सार्थक जीवनका परिचायक पं. नुरप्रसाद बास्तोला

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७२

आदरणीय गुरु नुरप्रसाद बास्तोला शास्त्रको तार्त्पर्य राम्ररी बुझेका विद्वान् शास्त्रवेत्ता, सत् र असत् छुट्याएर व्यवहार गर्ने, संस्कृत भाषाका विद्वान् शास्त्रज्ञ, निपूण कुशल, पुराण, वेद, चण्डी, अमरकोष, गीता, देवी भागवत् आदिका प्रखर वक्ता, हिन्दू धर्म संस्कारका अग्रणी सेवक विद्वान् पण्डित हुनु हुन्थ्यो। उहाँ वि.सं. १९८१ आश्विन शुक्ल पञ्चमीका दिन पोखरा-११, फूलबारीमा पिता त्रिलोचन र माता पूर्णी बास्तोलाका पुत्ररत्नका रूपमा यो धर्तीमा प्रवेश गर्नु भएको थियो। फूलबारीमा जन्मेका हुनाले आफ्नो जीवनलाई फूल जस्तै वास्नादार र हँसिलो बनाएर २०७२ साल माघ ७ गते परमधाम हुनु भयो। उहाँको भौतिक शरीर नष्ट भए पनि उहाँका सद् विचार र सामाजिक योगदानले गर्दा हाम्रा सामु ताजा र स्मरणीय रहिरहनु भएको छ। आज उहाँ ब्रहमलीन भएको पैतालिसौं दिनको पुण्य तिथि भएकोले उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शास्त्रले वर्णय गरे अनुसार पुनर्जन्म लिन नपर्ने ठाउँ वैकुण्ठवासको कामना गर्दछु र शोक सन्तप्त परिवारजनलाई यो दुःखद घटनाको सदैव सहन सक्ने क्षमता भगवान् पशुपतिनाथले प्रदान गरुन् भन्ने प्रार्थना गर्दै हार्दिक समवेदना प्रकट गर्दछु।

आदरणीय गुरुको आर्वा अमलाचौर निवासी गणपति बरालकी सुपुत्री धन कुमारी बरालसँग वि.सं. १९९४ मा शुभ विवाह सम्पन्न भएको थियो। बलराम, ओमराज र कृष्ण तीन भाइ छोरा र कल्पना एक छोरी जन्मेपछि वि.सं. २०४७ जेष्ठ १९ गते उहाँहरूका आमा स्र्वर्गे हुनु भएको थियो। आदरणीय पं. नुरप्रसाद बास्तोला जीवनको २५ वर्ष विधुर रहनु भयो। आफूले श्रीमती विहिनको पीडा भोगेर पनि आफ्ना सन्तानहरूको उचित पालन पोषण शिक्षा दिक्षाको राम्रो प्रबन्ध गर्नु भएकोले उहाँका पुत्र रत्नहरू क्रमशः शिक्षा, न्याय र पत्रकारिता सेवामा लागेर सेवा दिनु भएको र दिँदै आउनु भएको छ। सबै छोराहरू यथा पिता तथा पुत्रको रूपमा समाज सेवामा तल्लीन हुनुहुन्छ। जेठा छोरा बलराम शिक्षक सेवाबाट निवृत्त भई हाल शिवशक्ति उच्च माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष र माइला छोरा ओमराज न्याय सेवाका पूर्व कर्मचारी हुनुहुन्छ।

उहाँका कान्छा छोरा कृष्णप्रसाद बास्तोला मोफसलको प्रख्यात पत्रिका आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक, कवि साहित्यकार भएर नेपालको दोस्रो राजधानीको रूपमा चर्चित स्थान पेखराको प्रख्यात पत्रकार र साहित्यिक व्यक्तित्वको रूपमा समाजमा स्थापित हुनु भएको छ।

स्वर्गीय नुरप्रसाद बास्तोलाको जीवन पद्धतिबाट अत्यन्त प्रभावित भएर उहाँको स्वर्गारोहणमा विभिन्न व्यक्तिहरूबाट पत्रपत्रिकामा श्रद्धाञ्जली र समवेदना प्रकाशनका लहर चले। तेह्रौँ पुण्य तिथिमा विद्वान् अधिवक्ता एवम् साहित्यकार भूपनिधि पन्त, छन्द नायक साहित्यकार माधव वियोगी, प्रा.डा. यमबहादुर क्षेत्री, तरुण तपसी र विभिन्न व्यक्तिहरूले उहाँको जीवनीबारे प्रकाश पार्दे लेख लेख्नु भयो भने साहित्यकार डा. टुवराज शर्मा बास्तोला र लक्ष्मीशरण उपाध्याय जस्ता विद्वान्हरूले कविताको माध्यमबाट उहाँको जविनीबारे प्रकाश पार्नु भएको थियो।

पण्डित नुरप्रसाद बास्तोला शिक्षा प्रदान गर्ने व्यक्ति, शिक्षक, अध्यापक, गायत्री वेदमन्त्र आदि दिक्षा दिने व्यक्ति आचार्य, बुद्धि, बल, उमेर, विद्यामा सर्वश्रेष्ठ तथा आदरणीय पुज्य मान्य गुरु हुनु हुन्थ्यो भने उहाँका धर्मपत्नी धन कुमारी बास्तेाला सबैलाई अध्यापन गराउन गुरुलाई सहयोग गर्ने पुजनीय गुरुआमा हुनुहुन्थ्यो। विद्यार्थीहरूलाई सिधा र आवासको निःशुल्क व्यवस्था गरी पठन पाठन गराउने आश्रम गुरुकुल जस्तै थियो उहाँको गृह। उहाँहरू शिक्षित भएकोले उहाँका सन्तति पनि सबै शिक्षित छन्। उहाँको परिवार शिक्षित र शालीन परिवारको रूपमा समाजमा स्थापित भएको छ।

