शान्ति निकुन्जलाई वडाध्यक्ष कप

आदर्श समाज सम्वाददाता
फागुन ६, २०८०
shanti nikunja

पोखरा । अन्तरविद्यालयस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि शान्ति निकुञ्ज बोर्डिङ स्कुलले जितेको छ ।

आइतबार फाइनलमा शान्ति निकुञ्जले बालोदय बोर्डिङलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै उपाधिसहित ३० हजार जितेको हो ।

२५/२५ मिनेटको निर्धारित समयमा दुबैतर्फ एक÷एक गोलले खेल बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको हो । जसमा बालोदयका सुविन सारु मगरले प्रहार गरेको बल शान्ति निकुन्जका गोलरक्षक आसिक गुरुङले उत्कृष्ट बचाउ गर्दा शान्ति निकुन्जले जित हासिल गर्न सफल भयो । निर्धारित समयमा बालोदयका आविष्कार सुनार र शान्ति निकुञ्जका इन्द्रबहादुर बिकेले गोल गरे । शान्ति निकुन्जका गोलरक्षक आसिक गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

शान्ति निकुन्जका प्रशन्न थापा, विश्वास गुरुङ, इन्द्रबहादुर बिक, रुपक गाहा र आयुष गुरुङले पेनाल्टी सुटमा गोल गरे । बालोदयका अंकित केसी, श्रीजल मल्ल, संगम गुरुङ र अग्रिम पोडेलले पेनाल्टी सुटमा गोल गरे ।

साविक विजेता छोरेपाटन माविले सडेन डेथमा फिस्टेल एकेडेमीमाथि जित हासिल गरी तेस्रो भयो । निर्धारित र टाइब्रेकरमा दुबैतर्फ खेल बराबरी भएकोमा सडन डेथमा निर्णय भएको हो । उपविजेताले २० र तेस्रोले १० हजार पाए । सान्त्वना भएको फिस्टेल एकेडेमीले ५ हजार पायो ।

प्रतियोगितामा शान्ति निकुञ्जका प्रसन्न थापा उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट डिफेन्डरमा बालोदयका सुविन्द्र मगर, मिडफिल्डरमा शान्ति निकुञ्जका इन्द्रबहादुर बिक, फरवार्डमा शान्ति निकुञ्जका विश्वाश गुरुङ, शान्ति निकुन्जकै गोलरक्षकमा आसिक गुरुङ, उत्कृष्ट प्रशिक्षकमा प्रमेन्द्र थापा घोषित भए । छोरेपाटनका भीमबहादुर जर्गा, शिशु कल्याण स्कुलका सोहन आले सर्वाधिक गोलकर्ता (४ गोल) बने । शिशु निकेतन अनुशासित टोली घोषित भयो ।

यसैबीच, पोखरा १७ का जनप्रतिनिधि तथा कर्मचारी र आयोजक ड्यामसाइड क्लबको भेट्रान्स टीम बीचको मैत्रीपूर्ण फुटबल १–१ को बराबरीमा टुंगियो ।

विजयीलाई पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगी, गण्डकी प्रदेश प्रहरी गणका प्रहरी निरीक्षक सोमदास ढकाल, प्रहरी नायव निरीक्षक रुद्रप्रसाद अधिकारी, एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जित, सहारा क्लब पोखरा अध्यक्ष केशवराज बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल, वडा सदस्य विक्रम गुरुङ, तारा सेवा परियारलगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा १९ विद्यालयले भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width