कास्कीको मादीमा लायन्सको नमुना गाउँ

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७८
lions ~acharya

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ नेपालको यो वर्षको मुख्य कार्यक्रम लायन्स उद्यमी नमुना गाउँ अभियान कास्कीबाट शुभारम्भ भएको छ । पूर्व गृहमन्त्री तथा संघीय सांसद खगराज अधिकारीको प्रमुख आतिथ्यतामा थाम, ल्हाम्जा–५ मादीमा लायन्स उद्यमी नमुना गाउँ उद्घाटन गरिएको हो ।
पूर्वमन्त्री अधिकारीले सामाजिक संस्था लायन्सले गरेका सेवा कार्यहरुको प्रसंशा गर्दै ल्हाम्जा–५ मादीमा नमुना उद्यमी गाउँ बनाउने लायन्सको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताए ।

उक्त अवसरमा डिस्ट्रिक्ट गभर्नर विश्वेश्वर आर्चायले लायन्सले हरेक वर्ष विभिन्न कार्यक्रमहरु गरिरहेको तर समुदायमा त्यसले सकरात्मक प्रभाव पार्न नसकेको अनुभूति गरेर दीगो विकासको केही कार्यक्रम गर्ने उद्देश्यले यो वर्ष १४ वटा जिल्लाको १४ गाउँमा नमुना उद्यमी गाउँ बनाउने योजना ल्याएको बताए । लायन्सले गर्ने नियमित सेवाका कार्यसँगै नमुना उद्यमी गाउँ बनाउने अभियानमा सहकार्य गर्न सबैलाई आग्रह समेत गरे ।

लायन्स मोडेल भिलेज कास्कीका प्रमुख तथा कार्यक्रम संयोजक टीकाराम सापकोटाका अनुसार उक्त गाउँमा लायन्सका सम्पूर्ण कार्यक्रम केन्द्रीत गरी, विभिन्न किसिमका तालिम, सिप सिकाउँदै कृषि र पर्यटनको प्रर्वद्धन गर्दै गाउँलेलाई उद्यमी बनाउने अभियानमा लायन्स लागेको बताए ।

लायन्स उद्यमी गाउँ उद्घाटन कार्यक्रमका अवसरमा डिस्ट्रिक्ट तथा विभिन्न संघ सस्थाबाट प्राप्त करिब ६ लाख बराबारको सामग्री पनि गाउँलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा भीष्म पौडेलको पहलमा नमस्ते सामुदायिक प्रतिष्ठानको तर्फबाट प्राप्त २ थान हाते ट्रयाक्टर, चितेपानी फाउन्डेसनको तर्फबाट टीकाराम सापकोटाको पहलमा प्राप्त राइस मिल–१ थान, लायन्स क्लब अफ पोखरा राइजिङ स्टारबाट प्राप्त डस्टबिनहरु तथा डिस्ट्रिक्टबाट प्राप्त वाटर फिल्टर, वाध्यवादनका सामग्री, खेलकुद सामग्री, फलफूलका बिरुवा (एभोकाडो कागती लगायत) का सामग्री हस्तान्तरण गरिएको डिस्ट्रिक्ट ३२५ बी १ नेपालका क्याबिनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागार्इंले बताए ।

कार्यक्रममा, गण्डकी प्रदेश सांसद मनबहादुर गुरुङ्ग, जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर अधिकारी, मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ, मादी गाउँपालिका ५ का अध्यक्ष रतनबहादुर गुरुङ, मादी गाउँपालिकाका जनप्रतिनिधि युवा नेता सरोज केसी, कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख शालिग्राम अधिकारी, थाम ल्हाम्जा आमा समूहका सचिव चन्द्रकुमारी गुरुङ, लायन्स डिस्ट्रिक्ट को चिफ एड्भाइजर धनीराम बराल, मोडेल भिलेज चिफ तथा कार्यक्रम संयोजक टीकाराम सापकोटा लागायतले शुभकामना मन्तव्य राखेका थिए । स्थानीय संघ संस्थाका प्रतिनिधि र लायन्स लिडरहरुको कार्यक्रममा उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width