पोखरा । ‘बैंकमा चाबी बुझाउने अनि घर बस्नेभन्दा अर्को विकल्प छैन,’ उनले गुनासो पोखे, ‘अहिलेसम्म जे–जति दुखगरी किस्ता बुझाइयो अब सक्ने अवस्था छैन । ऋण पनि कसैले पत्याउँदैन ।’
यो गुनासो हो, चन्द्रबहादुर भण्डारी (३४) को । यातायात व्यवसायी उनी गाडीलाइनमा लागेको १७ वर्ष भैसकेको छ । उनको नाउँमा ३ गाडी पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिमा आबद्ध छन् । ३ गाडीको मासिक १ लाख ७० हजार किस्ताबन्दी बुझाउनुपर्दो रहेछ । कोरोना महामारीका कारण सरकारले जारी गरेको लकडाउनले सबै गाडी झन्डै २ महिनादेखि थन्किएका छन् ।
लाखौंको किस्ताबन्दी बुझाउन नसकेका व्यवसायीलाई ‘क्लोजिङ’ भन्दै बैंकबाट फोन आउन थालेपछि थप तनाव सुरु भएको छ ।
२ पोखरा–जोमसोम आउजाउ गर्छन् भने अर्को पोखरा भ्यालीभित्रै चल्छ । गाडीमा अहिले घिरौँलाको झाल फैलिएको बताउँदै उनले लकडाउन लम्बिदै गयो भने आफूहरु थप मारमा पर्ने गुनासो गरे । नेपालमा कोरोना महामारी सुरु भएको १५ महिनादेखि नै यातायात क्षेत्र निकै प्रभावित बनेको भण्डारीले बताए । गत वर्ष केही महिना कोरोना हटेजस्तो हुँदा पनि पोखरा–जोमसोमका लागि महिनामा एउटामात्र क्युमा सीमित हुनुपरेको उनले जानकारी दिए ।
यस्तै, पोखरा ७, अन्नपूर्ण टोलका तोयनाथ गौतम (४०) पनि यातायात व्यवसायी हुन् । उनको सम्पत्तिको नाउँमा ४ गाडी छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत नै चल्ने ती गाडी पोखराबाट काँकडभिट्टा, जोमसोम, दरबाङ र बागलुङ आउजाउ गर्छन् । घर नजिकैको खुला चौरमा पार्किङ गरिराखेको गाडी घरिघरि हेर्न गइरहन्छन् । ‘दिनरातभरि निद्रा पर्दैन । बैंकको व्याज कहिले तिर्ने हो ? चल्न नपाएको गाडी झन् बिग्रिँदै जाने भो,’ गौतम निराश बन्छन्, ‘पोहोर झैं टायर, इन्जिनको मोबिल, ब्याट्रीमा खराबी आउँछ ।’
१८ वर्षदेखि यस क्षेत्रमा आबद्ध गौतमका सबै ४ गाडी घामपानी खाँदै वरिपरि घाँसमा डुबेका छन् । यो सबै कोरोना महामारीका कारण उत्पन्न समस्या हो । महामारी नियन्त्रणका लागि देशभर डेढ महिनादेखि लकडाउन जारी छ । कास्कीमा पनि जिल्ला प्रशासन कार्यालयले गत वैशाख १५ देखि निषेधाज्ञा सुरु गरेकोमा असार ७ सम्म निषेधाज्ञा कायम छ । आदेश अनुसार अत्यावश्यकबाहेक निजी तथा सार्वजनिक यातायातका कुनै पनि सवारीसाधन चलाउन दिइएको छैन । यो अवस्था कहिलेसम्म जाने हो निधो छैन ।
‘कोरोनाको दोस्रो लहर सुरु भएसँगै हामीहरुलाई वैशाख लागेदेखि नै प्रभाव परेको थियो । लामो दूरीको यात्रामा मानिसहरु निस्कन कमी भैसकेको थियो । हत्तपत्त बस चढ्दैनथे,’ उनले भने, ‘पोहोरको लकडाउनले ढाड सेकेकोमा पछि बिस्तारै केही भइहाल्छ कि भन्ने आशामा फेरि ठूलो महामारी आयो भन्छन् । यतिखेर विषम परिस्थितिमा छौं । वर्णन गरिसाध्य छैन । हातमुख जोड्न पनि समस्या पारिसकेको छ ।’
गाडी खरिद गर्दा बैंकबाट लिएको ऋणको साँवा–व्याज तिर्नुपर्छ । ४ गाडीको गरी मासिक झण्डै २ लाख रुपैयाँ किस्ताबन्दी तिर्नुपर्नेमा अहिले तिर्न नसकेको गुनासो गरे । गत वर्ष बैंकले ६ महिना किस्ताबन्दी अवधि पछाडि सारेर सुहलियत दिए पनि पुनः अवस्था उस्तै दोहोरिएको गौतमले सुनाए । आर्थिक वर्ष ‘क्लोजिङ’ बेला भयो भन्दै बैंकबाट फोन आउन थालिसकेको उनले बताए ।
नेपालमा ठूलोमध्येको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीसँग हाल करिब १ हजार ४ सय गाडी आबद्ध छन् । पृथ्वीमा आबद्ध मात्रै हैन, देशभरका सबै गाडीधनीको अवस्था भण्डारी र गौतमको झैं मिल्दोजुल्दो छ ।
कोरोनाको दोस्रो लहर प्रभावमा परेको यातायात क्षेत्र कहिले सुध्रिने हो टुंगो छैन । उपाय के त ? कोरोना प्रभावित व्यवसायीको लागि सरकारले बजेटमात्र राहत प्याकेज नल्याएको हैन । तर सरकारको पुनर्कर्जाले आफूहरुलाई समस्या सम्बोधन नगर्ने भण्डारीको तर्क छ । भण्डारीले भने, ‘पुनर्कर्जा हामीहरुको लागि हैन । ठूला–ठूला व्यवसायको लागि होला । पुनर्कर्जा भनेपछि जसै व्याज बुझाउनु परिगो ।’ सबैभन्दा उत्तम उपाय बैंक तथा वित्तीय संस्थाले किस्ताबन्दी समय पछाडि धकेलेर हुन्छ कि छुट गरेर हुन्छ गर्नुपर्छ । यसको लागि संघ, प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने भण्डारीको सुझाव छ ।
गौतमले पनि एउटा उपाय सुझाएका छन् । उनी राज्य तहबाटै केही पोलिसी ल्याई व्याजदरमा अलि न्यूनतम दर तोकिए सहज हुने बताउँछन् । ‘किस्ताबन्दी पर धकेलेर र सारेरमात्रै समस्याको समाधान हुँदैन,’ उनी भन्छन् ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१