पोखरा । लामो समयको संवाद र छलफलपछि अन्ततः गण्डकीमा ७ वटै मन्त्रालय राखिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीले केन्द्रको निर्देशन अनुसार ७ मन्त्रालय बनाउने र सोमबार नै मन्त्री परिषद् विस्तारको तयारी गरेका छन् । ‘सकेसम्म घटाऊ भनेर निर्देशन आएपछि पहिलेकै अवस्थामा पुर्याउन लागिएको हो,’ सरकारको प्रवक्ता समेत रहेकी विना विभागीय मन्त्री सीता सुन्दासले भनिन्, सोमबार बिहान फेरि गठबन्धनका पार्टीसँग बसेर टुंगोमा पुगिन्छ ।
आइतबार अबेरसम्म मुख्यमन्त्री निवासमा सरकार विस्तार र मन्त्रालयको संख्याका बारेमा गठबन्धनमा आबद्ध दलबीच छलफल भएको छ । जसमा ७ वटै मन्त्रालय बनाउने सहमति जुटेको छ । मन्त्रालयको संख्या लगायत विषय टुंग्याउन गठित कार्यदलले मुख्यमन्त्रीलाई विकल्पसहितको प्रतिवेदन बुझाएको छ । ७, ८, ९ वटा मन्त्रालय राख्न सकिने गरी कार्य विभाजनका लागि ५ वटा विकल्प पनि कार्यदलले दिएको थियो ।
‘मन्त्रालयको संख्याका बारेमा अन्तिम निर्णय क्याबिनेटले गर्ने हो, ७ मन्त्रालय बनाउन निर्देशन आएपछि सोही अनुसार गर्न एक खालको टुंगो लागेको छ, सम्भवत सोमबार बेलुकासम्म कार्यभारसहित थप मन्त्रीको सपथ हुन्छ,’ मन्त्री पञ्चराम गुरुङले भने । मुख्यमन्त्री अधिकारीले शुक्रबार विज्ञहरुसँग मन्त्रालयको संख्याका विषयमा सुझाव लिएका थिए । मन्त्रालयको संख्या र मन्त्री परिषद् विस्तार गर्न सत्तारुढ दलहरुसँग संयुक्त बैठक भने नभएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।
‘संयुक्त बैठक खासै बसेको छैन । सभामुख, उपसभामुखको निर्वाचनमा बसियो । मन्त्रालय कति बनाउने भन्ने कुरामा बैठक भएको छैन,’ उनले भने, ‘मुख्यमन्त्री ज्यूले टुंगो लगाउनुहुन्छ । केन्द्रबाट एक हिसावको निर्देशन उहाँले पाउनुभएको छ ।’ यद्यपि आफूले भने १० वटा मन्त्रालय बनाउनुपर्ने सुझाव दिएको चुमानले सुनाए । ‘कामको चाप र रिजल्ट निकाल्ने हो भने १० मन्त्रालय चाहिन्छ । माथिबाट १० प्रतिशत नबढाउन निर्देशन आएको सुनेको छु,’ उनी अघि भन्छन्, ‘क्याबिनेटको पूर्ण अधिकार मुख्यमन्त्रीमा निहित हुन्छ । हामीले दिने सुझाव मात्रै हो ।’ उनी मन्त्रालय र जिम्मेवारीबारे छलफल गर्नका लागि काठमाडौं गएका थिए । काठमाडौंबाट फर्केपछि आफ्नो अडानबाट पछि हट्दै चुमानले मुख्यमन्त्रीकै प्रस्तावलाई स्वीकार गरेका हुन् ।
मन्त्रालयको टुंगिए पनि कार्यक्षेत्र र कार्यविभाजन टुंग्याएर सोमबार साँझसम्म सपथ गराउने तयारी
मन्त्रालयको संख्यासहितको प्रस्ताव मुख्यमन्त्रीले तयार गरिसकेका छन् । निर्णय गर्नका लागि सोमबार मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । तर कार्यसूची भने मन्त्रीहरुलाई दिइएको छैन । सुरुमा ७ वटा रहेकामा पृथ्वीसुब्बा गुरुङले ११ मन्त्रालय बनाएका थिए । कृष्णचन्द्र नेपाली पोखरेलले एउटा थपेर १२ मन्त्रालय बनाएका थिए ।
कसरी हुन्छ भागबण्डा ?
कम्तीमा ४ मन्त्रालयको अडान राखेको नेकपा माओवादी केन्द्र अन्ततः २ मन्त्रालयमा सीमित हुने भएको छ । २०७४ को सरकारमा पनि माओवादीले २ मन्त्रालय मात्रै पाएको थियो । एमालेबाट ४ र राप्रपाबाट १ मन्त्री रहनेछन् । माओवादी, एमाले र राप्रपाबाट मुख्यमन्त्री बाहेक १÷१ जना मन्त्री नियुक्त भइसकेका छन् । अब एमालेबाट २ जना र माओवादीबाट १ जना मन्त्री थपिने छन् । मन्त्रालयको संख्या कम भएपछि माओवादीमा भागबण्डा मिलाउन समस्या देखिएको छ । ८ सदस्यीय माओवादीले सभामुख पाइसकेको छ । कृष्ण धिताल सभामुख बन्दा दलका नेता चुमानले मन्त्रीको सपथ खाएका छन् ।
नेपाल समाजवादी पार्टीका नेता फडिन्द्र देवकोटा पनि माओवादीकै चुनाव चिन्हबाट निर्वाचित भएका कारण उनले मन्त्रीमा दावी गरेका छन् । तर संख्या नै घटेको अवस्थामा उनले मन्त्रीको अवसर पाउने सम्भावना निकै कम छ । माओवादीबाट गोरखाकी सुशिला सिंखडा वा बागलुङकी कुसुम बुढा मन्त्री बन्ने सम्भावना अधिक छ । तर प्रत्यक्षतर्फ २ सिट जितेको म्याग्दीले पनि दाबी छोडेको छैन । राप्रपाको कोटाबाट दलका नेता पञ्चराम गुरुङ मन्त्री बनिसकेका छन् । एमालेले पाउने ४ मन्त्रालयमध्ये अधिकारी मुख्यमन्त्री बनेका छन् भने सीताकुमारी सुन्दास विना विभागीय मन्त्रीमा नियुक्त भएकी छिन् । बाँकी रहेको २ मन्त्रालयमा आँकलन गर्ने अवस्था छैन । यद्यपि मनाङ, मुस्ताङ, म्याग्दी र गोरखामा एमालेबाट सांसद छैनन् । मन्त्रीमा आकांक्षा देखाएका नवलपुरका रोशन गाहा थापालाई प्रमुख सचेतक बनाइएको छ । बागलुङले उपसभामुख पाएको छ । अब लमजुङ, तनहुँ र पर्वतले बाँकी पद पाउने सम्भावना छ । यद्यपि बागलुङका लीलबहादुर थापा मन्त्रीका प्रबल दाबेदार हुन् । पर्वतका मित्रलाल बस्याललाई पनि सम्भावित मन्त्रीका रुपमा हेरिएको छ ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१