बिटी कपमा आज क्वाटरफाइनल

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७८
BT Cup Day

पोखरा । १५ औं बिटी कप पाँचौ वीरेन स्मृति सेभेन ए साइड फुटबल प्रतियोगितामा शुक्रबारदेखि क्वाटरफाइनलका खेल हुने भएका छन् ।

पुरानो टुँडिखेलमा बिहीबार प्रिक्वाटरका खेल सकिएसँगै शुक्रबार क्वाटरको खेल हुने आयोजक बिटी क्लब अध्यक्ष विजया गुरुङले जानकारी दिइन् ।

उनका अनुसार बिहीबार पहिलो खेलबाट एयरपोर्ट क्लब विजयी भयो । उसले तारा एफसीलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको हो । दोस्रो खेलमा आयोजक टिमले मसिना एफसीलाई १–० गोल अन्तरले हरायो । जीतमा विश्वास श्रेष्ठले निर्णायक गोल गरे ।

तेस्रो खेलमा बि–१३ लाई लेकसाइडले टाइब्रेकरमा ३–१ गोल अन्तरले हरायो । अर्काे खेलमा शितलज्योती क्लबलाई हाम्रो एफसीले १–० गोल अन्तरले पराजित गर्‍यो । पाँचौ खेलमा मालेपाटन एफसीले मेरो नेपाललाई ३–१ गोल अन्तरले टाइब्रेकरमा पाखा लगाउँदा अर्को खेलमा करापुटारसँग स्याङ्जा एफसीले टाइब्रेकरमा ५–४ गोल अन्तरले खेल गुमायो ।

अन्तिम खेलमा रामघाटले हेमजा युनाइटेडलाई ३–१ गोल अन्तरले पाखा लगायो । रामघाटको जीतमा भीषण गुरुङले ह्याट्रिक गरे । हेमजाको तर्फबाट विशाल सुनारले गोल फर्काए । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

यसैबीच, आयोजकले भीमकाली क्लबलाई १ वर्षका लागि निलम्बित गरेको छ । हारिसकेको टोली सदस्य प्रिक्वाटरफाइनल खेलमा पुनः भिमकालीले खेलाएको भन्दै आयोजकले सो निर्णय गरेको हो । भीमकाली क्लबसँगै २ खेलाडी सुवास गुरुङ र खुशीमान गुरुङलाई २ वर्ष निलम्बित गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width