मधुमेहको रोकथाम र उपचार

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७३

. परिचय

मानिसको रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी भइ  पिसाबबाट ग्लुकोजबाहिर निस्कासन भएको अवस्थालाई मधुमेह भनिन्छ। हामीले खाएको खाना टुक्रिएर ग्लुकोजमा परिवर्तन भई हामीलाइ चाहिने उर्जा प्राप्त हुन्छ। ग्लुकोजलाई उर्जामा परिवर्तन गराउन इन्सुलिन नामक हमोर्न आवश्यक पर्दछ। इन्सुलिन हाम्रो पेटनजिक रहेको प्याङ्क्रियाज भन्ने ग्रन्थीले उत्पादन गर्दछ। इन्सुलिनले ग्लुकोजलाई शरीरका कोषिकामा प्रवेश गरेपछि उर्जा उत्पादन भई काम गर्न योग्य बनाउँछ। मधुमेह भएमा ग्लुकोज कोषिकामा पस्न नसकी रगतमा नै रहिरहन्छ। रगतमा रहेको ग्लुकोजले शरीरका विभिन्न अंगलाई असर गर्नुका साथै पिसाबबाट शरीरबाहिर निष्कासन हुन थाल्दछ। यसरी इन्सुलिनको मात्रा शरीरमा कम उत्पादन भएमा वा इन्सुलिनले राम्रो कार्य गर्न नसकेमा रगतमा ग्लुकोजको मात्रा सामान्य अवस्थामा -खाली पेटमा रक्त परीक्षण गर्दा ७०-१३० एमजीप्रति डीएल र खाना खाएको १-२ घण्टापछाडि १८० एमजीप्रति डीएलभन्दा कम हुनु पर्दछ) त्यसभन्दा बढी देखिएमा त्यसै अवस्थालाई मधुमेह भनिन्छ।

सामान्य भाषामा चिनी रोग भनेर बुझिने यो समस्या दिन प्रतिदिन बढ्दै गएको छ। सन् २०१४ मा गरिएको एक सर्वेक्षणमा संसारमा मधुमेहीको संख्या ३८ करोड सत्तरी लाख रहेको र यही गतिमा नै रोगीको  सख्या बढ्दै गएमा सन् २०३५ सम्म पाँच करोड २० लाख पुग्ने अनुमान गरिएको छ। हाम्रो देशमा पनि तीव्र रुपमा मधुमेह भएका बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको छ। त्यसैले यसप्रति सचेत भइ समयमा नै नियन्त्रण एवम् उपचार गरी यसबाट हुन सक्ने जटिल स्वास्थ्य समस्या कम गर्न सकिन्छ।

मधुमेहका विभिन्न प्रकारमध्ये धेरै व्यक्तिलाई हुने मधुमेह दोस्रो प्रकारको हो। यो प्रकारको मधुमेह ४० वर्ष उमेर भएका व्यक्तिमा विस्तारै देखा पर्दछ। यस प्रकारको मधुमेह हुने सम्भावना भएका व्यक्तिमा वंशाणुगत वा नजिकको नातेदारमा दोस्रो प्रकारको मधुमेह भएका व्यक्ति, शारीरिक व्यायाम कम गर्ने, निस्क्रिय जीवनशैली भएका, नाइटोमा पेटको गोलाइ पुरुषमा ४० इञ्चभन्दा बढी र महिलामा ३५ इञ्चभन्दा बढी भएमा, मधुमेह भएको महिलाबाट जन्मिएको बच्चामा, तनावग्रस्त जीवनशैलीमा, उच्च रक्तचाप भएका व्यक्तिमा वा रगतमा चिनी र बोसोको मात्रा बढी भएका व्यक्तिमा मधुमेहको सम्भावना बढी हुने हुन्छ।

मधुमेह भइसकेपछि थकाइ लाग्ने, पिसाब धेरै पटक हुने, पिसाब फेरेको ठाउँमा कमिला लाग्ने, भोक बढी लाग्ने तर वजन कम हुँदै जाने, आँखा धमिलो देख्ने, चिडचिडापन बढ्ने आदि तत्काल देखा पर्ने लक्षण हुन्। समयमा नै नियन्त्रण र उपचार नभएमा शरीरमा दीर्घकालीन जटिल समस्या जस्तै, मृगौलाको कार्यक्षमतामा ह्रास आउने, आँखाको दृष्टि कमजोर हुने, उक्तचाप बढ्ने, स्मरण शक्तिमा ह्रास आउने, नसा/रक्तनलीमा समस्या उत्पन्न भइ खुट्टा नचल्ने, कहिलेकाँही काटेर फाल्नुपर्ने, बेहोस भइ मृत्यु हुने स्थिति पनि आउन सक्दछ। त्यसैले समयमा नै रोगप्रति सचेत भइ रोग नियन्त्रण र उपचार गराइहाल्नु पर्दछ।

