विद्यार्थी तान्न संगम माविको घरदैलो

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
Ghardailo_Photo_3

पोखरा । अन्नपूर्ण गाउँपालिका ६, चन्द्रकोटस्थित संगम माविले अभिभावक भेटघाट तथा घरदैलो अभियान सुरुआत गरेको छ । बर्सेनि विद्यार्थी घट्दै गएपछि विद्यालय व्यवस्थापन समितिले निर्णय नै गरेर अभिभावक भेटघाट तथा घरदैलो कार्यक्रम सञ्चालन गरेको हो ।

अभियानमा विव्यस पदाधिकारी, विद्यालयका शिक्षक एवं स्थानीय बुद्धिजीवी सहभागी थिए । टोल टोलमा पुगेका अभियानका सहभागीले अन्नपूर्ण ६ लुम्लेमा आगामी शैक्षिक सत्रदेखि विद्यालयमा सञ्चालन गरिने योजनाबारे जानकारी गराएका थिए ।

पूर्व विद्यार्थी मञ्च संगम माविका कोषाध्यक्ष आशबहादुर गुरुङले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि विगतमा जस्तै आगामी दिनमा पनि मञ्चको तर्फबाट आवश्यक सहयोग जारी रहने प्रतिबद्धता जनाए ।

२०२८ सालमा स्थापित उक्त विद्यालय विद्यार्थी संख्या कम भएकै कारण अस्तित्व जोगाउन मुश्किल भएपछि पूर्व विद्यार्थी मञ्च र संगम बचाऊ अभियान अंग्रेजी माध्यममा कक्षा सञ्चालन लगायतका २२ बुँदे योजनाका साथ अघि बढेको छ ।

विद्यालयमा ६ देखि १० सम्म जम्मा ५२ जना विद्यार्थीहरु छन् । तीमध्ये अधिकांश विद्यार्थी निम्न आय भएका दलित समुदायका छन्, जसका कारण विद्यार्थीहरु नियमित विद्यालय नआउने, बीचमै कक्षा छाड्ने जस्ता समस्या विद्यमान छन् ।

दिवा खाजा, जेहेन्दार छात्रवृत्ति, विद्यालय पोसाक एवं आवश्यक स्टेसनरी निशुल्क प्रबन्ध गर्न सके थप विद्यार्थी आकर्षित गरी शैक्षिक गुणस्तरसमेत बढाउन सकिने विश्वास गरिएको छ ।

अभिभावक भेटघाट तथा घरदैलो कार्यक्रम अझै केही दिन जारी रहने विद्यालयका सहायक प्रधानाध्यापक प्रेमप्रसाद चापागाईंले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width