पोखरा । पाँचौ पोखरा स्पोर्टस् अवार्ड २०७६/७७ मा नवीन रसाइली (कराते) र पार्वती गुरुङ (तेक्वान्दो) वर्ष खेलाडी घोषित भएका छन् ।
विश्व खेलकुद पत्रकार दिवस अवसरमा खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजित अवार्ड वितरण समारोहमा उनीहरुले जनही २ लाख प्राप्त गरेका छन् । उत्कृष्ट ३ को मनोनयनमा परेका अन्य खेलाडीलाई पछि पार्दै उनीहरुले उपाधि जितेका हुन् । यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डबाट केशव रञ्जित (आनन्द) लाई सम्मान गरियो । फुटबलमा लामो समय बिताएका रञ्जित अहिले पनि प्रशिक्षणमा सक्रिय छन् । पोखरा नदीपुर निवासी ६८ वर्षीय आनन्दले पोखराको फुटबल विकासमा ठूलो योगदान दिएका छन् । उनलाई ४० हजार बराबरको चाँदीको करुवा, ताम्रपत्र प्रदान गरियो । यसअघि लाइफटाइम अचिभमेन्ट अवार्डबाट कृष्ण थापा, प्राडा वीरेन्द्रसिंह गुरुङ, खड्गबहादुर रानाभाट र चित्रबहादुर गुरुङ सम्मानित भैसकेका छन् ।
कोरोना महामारीबीच पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअल रुपमा आयोजना गरिएको समारोहमा वर्ष उत्कृष्ट खेलाडी बन्न सफल नवीन रसाइली नेपाल प्रहरीमा कार्यरत छन् । २३ वर्षीय रसाइलीले सो विधामा टेबलटेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याललाई पछि पारेका हुन् । उनले १३ औं सागमा स्वर्ण पदक जितेका थिए ।
यस्तै, वर्ष उत्कृष्ट महिला विधामा उपाधि विजेता २६ वर्षीया पार्वती गुरुङको जन्म लमजुङमा भएको हो । सो विधामा साइक्लिङकी जमुना थापा र तेक्वान्दोकी प्रशंसा क्षेत्रीलाई पछि पारेकी हुन् । उनले १३ औं सागमा एक स्वर्ण र १ कास्य पदक जितेकी थिइन् ।
१४ वर्षीया दुवाना लामा (पौडी) उदीयमान खेलाडी घोषित भइन् । सो विधामा लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपीन खत्री समेत थिए । उनले १३ औं सागमा टिम रिलेमा ३ कास्य र एकलतर्फ २ रजत पदक जितेकी थिइन् । एकलतर्फ उनले २ सय मिटरको ब्रेस्टस्ट्रोक र बटरफ्लाईमा रजत जितेकी हुन् । ६ वर्षको हुँदा नै काठमाडौंमा एलए कपमा योङ्गेस्ट प्लेयर उपाधि जितेकी उनी निरन्तर पौडेरै दूरी घटाउनेतर्फ केन्द्रित बनिन् ।
वर्ष उत्कृष्ट प्रशिक्षक सुरेश मल्ल ठकुरी (बक्सिङ) घोषित भए । उनी २२ वर्षदेखि निरन्तर प्रशिक्षणमा छन् । प्रशिक्षकतर्फ उत्कृष्ट ३ मनोनयनमा पौडीका आनन्द कुँवर र फुटबलका किरण श्रेष्ठ थिए । उत्कृष्ट उदीयमान र प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरियो ।
लाइफटाइम अचिभमेन्ट अवार्डबाट आनन्द रञ्जितलाई सम्मान गरियो
मञ्चले प्रदान गर्ने वर्ष उत्कृष्ट पत्रकार अवार्डतर्फ नागरिक दैनिकका सन्देश श्रेष्ठ (वर्ष २०७६) र पोखरा स्पोर्टस् डटकमका केशव पाठक (वर्ष २०७७) सम्मानित भए । उनीहरुलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरियो । यस्तै, वर्ष उत्कृष्ट खेल संघबाट जिल्ला आर्चरी संघ कास्की सम्मानित भयो । सो वापतको पुरस्कार संघ अध्यक्ष योगेन्द्र शेरचनलाई हस्तान्तरण गरियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यमा भएको समारोहमा विजेतालाई प्रदेशका बिनाविभागीय मन्त्री राजीव गुरुङ, सांसद दीपक कोइराला, मीना गुरुङ, पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ, राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य राजेश गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव तेज गुरुङ, पत्रकार महासंघ केन्द्रीय सदस्यद्वय सरिता तिमिल्सिना पगेनी, त्रिभुवन पौडेल, पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराई, पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, मञ्च अध्यक्ष एकराज गिरी लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।
प्रमुख अतिथि मुख्यमन्त्री पोखरेलले खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित अवार्ड समारोहको महत्वबारे प्रकाश पार्दै सरकारले खेल क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा प्रदेश सरकारको साथ र सहयोग रहने पनि उनले बताए । राजनीतिक रुपमा प्रदेश सरकार परिवर्तन भएपनि अघिल्ला सरकारले गरेका खेलकुदका कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ थियो ।
मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्च महासचिव विजय नेपालले संस्थाको गतिविधिबारे प्रकाश पारेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष रञ्जन अधिकारीले गरेका थिए ।
सो अवसरमा हास्य कलाकार दीपक थापाले हास्य प्रहसन गरेका थिए भने नेपाल मुआथाई र क्यूकोसिन फुलकन्ट्याक्ट करातेका खेलाडीले डेमो प्रस्तुत गरेका थिए । साथै एसके डान्स म्यूजिक सेन्टरका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।
खेलाडी छनोटका लागि मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । जसको सदस्यमा केशव पाठक, दीननाथ बराल, सन्देश श्रेष्ठ, सुदर्शन रञ्जित तथा उत्कृष्ट पत्रकार छनोट समितिमा त्रिभुवन पौडेल, दीपेन्द्र श्रेष्ठ र विनोद लामिछाने एवं पदेनसदस्यमा मञ्च अध्यक्ष एकराज गिरी र महासचिव विजय नेपाल थिए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१