. मधुमेहको रोकथाम र उपचार

मधुमेह रोगको रोकथाम, नियन्त्रण र उपचार उपयुक्त किसिमले गर्न सकेमा यसबाट हुनसक्ने जटिल समस्याबाट मुक्त हुन सकिन्छ। मधुमेह भएका व्यक्तिले ‘सो रोग लागिसकेपछि सन्चो हुँदैन तर यस रोगलाई नियन्त्रण गर्न सकिन्छ’ भन्ने बुझ्नु जरुरी छ। यस रोग नियन्त्रणका लागि सक्रिय जीवनशैली, व्यायाम, सन्तुलित भोजन नियमित गर्ने, गुलियो, चिल्लो, नुन बढी भएका पदार्थको कम प्रयोग गर्ने, मोटोपन घटाउने, तनावग्रस्त अवस्थामा नरहने, रक्तचाप नियन्त्रणमा राख्ने, हरियो सागपात, ताजा तरकारी फलफुलको बढी प्रयोग गर्ने, समय-समयमा स्वास्थ्य परीक्षण गर्ने गर्नुपर्दछ। यस रोगलाई नियन्त्रण गर्न व्यक्ति, परिवार, समाज, संघ-संस्था, क्लब, सञ्चारमाध्यम, शिक्षण संस्थाहरूले समेत सचेत गराउनु आवश्यक छ। मधुमेहलाई समयमा नै नियन्त्रण गर्न सकेमा यसबाट मानव स्वास्थ्यमा देखा पर्ने जटिल समस्यालाई कम गराउनुका साथै यो रोगको उपचारमा गर्नुपर्ने आर्थिक भारलाई कम गर्न सकिन्छ। मधुमेह भइ सकेपछि निको नहुने भएता पनि दोस्रो प्रकारको मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ। यसका लागि मधुमेह भएका व्यक्तिले निम्न चार पक्षमा ध्यान दिनु पर्दछ :

(क) सन्तुलित भोजन

मधुमेह भएका व्यक्तिले सन्तुलित र ताजा खाद्य पदार्थ निश्चित मात्रामा निश्चित समयमा खाने गर्नुपर्दछ। शरीरका लागि आवश्यक हुने सम्पूर्ण प्रकारका खाद्य तत्व समावेश गरी दिनमा तीन चार पटक, तीन-चार घण्टाको फरकमा खाना खाने गर्नुपर्दछ। नुनको मात्रा, चिल्लो पदार्थ, काबोर्हाइड्रेट युक्त खाना कम खानुपर्दछ।

अ) मधुमेह भएका व्यक्तिले खान हुने खाद्य पदार्थ :-

गहुँको रोटी, कर्न फलेक्स, जौ/मकैको चिउरा, सातु, मकै फापर, पाउरोटी, सख्खरखण्ड, उसिनेको चामलको भात आदि एक वा दुइ पदार्थ एक पटकमा खाने गर्नु पर्दछ। सनफ्लवारको तेल, ओलिभको तेल, काजु, ओखर, बदाम, दाल, अण्डा, चिल्लो नभएको दूध, दही, मही, बोसो नभएको मासु, माछा, मौसम अनुसार उपलब्ध हुने हरियो सागपात, तरकारी फलफूलहरू मुला काँक्रो, गाजर, कुरिलो, अमिलो अचार चिया, कफी आदि सुन्तला, मेवा, केरा, नसपति आदि एक पटकमा एक-एक वटा खान सकिन्छ। तरकारी, माछा, मासु उसिनेर खाएमा राम्रो हुन्छ। साथै, दैनिक दुर्इदेखि तीन लिटरसम्म पानी पिउने गर्नुपर्दछ।

आ) मधुमेह भएका व्यक्तिले खान नहुने खाद्य पदार्थ :-

बोसो, घ्यु, चिल्लो बढी हुने खाद्य पदार्थ पकौडा, पुरी, समोसा, तारेका तरकारी, चिनी, मिश्री, जाम, मह, चकलेट, सर्बत, केक, क्रिम भएका बिस्कुटहरू, चिसोपेय पदार्थ (कोकाकोला फेन्टा), हर्लिक्स, वर्नभिटा, मिठाइ जेरी, हलुवाजस्ता गुलिया पदार्थ खानु हुँदैन।

-ख) शारीरिक व्यायाम गर्ने

मधुमेह भएका व्यक्तिले शरीरलाई सक्रिय राख्नुपर्दछ। बिहान-बेलुका दैनिक आधादेखि एक घण्टासम्म हिड्ने, घर, बारी बगैँचाका काम गर्ने, योगाशन गर्ने, साइकल चलाउने, हलुका खेल, पौडी खेल्नु लाभदायक हुन्छ।

