विहङ्गम दृष्टिमा साहित्यिक यात्र

आदर्श समाज सम्वाददाता
असार १८, २०७३

मैले रामायण, महाभारत र श्रीमद्भागवद्गीता पढेको छु। यसरी संस्कृत साहित्यका ग्रन्थहरू पढ्दा त्यसका लेखकहरूसँग मेरो कुनै सम्बन्ध नै रहेन। नेपाली भाषा, साहित्यमा लेखनाथ, लक्ष्मीप्रसाद र बालकृष्ण समका कृतिहरू पढ्दा मैले ती साहित्यकारप्रति हृदयदेखि नै श्रद्धा-सुमन चढाएको थिएँ। यसपछि पाएसम्मका नेपाली र हिन्दीका साहित्य पढ्दा कहिले-कहिले लेखक र रचना साथसाथै सम्झनुपर्छ भन्ने बानी परेको थियो। कुनै पनि लेख, रचना पढ्दा यसरी पढ्नुपर्छ भन्ने मार्गर्दर्शनका किताबलाई मैले कहिल्यै पनि मान्यता दिन सकिनँ। साहित्यका अभिधा, लक्षणा र व्यञ्जना, गुण, रीति र अलंकार≤ रस र दोषतर्फ दृष्टि दिन थाल्यो भने आफ्नो भावना प्रवाहको गति रोकिन सक्छ भन्ने लागेर विषयवस्तुलाई आधार बनाई मैले लेखन क्षेत्रमा कलम चलाउन थालेको थिएँ। आज मेरो विचारसँग मिल्ने धेरै साहित्यिक मित्र मैले पाएको छु।

साहित्य सिर्जना गर्दा आवश्यक पर्ने विषयवस्तुहरू मुख्यत आफ्नै भावना र कल्पना हो। तर यसका निम्ति पनि बाहृय प्रकृति र भित्री मनस्थितिको तारतम्य मिलेको हुनुपर्छ। साहित्यकार वैज्ञानिकजस्तो आविष्कारक होइन। वैज्ञानिकका निम्ति कुनै प्रकारको भौतिक पदार्थ आवश्यक पर्दछ। तर साहित्यकार निर्जीवलाई सजीव र सजीवलाई निर्जीव बनाएर पनि आफ्नो यात्रा सम्पन्न गर्न सक्छ। महाकवि कालीदासले मेघदूतमा वन्दी यक्षको कल्पना गरी मेघलाई दूत बनाएर आफ्नी प्रियसीलाई  सन्देश पठाएको दसााका छन्। मेघजस्तो निर्जीव पदार्थलाई सजीवरुपमा साहित्यको पात्र बनाइएको यो विश्वको पहिलो काव्य मानिन्छ।

हाम्रो साहित्ययात्राको पहिलो चरणमा हामीले कुनै विषयको वर्णय गर्दा-‘एकादेशमा एउटा यस्तो व्यक्ति थियो’ भनेर सुरु गर्ने गरेका थियौँ। दन्त्यकथा, लोककथा र हितोपदेशका कथा यस्तै प्रकृतिका हुन्। तर आज मानव प्रकृतिसँग नमिल्ने तिलस्मी कथाहरूको कुनै महत्व देखिँदैन। आजका साहित्यिक कृतिले व्यक्ति विशेष वा स्थान विशेषसँग सम्बन्ध राखेकै हुनुपर्छ। जसले गर्दा पाठकलाई विश्वास दिलाउन सकोस्। सरुभक्तको ‘पागलवस्ती’मा स्थान काठमाडौंदेखि पोखरा एअरपोर्ट हुँदै स्याङ्जा र नाउडाँडासम्मको वास्ताविक चित्रण छ, तर त्यस उपन्यासका पात्रहरू भने प्रशान्तदेखि मार्थासम्म सबै काल्पनिक छन्। प्रेम सम्बन्धलाई माध्यम बनाएर काल्पनिक परिवेशमा रचना गरिएको उक्त उपन्यासमा काठमाडौंमा प्रशान्तको अग्रहलाई मार्थाले इन्कार गर्छे। नाउडाँडामा मार्थाको मनोभावनालाई प्रशान्तले वेवास्ता गर्छ। यसरी दुवै प्रमुख पात्रको अहम् भावमा ठेस लागेको यो उपन्यास देखान्त र सुखान्तभन्दा भिन्न निराशावादी उपन्यास हो। साहित्यमा सजीव प्रकृतिका पात्रहरू छैनन् भने जतिसुकै कल्पनाको जलप लगाए पनि त्यसले पाठकलाई प्रेरणा दिन सक्दैन।

प्राकृत पोखरामा मुकुन्दशरण उपाध्यायले विश्वको तुलनामा नेपाल र नेपालको तुलनामा प्राकृत पोखराको वर्णय गर्दै माछापुच्छ्रे, पाखापखेरा, शुक्लागण्डकी, सरोवर, कमलपोखरी र यहाँको प्रसिद्ध फल सुन्तलाको वर्णय गर्दै अन्त्यमा,

‘यात्रीझ् मिल्काऊ यो काव्य हेर्न आऊ स्वयम् छिटो

लेखेको पोखराभन्दा देखेको पोखरा मीठो’

भन्दै प्राकृत पोखरालाई समापन गरेपछि ‘पुनश्च’ भनेर फेरि यिनको विवाह हुन वाँकी छ भनेर भौतिक विवषयवस्तुको अपेक्षा गर्नुले प्राकृत पोखराको महत्व कायम रहनसक्छ – कहिलेकाँही सफल कविहरू पनि यसरी असफल हुने रहेछन्।

पोखरा हिजो र आजका विषयमा विश्व शाक्यले हिजोको पोखरा र आजको पोखरालाई फोटो चित्रणबाट तुलना गरेर देखाउने गरेका छन्। यो पनि एक प्रकारको साहित्य नै हो। यसभित्र कलाको सीप दर्शिएको पाइन्छ। यसमा आलोचना गर्ने ठाउँ छैन किनभने यो साहित्यको छुट्टै पाटो हो। यसै हप्ताको ‘नेपाल’ साप्ताहिकमा पोखराका एक जना स्रष्टा गनेस पौडेलले ‘पुरानो पोखरा’ शीर्षकमा आफनो संस्मरण लेखेको गद्य-लेखतर्फ मेरो दृष्टि पर्‍यो। मझेरीपाटन निवासी गनेस पौडेलले आफ्नो वाल्यकालदेखि युवावस्थासम्मको परिधिभित्रको पोखरा उपत्यकाको खेत, वारी, वस्ती र खोला ताल, नदी र त्यसभित्र आफूले विचरण गरेको, पौडी खेलेको, मुस्ताङबाट झरेका घोडा, खच्चड र गधाको सजीव चित्रण गरेका छन्। हिउँदको छुट्टीमा त्यस्तै घोड चढेर जोखिम मोलेको, भोटेले लखेटेको र आमा-बाबुले हप्काएर पिटेको सम्झना गर्दै खेताला हुँदा कुँडहर फाँटका सबैको आँठोकिलो चिनेको पनि बताएका छन्। त्यस वखतको त्यो फाँटमा आज कंक्रिटका महल बनेका छन्। फाँटको बीचबाट सवारी कुदेका छन्। लहलह धान फल्ने खेत मासिएको छ। तुलना गर्दा गनेस पौडेलकै संस्मरणको कुँडहर फाँट सुन्दर लाग्दछ। तर पौडी खेल्दा देखाएको कुराले त्यो लेखमा अश्लीलताको दोष देखिएको छ। त्यसलाई अर्कै शब्दमा प्रकट गर्न पनि नसकिने थिएन।

निर्मलपोखरीको एउटा माविको वाषिर्कोत्सवमा जाँदा एउटा पर्यटकीय होटलको अगाडि बनाइएको मचानबाट पोखरा उपत्यका हेर्दा सबै फाँटमा घरैघर बनेको र वरिपरिका पहाडमा मात्र हरियालीले घेरेको तथा उत्तरतर्फ हिमालय शृङ्खलालाई सराङ्कोटले हेरेको देख्दा लाग्यो पोखरामा अझै पनि साहित्यको विजारोपण गर्ने ठाउँहरू रहेछन्। अब नयाँ लेखकले साहित्य सृष्टि गर्दा प्रकृति र मानव रचनालाई साथसाथै लानुपर्छ कि ? यो मेरो निजी धारणा हो।

Related News

सम्बन्धित समाचार

hero news full width