त्रिवि उपकुलपतिमा ३ सिफारिस

आदर्श समाज सम्वाददाता
फागुन ६, २०८०
tu

पोखरा । त्रिभुवन विश्वविद्यालय उपकुलपति पदमा नियुक्तिका लागि ३ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेमा प्राडा केशरजंग बराल, प्राडा चित्रबहादुर बुढाथोकी र प्राडा टेकनाथ धमला छन् । उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले आइतबार विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गरेको हो । सिफारिस हुने तीनै जना माओवादी निकट मानिन्छन् ।

पाल्पा घर भइ हाल पोखरा निवासी बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति हुन् । बुढाथोकी त्रिवि शिक्षाशास्त्र संकायका डिन तथा धमला त्रिवि गणित केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख हुन् ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री प्रचण्डले सिफारिस गरिएका ३ जनामध्येबाट एक जनालाई उपकुलपति नियुक्त गर्नेछन् ।

उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको पदावधि गत १६ कात्तिकदेखि सकिएपछि यसपालि खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न लागिएको हो । त्यसका लागि २ पटक विज्ञापन गरिएको थियो ।
हाल त्रिविको निमित्त उपकुलपतिमा प्राडा शिवलाल भुसाल छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width