-ग) औषधीको प्रयोग

मधुमेह भइसकेपछि चिकित्सकको सल्लाह अनुसार निश्चित समयमा निश्चित मात्रामा औषधी वा इन्सुलिन सुइको प्रयोग गर्नुपर्दछ। साथै, खाना खाने र औषधी खाने समय चिकित्सकको परामर्श अनुसार मिलाउनु पर्दछ। यो रोगको उपचार जीवनभर गर्नुपर्ने भएकाले धैर्यतामा साथ औषधी उपचार, व्यायाम, भोजन मिलाउन सकेमा यसबाट हुन सक्ने जटिल समस्याबाट मुक्त भइ दीर्घ जीवन बिताउन सकिन्छ।

-घ) नियमित स्वास्थ्य परीक्षण

स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त गर्नका लागि नियमित स्वास्थ्य परीक्षण गराइ राख्नुपर्दछ। समयमा नै स्वास्थ्य स्थिति पत्ता लगाई यसबाट हुन सक्ने गम्भीर समस्यालाई हटाउन सकिन्छ। मधुमेह भएका व्यक्तिले औषधी वा इन्सुलिनको सुइ लगाइरहेको अवस्थामा नियमित रुपमा रगतमा ग्लुकोजको मात्रा, एचविएवानसी परीक्षण, रक्तचाप, पेटको गोलाइको जाँच गरी राख्नुपर्दछ। त्यस्तै हरेक वर्ष रगतमा बोसो, प्रोटिनको मात्रा, आँखा , मुटु, मृगौला, नसाको जाँच गराइ यसबाट हुनसक्ने जटिल समस्यालाई समयमा नै नियन्त्रण गर्न सकिन्छ।

मधुमेह भएका व्यक्तिहरूलाई रगतमा ग्लुकोजको मात्रा बढ्नेमात्रै होइन, कहिलेकाँही ग्लुकोजको मात्रा सामान्यभन्दा धेरै कम भइ बिरामीमा चिटचिट पसिना आउने, छटपटी हुने, मुटुको धड्कन बढ्ने, बेहोस अवस्थामा जान खोजेमा तुरुन्तै पानी र केही गुलियो पदार्थ खुवाउनुपर्दछ। त्यसैले मधुमेह भएका बिरामीले गुलियो चकलेट साथ लिएर हिड्ने र यस्ता लक्षण देखा पर्नासाथ खाइहाल्नु पर्दछ। कहिलेकाँही ग्लुकोजको मात्रा रगतमा अत्यधिक बढेमा मुख सुक्ने, पिसाब लगातार लाग्ने, आँखा धमिलो देखिने, बेहोस होलाजस्तो भएमा तुरुन्तै अस्पताल लैजानुपर्दछ। मधुमेह भएका व्यक्तिले साथमा ‘म मधुमेह भएको व्यक्ति हुँ, कही बेहोस अवस्थामा भेट्नु भएमा अस्पताल पुžयाइ निम्न ठेगानामा खबर गरिदिनु होला’ भनी नाम, ठेगाना, सर्म्पर्क नम्बर साथमा लिइ हिड्नुपर्दछ।

यस रोग भएका बिरामीलाई आफ्नो रोगबारे पर्याप्त ज्ञानको अभाव हुनु, जीवनभर उपचार गरिरहनु पर्ने अवस्था, खर्चिलो उपचार पद्धति आदिले गर्दा समयमा नै उपचार हुन नसक्दा जटिल स्वास्थ्य समस्या उत्पन्न भइ झन् बढी दुःख र खर्च गर्नु परिरहेको अवस्था छ। त्यसैले यसलाई नियन्त्रण गर्न नेपाल सरकारका स्वास्थ्यसँग सम्बन्धित निकाय, वडा, गाविस, नगरपालिका, सरकारी, गैरसरकारी संघ, संस्था, आयुर्वेद चिकित्सालय, शिक्षण संस्था आदिद्वारा मधुमेहसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। यसबाट हुने जटिल समस्याबाट धनजनको क्षति हुनबाट बचाउन नेपाल सरकार, प्राइभेट अस्पताल, स्वास्थ्य निकाय, क्लिनिकहरूमा पनि निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गरिनु नितान्त आवश्यक छ। सबै मिली व्यक्ति, समाज र राष्ट्रमा मधुमेहसम्बन्धी चेतना दिऊँ, सक्रिय जीवन शैलीको विकास गरै’ सन्तुलित भोजन ग्रहण गर्ने बानी गरौँ, समयमा नै उचित औषधी। उपचार गरौ, यसबाट हुन सक्ने जटिल स्वास्थ्य समस्याबाट बचौँ, बचाऔं।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै