।
मेलाका प्रचार संयोजक शिक्षा विकास निर्देशनालय गण्डकीका निर्देशकसमेत रहेका अम्बिकाप्रसाद आचार्यले दक्ष जनशक्तिको खोजीमा रहेका उद्यमी व्यवसायीका लागि जनशक्ति पहिचान गर्ने अवसर मेलाको प्रमुख आकर्षण रहेको बताए । उनले भने, ‘सीप भएर पनि परीक्षण नगराएका, सीप ज्ञान भएर पनि बेरोजगार बसेका, रोजगारदाताले दक्ष जनशक्ति नपाएको, निशुल्क तालिम पनि पाइन्छ भन्नेसम्म जानकारी नभएकाहरुको लागि केन्द्रिकृत गरेर मेला आयोजना गरिएको हो ।’ मेलालाई आगामी दिनमा पालिकास्तरमा लैजाने योजना रहेको उनले सुनाए । गण्डकी प्रदेशस्तरमा रोजगार सूचना केन्द्र सञ्चालित छ भने ८५ वटै पालिकामा रोजगार सेवा केन्द्र पनि सञ्चालित छन् भन्नेमा धेरैलाई जानकारी नै छैन ।
पोखरा महानगरपालिका रोजगार सेवा केन्द्रका रोजगार संयोजक विष्णुप्रसाद दाहालले रोजगार मेलाले रोजगारदाता र बेरोजगारबीच पुलको काम गर्न मद्दत गरेको बताए । ३ सय जनालाई रोजगारी उपलब्ध गराउने मेलाको लक्ष्य रहेकोमा रोजगारदाताबाट १५ सयभन्दा बढीलाई रोजगारी दिने भनी जनशक्ति माग आएको उनले जानकारी दिए ।
मेला अवसरमा विविध बहसमूलक सेसन, प्रवचन, उद्यमीका कथा, नाटक प्रहसन, सांस्कृतिक कार्यक्रम, पनि हुने गरेका छन् । मंगलबार आन्तरिक श्रम बजार, अवसर र चुनौती विषयक सेसनमा पोखरा महानगरपालिका सहरी योजना आयोग सदस्य डा. होमनाथ गैरे, शिक्षाविज्ञ डा. खरिका पराजुली, पोखरा औद्यागिक क्षेत्र उद्योग संघ उपाध्यक्ष दीपेन्द्र बस्ताकोटी, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र सदस्य रुद्र खत्री वक्ता थिए । जसको सहजीकरण नेपाल पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदीले गरेका हुन् ।
त्यसअघि, स्टार्ट अप तथा उद्यमशीलता प्रवद्र्धनमा सार्वजनिक निजी साझेदारी विषय सेसन चल्यो । रघुनाथ वाग्लेले सहजीकरण गरेको सेसनमा गण्डकी प्रदेश निजी योजना आयोग उपाध्यक्ष डा. श्रीकान्त खतिवडा, वाराही ग्रुुपका अध्यक्ष हरि पौडेल, गण्डकी प्रदेश उद्योग पर्यटन मन्त्रालयका सचिव कुमानसिं गुरुङ र युएनडिपी गण्डकी–लुम्बिनी प्रदेश कार्यालयका प्रमुख सुदीप अर्यालले उद्यमशीलताबारे विभिन्न विचार वक्त गरेका थिए । उद्घाटनमा उद्यमशीलता, रोजगारी र शिक्षा विषयक टक सोमा गण्डकी विश्वविद्यालयका उपकुलपति डा. नवराज देवकोटा, सिटिइभिटी गण्डकी निर्देशक दामोदर देवकोटा, उद्यमीहरु चिनु गुरुङ, किरण केसी थिए । सहजकर्ता नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी थिइन् ।
मेला अवसरमा मंगलबार सांस्कृतिक कार्यक्रमतर्फ कलाकार जीवन दाहाल, राजन कार्की, शिवहरि ढुंगाना, कमला सुनारको प्रस्तुति एवं हिमाली सांस्कृतिक परिवारको नृत्य गरिएको थियो । बुधबारसम्म चल्ने मेलामा विद्यार्थीको पनि उल्लेख्य उपस्थिति थियो । गत वर्ष साउन ६ देखि ८ सम्म यस्तै प्रकृतिको मेला भएको थियो ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
हातपात अभियोगमा पक्राउ
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१