म्याग्दीमा बाल मन्दिर विद्यालयको नयाँ भवन

साधन राम्जाली
पौष १९, २०७७
bal mandir myagdi

म्याग्दी । बेनी–८, कालिपुलस्थित बाल मन्दिर आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा, नगरपालिका र विद्यालयको आन्तरिक स्रोतबाट निर्माण भएको ४ सटरसहितको बहुउद्देश्यीय भवनको आइतबार मेयर हरिकुमार श्रेष्ठ, वडा ८ का अध्यक्ष रामकृष्ण बराइली र विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्रबहादुर महतले उद्घाटन गरे ।

विद्यालय व्यवस्थापन समिति पूर्वअध्यक्ष एवं मेयर श्रेष्ठले भौतिक पूर्वाधार निर्माणले विद्यालयको पठनपाठन तथा अध्यापनमा थप सहज हुनुका साथै शैक्षिक क्रियाकलापमा समेत सहज हुने बताए । उनले सामुदायिक विद्यालय सञ्चालन गर्न भौतिक पूर्वाधार र दरबन्दी अभाव मुख्य चुनौती भएको बताए । उनले स्थानीय तहलाई कक्षा १२ सम्म सञ्चालन जिम्मा भए पनि साझा अधिकार हुँदा समस्या भएको बताए ।

बेनी–८ का वडा सदस्य हिराबहादुर पुन, परोपकारी संस्था ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्य, विद्यालयका चन्दादाता सुरेन्द्रराज शर्मा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्रबहादुर महत र बेनी नगरपालिका शिक्षा अधिकृत अर्जुन पौडेलले सामुदायिक विद्यालयको गुणस्तर सुधार हुँदै गएको भन्दै आफ्ना बालबालिकालाई सामुदायिकमै पढाउन आह्वान गरे ।

प्रअ सुरेन्द्रप्रसाद केसीले आव २०७५÷०७६ मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाको २२ लाख ५५ हजार अनुदान र विद्यालयको आन्तरिक स्रोतबाट १ लाख ३० हजार गरी २४ लाख २९ हजार रुपैयाँ लागतमा भवन निर्माण भएको बताए ।

कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा २ सय ७ जना विद्यार्थी पढ्छन् । विद्यालयमा कक्षा ४ सम्म अंग्रेजी माध्यमबाट पढाइ हुन्छ ।

सोही अवसरमा विद्यालय व्यवस्थापन समिति एवं शिक्षक अभिभावक संघ पुनःर्गठन गरिएको छ । समितिमा नेत्रबहादुर महत, खिमबहादुर परियार,लक्ष्मी विक र टिका मिजार निर्वाचित भए ।

यस्तै, शिक्षक अभिभावक संघ अध्यक्षमा दिलमाया थापा, सदस्यमा नरदेवी रसाइली, कान्छीमाया तामाङ, धनकुमारी किसान, कुसुम विक, इन्द्रेनी पुन, राजकुमार विक र गौरीदेवी रिजाल चयन भए ।

Related News

सम्बन्धित समाचार

hero news full width