पण्डित नुरप्रसाद बास्तोला आध्यात्मिक र शिक्षाप्रेमी हुनुहुन्थ्यो। उहाँले विद्यालय र धार्मिक संस्थाहरू स्थापना गर्न योगदान दिनु भएको छ। पोखरा-१०, रामघाटमा रहेको गीता मन्दिर स्थापना गर्नमा उहाँको अमूल्य योगदान रहेकोछ। यो मन्दिर स्थापना गर्ने सर्न्दर्भमा आर्थिक सहयोग जुटाउन झरी बादल गर्मी जाडोको कुनै प्रवाह नगरी चौतारीमा बसेर एकादशी महात्म्य, भागवत पुराण, चतुरमास पुराण वाचन गरेर श्रद्धालु भक्तजनहरूबाट यथासक्य आर्थिक सहयोग जुटाएर गीता मन्दिर निर्माणमा अमूल्य योगदान गर्नु भयो। जुन मन्दिर अहिले नेपालमा मात्र होइन भारतमा समेत पोखराको गीता मन्दिर भनेर चर्चित छ। भारतीय तीर्थ यात्रीहरूको तीर्थ स्थलको रूपमा चिनिएको छ।

उहाँ दान लिने मात्र होइन दान दिने दानवीर पनि हुनुहुन्थ्यो। दानकै सिलसिलामा उहाँले आफ्नो नाममा कास्कीको शिशुवामा रहेको पाँच सय रोपनी जति जग्गा सुकुम्बासीलाई प्रदान गरेर तत्कालीन समाजमा रहेका भूमिहीन गरीबलाई भूमि प्रदान गर्नु भयो। यसबाट उहाँ समाजवादी व्यक्तित्व हुनुहुन्थ्यो भन्ने ज्वलन्त प्रमाण प्रस्तुत हुन्छ।

उहाँ पण्डित भए पनि आफ्नो पाण्डित्याइलाई जीवन जिउने पेशा नबनाई समाज सेवामा लगाउनु भयो। आफ्नो जीवन निर्वाहका लागि कृषि पेशा अपनाउनु भयो। उहाँ सच्चा कृषक हुनुहुन्थ्यो र अरूलाई पनि कृषिमा लाग्न प्रेरणा दिने मात्र होइन उदाहरण दिएर प्रस्तुत हुनुहुन्थ्यो। गाई, भैसी र गोरु पालेर दूध, दही, मही, घिउ, अन्न र सागसब्जी फलफूल तरकारी आफ्नै श्रम शक्ति लगाएर प्राङ्गारिक खाद्यान्न उत्पादन गरेर उपभोग गर्ने र अरूलाई पनि यसै अनुसार गर्ने सरसल्लाह दिनुहुन्थ्यो। उहाँ सादा जीवन र उच्च विचार शैलीका हुनुहुन्थ्यो। जीवनको पूर्वार्ध अति व्यस्त जीवन विताउनु भयो। उहाँ स्वावलम्बी हुनुहुन्थ्यो। यसको परिणाम उहाँ निरोगी हुनुहुन्थ्यो। शास्त्र अनुसार मानिसले पाएको सय वर्षको आयु मध्ये उहाँले एकानब्बे वर्षको दीर्घ जीवन यो धर्तीमा विताउनु भयो। जीवनको उत्तरार्धमा पनि उहाँ सक्रिय हुनुहुन्थ्यो। पोखरा बजारमा पैदल हिँडेर कहिले फूलबारी घर त कहिले आदर्श समाज राष्ट्रिय दैनिक पत्रिका रहेको कान्छा छोरा कृष्ण बास्तोलाको घर नयाँ सडक पोखरामा बस्नु भयो। यो क्रममा बाटोमा भेट्दा उहाँले बाबु आदर्श समाज पत्रिका पढ भनेर पत्रिका दिनु हुन्थ्यो। यो घटना आजै हो जस्तो लाग्छ तर आज उहाँ ब्रहृमलीन भएको पैतालीस दिन पुगेको छ।उहाँको देहावसान आदर्श   समाज राष्ट्रिय दैनिक कार्यालय परिसरमा कान्छा छोरा कृष्णप्रसाद बास्तोलाको घरमा भएको थियो। उहाँको यशस्वी शव पोखरा-९, शान्तिघाटमा दाह संस्कार गरिएको थियो। शव यात्रामा पोखराका समाजसेवी, साहित्यकार, पत्रकारहरूको उल्लेख्य संलग्नता थियो।

उहाँको भौतिक शरीर नष्ट भए पनि उहाँले हामीलाई शालीन उत्तराधिकार आफ्ना अमूल्य विचारहरू छोडेर जानु भएको छ। यस अर्थमा उहाँ अमर हुनुहुन्छ। उहाँको आफ्नो भौतिक शरीर जति वर्ष धर्तीमा रहृयो त्यति राम्रोसँग विताउनु भयो। यसमा उहाँका परिवारजनको अमूल्य योगदान रहृयो। पितृ उद्धारमा परिवारजनबाट कुनै कसर नराखी पितृ ऋणबाट मुक्ति पाएको अवस्था छ। यस्ता महान् व्यक्तित्वको विषयमा वर्णय गर्न हज्जार ज्रि्रा भएका शेषनागले त सक्दैन भने मैले सक्ने कुरा भएन। जे लेखे गुरुको सम्झनामा लेखें गलत भए क्षमा प्रार्थी छु। अन्त्यमा गुरूप्रति श्रद्धा सुमनको श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना अर्पण गर्दछु। राम नाम सत्य हो, शुभम्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै