पोखरामा छतबाट हाम फाल्ने युवकलाई कोरोना नभएको पुष्टि

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७७
pcr

पोखरामा घरको छतबाट हाम फालेका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

भारतको कर्नाटकदेखि पोखरा आएका २१ वर्षीय ती युवकको पीसीआर टेष्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । नेपालको सोलुखुम्बु घर भएका ती युवक पोखरा ८ इन्द्रपुरी टोलमा बस्दै आएका थिए । उनी ३ महिना अघिमात्र कामको खोजीमा भारत गएका थिए ।

भारतबाट फर्किएपछि ती युवकमा कोरोना संक्रमण भएको हुन सक्ने त्रासले स्थानीयले प्रहरी गुहारेका थिए । मंगलबार उनलाई क्वारेन्टाइनमा राख्नका लागि उनी बस्ने स्थान पोखरा ८ मा प्रहरी सहित जनप्रतिनिधिको टोली पुग्दा ती युवक घरको छतबाट हाम फालेर भाग्न खोजेका थिए । उनको मंगलबार नै ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) नेगेटिभ आएकोमा भोलिपल्ट पीसीआर टेष्टको नतिजा आएको हो ।

गत १ मे तारिखमा भारतबाट हिडेका उनी विभिन्न गाडी फेर्र्दै ३ साता लगाएर पोखरा आएका हुन् । उनका अनुसार हैदरवादका पुलिसले उनलाई ट्रकमै हालेर नेपाल पठाएका थिए । नेपालको नाका छिर्ने बेलामा पुलिसलाई भारु ५ सय दिएपछि छिर्न पाएको जनप्रतिनिधिसँग स्वीकारेका थिए । उनले विभिन्न ठाउँमा स्वास्थ्य परीक्षण समेत गर्दैआएको दाबी गरेका छन् ।

गण्डकीमा हालसम्म ७ सय ५७ जनाको नमुना संकलन भएकोमा ७ सय २७ जनाको परीक्षणमा नेगेटिभ आएको छ । संक्रमित २ जना निको भइ घर फर्किसकेकोमा २८ जनाको नतिजा आउन बाँकी रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै, हालसम्म ६ हजार ७ सय १६ जनाको आरडीटी गरिएको छ । सबैको नतिजा नेगेटिभ छ ।

यसैबीच, पोखराको लेखनाथ लायन्स सामुदायिक अस्पताललाई प्रदेश मातहत ल्याउन क्षेत्रीय निर्देशनालयले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतसमक्ष तयार पारिएको प्रतिवेदन बुधबार हस्तान्तरण गरेका छन् ।
गण्डकीमा हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना ‘डेडिकेटेड’ अस्पतालको रुपमा प्रयोग गरिँदैआएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै