कृष्ण भजनमा धर्मोदय दशवतार वालन प्रथम

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०८०
sukla final (1)

पोखरा ।  बाटुलेचौरमा आयोजना भएको खुला कृष्ण भजन प्रतियोगितामा पाल्पाको धर्मोदय दशवतार वालन संस्कृत समूह प्रथम भएको छ ।

श्रीकृष्ण जन्माष्टमी अवसरमा शुक्ला साहित्य प्रतिष्ठान पोखराले आयोजना गरेको प्रतियोगितामा धर्मोदय दशवतार प्रथम हुँदै नगद १ लाख रुपैयाँ पुरस्कार जित्यो ।

यस्तै, देवीस्थान भजन समूह हेमजा दोस्रो, इशानेश्वर भजन समूह उत्कृष्ट तेस्रो र ओमकारेश्वर भजन समूह फूलवबारी सान्त्वना भए । उनीहरुले क्रमशः ७५, ५० र २५ हजार नगद पुरस्कार पाए । सहभागी २४ टिमले प्रोत्साहनस्वरुप ५ हजार पाएको प्रतिष्ठानका सहसचिव एवं प्रचार प्रसार उपसमिति संयोजक सञ्जय थापाले बताए ।

मध्यरातसम्म चलेको प्रतियोगितामा सहभागी टिमले विभिन्न झाँकी र कृष्ण लीलासमेत प्रस्तुत गरेका थिए ।

उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले कला संस्कृतिबाटै मानव सभ्यताको विकास भएको बताउँदै संरक्षणमा जोड दिइन् ।
प्रतिष्ठान अध्यक्ष हरि बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक दुर्गादेवी बस्नेतले कला, संस्कृति तथा साहित्य उत्थानमा प्रतिष्ठान सधैँ अग्रसर हुने बताइन् ।

निर्णायकमा सिर्जना थापा, संस्कृतिविद् डा. कुशुमाकर न्यौपाने र सहप्राध्यापक अम्विकाप्रसाद भट्टराई थिए । कार्यक्रम सञ्चालन वरिष्ठ लोकदोहोरीगायक प्रजापति पराजुलीले गरेका थिए ।

सो अवसरमा डा.इ. महेन्द्र बानियासहित विभिन्न सहयोगदातालाई सम्मान गरियो । कोरोनाका कारण यसअघि ३ वर्ष प्रतियोगिता रोकिएकोमा यसपालि पुन सञ्चालन गरिएकोे प्रतिष्ठान अध्यक्ष बरुवालले बताए । प्रतियोगितामा कास्की, स्याङ्जा, वाग्लुङ, पाल्पा लगायतका जिल्लाबाट पनि भजन टोलीले भाग लिएका थिए ।

२०४५ सालमा जनकविकेशरी धर्मराज थापाको नेतृत्वमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दैै आएको छ । प्रतिष्ठानले गएको २४ वर्षदेखि बाटुलेचौरमा यो प्रतियोगिता गर्दै आएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width