पोखरा । ‘क्या मिठो हुने रहेछ, कोदोको निमकिन । हामीले त कोदोको ढिंडो र रोटीमात्र खाएका थियौं ।’
पोखरा प्रदर्शनी केन्द्रमा जारी कृषि यान्त्रीकरण प्रदर्शनी अवलोकन गर्न आएकी पर्वत जलजलाकी जूना जिसीले कोदोको निमकिन खाएपछि दिएको प्रतिक्रिया हो, यो ।
उनले शनिबार प्रदर्शनीस्थलमै खाजा खाएकी थिइन् । बाहिरी जिल्लाबाट आएका कृषकलाई खाजामा कागुनोको खिर, कोदोको निमकिन अनि जौंको मफिन (पाउरोटी) दिइएको थियो । आफ्नै घर वरिपरी उत्पादन हुने खाद्यान्नबाट नयाँ–नयाँ परिकार बनाएको देखेपछि जूना छक्क परिन् । ‘हाम्रोतिर पनि सजिलैसँग पहिलेदेखि नै लगाइरहेको खेतीहरु रहेछ । तर, परिकार बनाउन नजानिँदो रहेछ,’ उनले भनिन्, ‘यस्तो तालिम त हामीलाई पनि दिए हुन्थ्यो नि ।’ यहाँ आएर धेरै कुरा थाहा भएको उनको भनाइ थियो । गाउँ फर्केपछि रैथानेबालीबाट पनि बजारमा पाइने परिकार बनाउन सकिनेबारे साथीहरुलाई सुनाउने उनले बताइन् ।
बागलुङ जैमिनीका दुर्गाबहादुर थापाले पनि खाजामा कागुनो खिर, कोदोको सेलरोटी, निमकिन अनि जौंको पाउरोटी हो भन्ने थाहा पाउँदा दंग परे । ‘कोदोको पिठोबाटै यतिधेरै परिकार बनाउन सकिने रहेछ । अहिलेको जमानामा कोदो लगाएर के गर्नेजस्तो लाग्थ्यो,’ उनले भने, ‘गरे के नहुने रहेछ र, त्यही हो नयाँ परिकारका बारेमा जानकारी हुनुपर्यो ।’
प्रदर्शनी आएका कृषकलाई बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले खाजा खुवाएको थियो । केन्द्रले नै रैथानेबालीबाट विभिन्न परिकार बनाएर खाजा खुवाएको थियो । प्रशिक्षार्थी भावना श्रेष्ठले प्रदर्शनीमा राखिएको स्टलमा कृषकको भीड लागेको बताइन् । प्रशिक्षणका क्रममा सिकेको सिप केन्द्रले कृषि जैविक विविधता एवं रैथाने बाली प्रदर्शनी नाम दिएर स्टल राखिएको उनले बताइन् ।
स्टलमा शुक्रबारदेखि नै प्रत्यक्ष पकाएर कृषकलाई देखाएको प्रशिक्षार्थी श्रेष्ठले बताइन् । ‘हामीले पहिलो दिनदेखि नै प्रदर्शनी आउनेलाई रैथानेबाली चिनाउने र नयाँ–नयाँ परिकार बनाउन सकिनेबारे जानकारी दिन गरेका छौं,’ उनले भनिन्, ‘यसले गर्दा रैथानेबाली जोगाउन र मैदाको विकल्पमा प्रयोग गर्न पनि सकिन्छ भन्ने बुझाउन खोजिरहेका छौं ।’
जहाँ कास्की, तनहुँ, लमजुङ, म्याग्दी, बागलुङ लगायत स्थानका रैथाने बाली प्रदर्शन गरिएको छ
गण्डकी प्रदेश, कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका, नेपाल सरकार, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा भएको प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी–२०८० मा ४० स्टलमध्ये धेरैमा कृषि कर्ममा प्रयोग हुने आधुनिक औजार राखिएको छ । योसँगै केही स्टलमा रैथानेबालीबारे जानकारी पनि दिइएको छ । जहाँ कास्की, तनहुँ, लमजुङ, म्याग्दी, बागलुङ लगायत स्थानबाट रैथाने बालीहरु ल्याएर प्रदर्शन गरिएको छ । स्टलमा पोखरेली जेठो बुढो, कागुनो, सिमी, गिठ्ठा, भ्याकुर, तरुल, सिस्नोको पाउडर, भाङ्गो लगायत बाली बिक्रीका लागि राखिएको रुद्रताल सामाजिक उद्यमी महिला सहकारी अध्यक्ष चित्रा छन्त्यालले बताइन् । बागलुङमा बसेर धेरै बाली उत्पादन गरे पनि यो प्रदर्शनीमा थोरै मात्रामा ल्याएका हौं । यहाँ हाम्रो उत्पादनबारे जानकारी दिन पाएका छौं,’ उनले भनिन्, ‘सबैले निकै ध्यान दिएर हेर्नुभएको छ । केहीले किनेर पनि लैजानु भएको छ । यस्तो खालको कार्यक्रम भइरहनुपर्छ ।’
लमजुङ मस्र्याङ्दीकी बृखमाया गुरुङ पनि रैथानेबालीबारे जानकारी दिनका लागि आगामी दिनमा यस्तो प्रकृतिको कार्यक्रम हुनुपर्ने बताउँछिन् । घनपोखरा बिउ बैंकको सदस्य समेत रहेकी उनले रैथानेबाली जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिइन् । पछिल्लो समय ७० देखि ८० प्रतिशतसम्म रैथाने बालीको बिउ नास भइसकेको उनको भनाइ छ । घनपोखरा सामुदायिक बिउ बैंकमा ६३ जातको धान, कागुनोको ९ र कोदोको ५ जातको बीउ संरक्षण गर्दै आएको उनले बताइन् ।
गण्डकी प्रदेश सरकार अहिले गण्डकी प्रदेशमा बिउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको तयारीमा छ । विधेयकमा बिउबिजनसम्बन्धी नीति तर्जुमा गर्न प्रदेश सरकारलाई आवश्यक परामर्श दिने, परम्परागत रुपमा प्रयोग भइरहेका र लोपोन्मुख जातका बिउबिजनको पहिचान गरी तिनको संरक्षणका लागि प्रदेशस्तरमा आवश्यक प्राविधिक तथा नीतिगत कार्य गर्ने गराउने उल्लेख गरिएको छ । विधेयक पासपछि रैथानेबालीको बिउ जोगिने गण्डकी प्रदेश बिउ बिजन प्रयोगशालाका निमित्त प्रमुख अमृत रेग्मीले बताए । ‘रैथानेबालीको बिउलाई विधेयक पास भएपछि जात दर्ता प्रदेश समितिबाट हुने भनिएको छ । यसअघि यो अधिकार संघीय समितिमा थियो,’ उनले भने, ‘हाइब्रिडको हकमा पनि नेपालमा सूचिकृत बिउमा मात्र ल्याउने हो । यसलाई निषेध नै गर्ने भन्ने त भएन । दुवैलाई सँगसँगै लैजान विधेयक पास भएपछि सहज हुन्छ भन्ने छ ।’ प्रदर्शनी आइतबारसम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
लिटल फ्लावरमा विविध कार्यक्रम
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१