प्रधानमन्त्रीको आक्रोश

सम्पादक
असार १८, २०७६

१. प्रधानमन्त्री के.पी. ओलीले नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सव समारोहमा निगमप्रति आक्रोश पोख्दै अब सरकारले निगमको ऋण तिर्न काँध नथाप्ने बताए। पर्यटन मन्त्रालयकोसमेत जिम्मेवारी लिइरहेका प्रधानमन्त्रीले निगमको व्यवस्थापकीय कमजोरीप्रति पनि असन्तोष व्यक्त गरे।

२. प्रधानमन्त्री ओलीको आक्रोश र असन्तोष अहिले एउटा चर्चाको विषय भएको छ। उनले त्यसरी आक्रोश र असन्तुष्टि व्यक्त गर्दा कतिपयले खुशी मानेका छन्। केहीले धेरै पुल्पुल्याएर राखेपछि त्यसको परिणाम के हुन्छ भन्ने एउटा उदाहरण नेपाल वायु सेवा निगम भएको उल्लेख गरेका छन्।

३. नेपाल वायुसेवा निगममा भ्रष्टाचार भएको समाचार बराबर आउने गरेको थियो। त्यसको व्यवस्थापकीय कमजोरीका सम्बन्धमा पनि धेरै पत्रिकाका पन्ना भरिएका थिए। तैपनि सरकारले कहाँ के भइरहेछ भनेर एक पटक निगम भित्रका गतिविधि हेर्ने प्रयास गरेन।

४. चर्को हल्ला भएपछि प्रतिनिधि सभाको लेखा समितिले निगममा के भएको रहेछ भन्ने वास्तविकता बुझ्ने प्रयास गर्यो। समितिले साधारण कुरा जानेपछि त्यसको विस्तृत अध्ययन गर्न आवश्यक सम्झेर सांसद राजन के.सी. को संयोजकत्वमा एउटा उप समिति गठन गर्यो।

५. त्यो उप समितिले वाइडबडी जहाज खरिद प्रकरणमा व्यापक भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गर्यो तर सरकारले त्यो प्रतिवेदन मान्न तैयार भएन। त्यसको विपरीत प्रधानमन्त्रीले फलानाले भ्रष्टाचार गरेको छैन भन्दै त्यसबारे छानविन गर्न न्यायाधीशको संयोजकत्वमा छुट्टै समितिगठन गरेको घोषणा गर्यो। तर त्यो समिति अझै बनेको छैन।

६. निगमले चीनबाट ४ ओटा जहाज ल्यायो। आन्तरिक उडानको लागि ल्याएका ती जहाज पनि उडाउन सकिरहेको छैन। अन्तराष्ट्रिय उडानका लागि ल्याइएको वाइडबडी पनि अझसम्म नियमित उडान भर्न सकिरहेको छैन। निगमको यस्तो स्थितिमा प्रधानमन्त्रीको आक्रोशलाई अन्यथा मान्नु हुँदैन।

७. आक्रोश पोख्दैमा निगमको रोग निको हुँदैन। भ्रष्टाचाररुपी रोग निको पार्न लेखा समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्ने साहस देखाउनु पर्दछ। निगममा पहिले पनि भ्रष्टाचारका अनेक काण्ड भएका थिए। ठूल्ठूला राजनीतिक व्यक्तिहरु त्यसमा मुछिएका थिए। राजनीतिक व्यक्तिहरु मुछिएको देखेपछि त्यो केस सामसुम गर्ने अर्को ठूलो रोग पनि हामीकहाँ छ। यस्तै यस्तै रोगहरुबाट निगम ग्रस्त छ। त्यो रोग निवारणका लागि ठूलो अपरेशनको आवश्यकता छ। त्यो अपरेशन कसले गर्ने त्यो प्रश्न भने अनुत्तरित छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width