मस्र्याङ्दीमा स्थानीय पाठ्यक्रम लागु

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७९
marsyandi gapa

लमजुङ । मस्र्याङ्दी गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु भएको छ । गाउँपालिकाभित्रका विद्यालयमा कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम लागु गरेको हो ।

पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्यक्रममा आधारित पठनपठन भइरहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनकाअनुसार स्थानीय पाठ्यक्रममा स्थानीय जातजाति, भाषा, संस्कृति, भौगोलिक अवस्था, खेलकुद तथा अतिरिक्त क्रियाकलाप, ऐतिहासिक तथा पर्यटकीय विषयवस्तु समेटिएको छ । नेपालको संविधान र गाउँपालिकाको शिक्षा ऐन तथा नियमावलीभित्र रहेर पाठ्यक्रम तयार गरी लागु गरिएको उनले बताए । गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘दीर्घकालीन रूपमा गुणस्तरीय शिक्षाका लागि स्थानीय पाठ्यक्रम लागु गरिएको हो, यसले सरकारले लिएको दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।’

गाउँपालिकाका विद्यालयमा लागु गर्न गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रम लागु भइरहेको गाउँपालिका शिक्षा शाखा प्रमुख राजीव सुवर्णकारले बताए । उनकाअनुसार पाठ्यक्रममा आधारित भई शिक्षकले अध्यापन गरिरहेका छन् । पाठ्यक्रममा क्षेत्रगत, भूगोल, संस्कार, संस्कृति, रहनसहन, प्राकृतिक तथा ऐतिहासिक स्थललगायतको विषयवस्तु समेटिएको छ । पाठ्यक्रम लागु भएपछि विद्यार्थीले स्थानीय विषयवस्तुको बारेमा राम्रो ज्ञान पाएका छन् ।

स्थानीय पाठ्यक्रमअनुसार पठनपाठन हुँदा स्थानीय क्षेत्रको सामाजिक, सांस्कृतिक मूल्य मान्यता, रीतिरिवाज, चालचलन, परम्परागत सीप, भूगोल, शिक्षा, स्वास्थ्य, पूर्वाधार, धार्मिक तथा ऐतिहासिक स्थलबारे विद्यार्थीलाई सानैदेखि जानकारी लिन पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए । उनकाअनुसार कलिलो उमेरमा स्थानीय समुदायबारे जानकार हुने अवसर पाएका छन् ।

उत्तरी क्षेत्रमा मनाङसँग सीमा जोडिएर रहेको मस्र्याङ्दीमा सामुदायिक र निजी गरी ५७ वटा विद्यालय रहेको उक्त पालिकाको शिक्षा शाखाले जनाएको छ । तीमध्ये २ आधारभूत तहका संस्थागत विद्यालय, ९ वटा मावि (कक्षा १०) तथा मावि (कक्षा १२ का) ८ वटा सामुदायिक विद्यालय छन् भने १ संस्थागत माध्यमिक विद्यालय रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै