नेतालाई देशको भन्दा आफ्नै पार्टीको चिन्ता बढी

सम्पादक
चैत्र १४, २०७९

देशले उन्नति र विकास गर्न नसकेकोमा जतासुकै चासो र चिन्ता बढिरहेका छन् । जनताको त्यो चिन्ता बुझेर प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्री भएपछि जनतालाई आश्वस्त पार्दै भनेका थिए, ‘अब आफूले बोल्ने होइन, काम गरेर देखाउने हो ।’ उनले त्यो प्रतिबद्धता व्यक्त गरेको पनि ३ महिना बितेको छ । यस बीच न उनले कुनै दिन भाषण गर्न छोडेका छन्, न कुनै काम नै गरेका छन् । १६ वटा मन्त्रालय काखी च्यापेर उनले दिनहूँ लामो–लामो भाषण गरिरहेका छन् । जनतालाई अर्ती उपदेश दिइरहेका छन् । देश संकटतिर गइरहेको छ । तर राजनीतिक पार्टी र पार्टीका नेताहरू कहिल्यै त्यो संकटबारे विचार विमर्श गरेको देखिँदैनन् । उनीहरूलाई आफ्नै चिन्ता छ । आफ्नै पार्टीको चिन्ता छ । उनीहरू भनिरहेका छन् कि उनीहरूलाई मन्त्रिपरिषद्मा सम्मानजनक सिट चाहिन्छ, महत्वपूर्ण मन्त्रालय चाहिन्छ । गठबन्धनका पार्टीहरूको ध्यान सबै सरकारमा अड्किएको छ । तर सरकारले कहिले पूर्णता पाउँछ, त्यो भन्न सकिँदैन ।

निर्वाचनको बेला केही आशलाग्दो संकेत देखिएको थियो । नयाँ पार्टीहरू उदाएका थिए । नयाँ पार्टीले नयाँ विचार ल्याउने अपेक्षा गरिएको थियो । नयाँ पार्टीले राजनीतिमा र समाजमा देखिएको विकृति र विसंगति औंल्याउनेछन् र त्यसलाई हटाउन आन्दोलन गर्ने अनुमान गरिएको थियो । तर त्यस्तो विरोधको स्वर कतै सुनिएन । यत्तिसम्म कि प्रधानमन्त्री दाहाल लामो समय अनिर्णयको बन्दी भएर रहँदा सबै पार्टीहरू प्रधानमन्त्रीले आफ्नो पार्टीलाई १ सिट बढी दिन्छन् कि अलि महत्वपूर्ण मन्त्रालय दिन्छन् कि भनेर उनैको मुख ताकेर बसिरहेका छन् ।

सत्ताको लोभ भनेको अचम्मको विषय हो । यो कहिल्यै पूरा हुँदैन । हामीकहाँ धेरै पटक मन्त्री भएकाहरू छन्, प्रधानमन्त्री भएकाहरू छन् । तर तिनीहरूले कहिल्यै अब त मलाई पुग्यो भनेर भनेका छैनन् । सत्ताको अर्को विशेषता के पनि छ भने सत्ताको लोभ गरेपछि र सत्तामा पुगेपछि त्यसको क्रान्तिकारी हतियारमा खिया लाग्दै जान्छ र भुत्ते हुन्छ । सत्ताको स्वाद मीठो हुन्छ । त्यो स्वाद एक पटक चाखेपछि मानिस त्यसबाट टाढा जान सक्दैन । हाम्रो अधिकांश पार्टीहरू क्रान्तिको नामबाट जन्मेका छन् । तर ती पार्टीमा अहिले नियालौं भने क्रान्तिको अवशेष भेट्टाउन धेरै उत्खनन् गर्नुपर्ने अवस्था छ । देशमा धेरै राजनीतिक क्रान्ति भए तर त्यो क्रान्तिको भावनालाई निरन्तरता दिने प्रयास भएन । त्यसअनुसार सामाजिक परिवर्तन भएन । संस्कृतिको विकास भएन । जसको कारण परिवर्तनका संवाहकहरू पानीको फोका जसरी निस्कन त सक्छन् तर निरन्तर रहिरहन सक्ने अवस्था छैन ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width