५ करोड फिरौती मागेपछि प्रहरी फन्दामा २ युवा

आदर्श समाज सम्वाददाता
माघ २६, २०८०
crime

पोखरा । एक महिनाअघि पर्वतका लक्ष्मण दर्जी कतारबाट नेपाल फर्के । स्वदेश फर्केपछि दीपकबहादुर क्षत्रीसँग पोखरा बस्न थाले । उनीहरु पहिलेदेखिकै साथी थिए । ६ वर्ष उमेर फरकका उनीहरुमध्ये कुश्मा नगरपालिका वडा २, खुर्कोट घर भइ हाल पोखरा ८ सिर्जलचौर बस्ने दर्जी ३६ र कुश्मा १४, आर्थरका क्षत्री ४२ वर्षका भए ।

यत्तिकैमा आपराधिक मनोवृत्तिका उनीहरु दुवै जना मिलेर व्यापारीदेखि नेतासम्मको नाम तयार पारे । लिस्ट तयार भएपछि ‘एक्सन’ मा जाने निधो गरे । प्रहरीका अनुसार उनीहरुले प्रचण्ड, देउवादेखि ओलीसम्मको लिस्टिङ गरेका छन् । लिस्टिङको एउटा मात्र ध्येय थियो, मोटो फिरौती रकम ।

पहिलो निशानामा परे, प्रकाशदीप गैरे । पोखरा–१६ लामाचौर घर भई दीपमा सच्चाइ सेवा केन्द्र सञ्चालन गर्दै आएका सच्चाइ केन्द्र नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका गैरेको मोवाइलमा माघ १८ गते म्यासेज गयो । गैरेले सच्चाइ केन्द्रको गतिविधि सामाजिक सञ्जाल युट्युबमा राखेका थिए । सोही भिडियो आधारमा उनले मोटो रकम दिन सक्छन् भन्ने अनुमानले उनीहरुले भारतीय सिमबाट हिन्दी भाषामा म्यासेज गरेका थिए ।

म्यासेज गर्नुअघि पहिले १३ माघमा सच्चाइ केन्द्रमै पुगेर गैरेको नम्बर लिएर फर्केका थिए । नम्बर लिन जाँदा १/२ घण्टा नै सच्चाइ केन्द्रमा बसेका थिए ।
उनीहरुले फोन तथा म्यासेजमा हिन्दी भाषामा कुराकानी गरेर फिरौती माग्ने र नदिए ज्यान मार्ने धम्की दिन थाले । यो जानकारी गैरेले प्रहरीलाई जानकारी गराए । १८ गतेको घटनापछि दर्जी र क्षेत्री माघ २० गते पुनः सच्चाइ पुगेका थिए । त्यो बेला उनीहरु फोन र म्यासेजको साइड इफेक्ट बुझ्न पुगेका हुन् ।

दर्जी र क्षत्री यतिकैमा रोकिएनन् । माघ २३ गते पुनः उनीहरु सच्चाइ पुगेर आधा घण्टा बसेर रेकी गरेर फर्किए । उनीहरुले भारतीय नम्बरबाट हिन्दी भाषामा बोल्ने र म्यासेज गरेकाले कसैले मेसो नपाउने आकलन गरेका थिए । तर, उनीहरु अन्तिम उक्त केन्द्र पुगेर फर्केकै भोलिपल्ट बुधबार साँझ प्रहरी फन्दामा परे ।

आपराधिक क्रियाकलापमा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दर्जी र क्षत्रीलाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा दुवै जनाले फोन तथा म्यासेजमा हिन्दी भाषामा कुराकानी गरी फिरौती माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । ‘फोन तथा एसएमएसमार्फत निजसँग ५ करोड रुपैयाँ फिरौती मागेको देखिन्छ । त्यो म्यासेज पनि हामीले पाइसकेका छौं’, एसपी थापाले भने, ‘फिरौती नदिएमा निजको परिवार र निजलाई पनि ज्यान मार्ने धम्की दिइएको पाइयो ।’

प्रहरीका अनुसार दर्जी नेपाल आउनेबित्तिकै क्षत्रीसँग मिलेर पोखरा ८, जाल्पारोडमा कोठा भाडामा लिएर योजनाबद्ध रुपमा लागेको देखिएको एसपी थापाले बताए । ‘एक महिनाअघि विदेशबाट आउनेबित्तिकै कोठा भाडामा लिएर यो योजना अगाडि बढाएको देखिन्छ’, थापाले भने, ‘यही योजनाका साथ विदेशबाट आएको हो वा होइन, अनुसन्धान अघि बढाएका छौं ।’

उनीहरुको साथबाट बरामद सामानमध्ये ८ पानाको लिस्ट पनि छ । जहाँ नेतादेखि उद्योगी व्यवसायीको नाम उल्लेख छ । एसपी थापाले भने, ‘८ वटा पान्नामा विभिन्न नेता, व्यापारी, उद्योगी, व्यवसायीलगायत ठूलाठूला मान्छेको नाम लेखिएका छन् । कोहीकोहीका त सन्तानको पनि नाम लेखिएका छन् ।’

प्रहरीले उनीहरुको साथबाट अवैध लागुऔषध गाँजा, धम्क्याउन प्रयोग गरिएको सिमकार्ड, मोबाइल सेट, किताब, हातहतियार तथा विभिन्न व्यक्तिको नाम लेखिएको ८ पाना पनि नियन्त्रणमा लिएको छ । बरामद सामानबाट विभिन्न ‘कोड’ भाषा प्रयोगबारे पनि खुल्न आएको प्रहरीले जनाएको छ । ‘बिग मनी, बिग टार्गेट, किडन्याप, फिरौती, सुटआउट, प्रोटेक्सन मनी, रिचकिड्स’ लगायतका शब्द प्रयोग गरिएको सामग्रीसमेत फेला परेको प्रहरी प्रमुख थापाले खुलाए ।

पक्राउ परेकामध्ये क्षत्री पटके अभियुक्त हुन् । जिल्ला प्रहरी कार्यालय पर्वबाट गत वर्ष हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा समेत पक्राउ परेका उनी २०७१ सालमा वडा प्रहरी कार्यालय बगरबाट उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको थियो । प्रहरीका अनुसार दुवै जनालाई विभिन्न ३ मुद्दा चलाउने तयारी छ । लागुऔषध गाँजा सम्बन्धी मुद्दा, हातहतियार तथा खरखजानासम्बन्धी र आपराधिक लाभ एक्सटर्सन सम्बन्धी मुद्दामा अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग