भिजन

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७०

हामी विकेन्द्रवादी दर्शनको लोकतान्त्रिक किल्प खोज्दै छौं। नेतृत्व मन मनै युटोपिया (आदर्श लोक) रच्नमै व्यस्त छ। नैतिक समग्रता खण्डित हुँदै छ। सभ्यता यस्तो एउटा स्वचालित यन्त्रवत गतिमा छ जसमा जीवन संवेदना कुल्चिइएका छन्। धर्म, कानून, अर्थव्यवस्था, प्रविधि, राज्य र संस्कृति पनि आ-आफ्नो स्तरमा शक्ति केन्द्रको शिकार भएका छन्। यस तरह नेपाली समाज एक यस्तो ढाँचाको अधीन छ, जसको भित्री रूपमा अनेक उपकेन्द्रीय शक्तिको संयोजन रहेको छ।

देश प्रकृतिले भरपुर सिँगारिएको छ। यत्रतत्र अनगिन्ती पानीका मुहानहरू छन्। कति अमूल्य खनिजपदार्थहरू छोपिएका होलान्। रोजगारको अभावमा होनहार जनशक्ति दिनप्रतिदिन विदेशिएका छन्। हजारौं अनाथ र अशक्तहरू औषधिमूलोको अभावमा जीवन गुमाइरहेका छन्। अवसरवादीको बिगबिगी बढिरहेछ। बदमासी, बेइमानी, होहल्ला, झैझगडा, रुवावासी, धाकधक्कु, भाषा र जातीयताको राजनीतिले समाजमा दह्रो उपस्थिति जनाएको छ। मजदुरलाई एक दिनको कमाइले त्यसै दिनको छाक पनि टर्दैन। सफा पानी, नियमित बिजुली र व्यवस्थित बजार भाउ अनुभव गर्नै पाउँदैनन्, जनताले। अस्थिर राजनीतिले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि ब्रि्रदै गएको आभास हुन्छ। यसै परिप्रेक्ष्यमा हामीलाई दूरदृष्टि (भिजन) वाला नेताको उपस्थिति खट्किएको छ; प्रेरणा दिन सक्ने, भरोसा दिन सक्ने व्यक्तित्वको।

हिजोआज सभा, कचहरी, सम्मेलन, गोष्ठी र साधारण छलफलमा पनि भिजन शब्दको व्यापक प्रयोग भएको सुनिन्छ तर यो शब्दको वस्तुगत तार्त्पर्य के हो – किन हामीसँग भिजन भएन भन्ने कुराको छिनोफानो भने अझै भइसकेको छैन। सरसर्ती हेर्दा भिजन, सोच, विचार, दृष्टिकोण, चातुर्यपूर्ण (ट्याक्टिकल), सामरिक सोच आदि विषयलाई एउटै डालोमा राखेर आ-आफ्नो अनुकूलतामा भाषिक प्रयोग हुने गरेको पाइन्छ। वास्तवमा भन्नु पर्दा यहाँनेर हामी अलमल्लमा परेका छौं।

महत्वाकांक्षा र भिजन देख्दा उस्ता उस्तै भए पनि फराकिलो मनले बुझदा यसमा आकाश जमिनको फरक पाइन्छ। महत्वाकांक्षा केवल देशले गरेको प्रगति प्राप्त गर्ने लक्ष्य हो भने भिजन दुनिया कसरी असल बन्न सक्दछ भन्ने सोचाइ हो। भिजन बौद्धिक ज्वार हो, सोच अथवा चिन्तन भने कुनै विषयमा मग्न हुने काम हो। भिजन-लक्षण, कारण र समाधानको सिंहावलोकन हो। विश्वमा के गर्न सकिन्छ भन्ने सोचाइ भिजन हो भने विश्वको सुख कसरी प्राप्त गर्न सकिन्छ भन्ने खोज महत्वाकांक्षा (एम्बिसन) हो।

आफ्नो अनुकूलताको जागरण र भिजन बिलकुल फरक कुरा हो। एउटा महान् दृष्टिकोणका साथ सामाजिक भविष्यका लागि मनमा एउटा अद्भूत तस्वीर बनाउन सक्ने क्षमता नै भिजन हो। विश्वमा के गर्न सकिन्छ ? भिजन र विश्वको सुखद प्राप्ति कसरी गर्न सकिन्छ- एम्बिसन। हामी कहाँ जान चाहन्छौं — भिजन, हामी भइरहेको सुखद संसारबाट के चाहन्छौं ?- आकांक्षा। छोटकरीमा भन्दा अपरिधीय दृष्टि, अन्तर्बुद्धि, मस्तिष्कमा एउटा उज्ज्वल आकृति पैदा गर्न सक्ने क्षमता नै भिजन हो, कुशल दृष्टिकोण। हामी कहाँ जान चाहन्छौं – भिजन, हामी के गर्न चाहन्छौं ? उद्देश्य अथवा मिशन। मिशनको मूल रूपबाट कस्तो भविष्य सिर्जना हुन्छ भन्ने आँकलन नै भिजन हो।

भिजनको शास्त्रीय बुझाइमा मन, बुद्धि, चित्त र अहंकारको जोडलाई अन्तस्करण भन्ने गरिन्छ। अहिले यस विषयमा चर्चा नगरौं। भेषज विज्ञानको बुझाइमा दृष्टि भन्ने आउँछ। यस विज्ञानमा केन्द्रीय दृष्टिकोणलाई महत्व दिएको हुन्छ। परिधीय दृष्टि त जीवित प्राणीमा फरक फरक हुन्छ। मानिसले एउटा आँखाको १५० ड्रि्री र दुवै आँखाको क्षमता १८० ड्रि्रीसम्म परिधीय दृष्टि क्षमता राखेको हुन्छ भने चमेराका आँखा ठूला ठूला भए पनि देख्दैन। कुन चीज हो भन्ने थाहा पाउन चमेराले आफ्नो आवाज प्रयोग गर्दछ। आवाज फर्किएर आफूकहाँ आएपछि त्यो चीज के रहेछ भनेर थाहा पाउँछ। यस्तो भिजन समाजका लागि पक्कै हितकर हुँदैन। त्यस्तै अस्ट्रेलियाको रातो कङ्गारुको एकैचोटी चारैतिर हेर्न मिल्ने ३६० ड्रि्री परिधीय दृष्टि हुन्छ। यो दृष्टि त उसलाई जीवनरक्षाका लागि प्रकृतिले दिएको वरदान हो, यो त्यही जनावरलाई मात्र काम लाग्छ।

समाजलाई, देशलाई, विश्वलाई चाहिने त दृष्टि-तीक्ष्णता हो, भिजन हो। अगुवा वा नेताको दृष्टि क्षेत्र (भिज्युअल एक्युरिटी) त जनताले पहिचान गर्दछन्। नेताको दृष्टि क्षमताको पेरिमेट्री गर्नुपर्दछ, यो जनताले गर्दछन्, पेरिमिटर त नेताका क्रियाकलाप हुन्, कामका असरहरू हुन्। टनेल भिजन भएको नेता आवश्यक छैन।

विश्वमा सूर्य सधैं नियमित उदाउँछन्, पारखीले बिस्कुन सुकाउँछन्। कोही भने सधैं त्यही अँध्यारो सुरुङमा हराउँछन्। एक जना अमेरिकी लेखक जोहन म्याक्सवेलले भनेका छन्- “एउटा महान नेतामा आफ्नो भिजन पूरा गर्ने साहस जोशबाट आउाछ, पद्वीबाट होइन।” यही भनाइलाई सार्थक रूप दिएको छ सिङ्गापुरको इतिहासले। सन् २०१२ को आँकडाअनुसार जम्मा ५३,१२,४०० जनसङ्ख्या, २७४ वर्गमाइल क्षेत्रफल, ६३ टापुहरूको समूहलाई सहरै सहरको देश (सिटी स्टेट) भन्ने गरिन्छ। सन् १९६५ मा मलेसियासित फुटेर स्वतन्त्र रूपमा गठन भएको यो देशमा खास उब्जनी हुने खालको जमिन पनि थिएन। धेरैजसो मुसलधारे वषा हुने, उब्जाउ नहुने एक प्रकारले फालिएको यो क्षेत्रले लि क्वान् यु नाम गरेका एक जना नेताको नेतृत्व पायो। उनमा भिजन थियो, दूरदृष्टि थियो, लागिपरे, सिङ्गापुरलाई बनाइछाडे। यो देशलाई बनाउन लिले के मात्र गरेनन् – भूमिसुधार गरे, जमिन चक्ला बनाए, हरियाली सहर बनाउन नमुना र बिरुवा खोज्दै आफै देशपरदेश चाहारे, शिक्षाको स्तर वृद्धि गरे, प्रतिव्यक्ति आय बढाए, अहिले विश्वमा आयको दृष्टिले तेस्रो स्थानमा छ। यस देशमा अङ्ग्रेजी, तामिल, मलय र चिनियाँ भाषा बोलिन्छ। विश्वका पाँच व्यस्त बन्दरगाहमध्ये एक यस देशमा छ। रबर निर्यातका लागि एक विश्वकेन्द्र जलसंयोगी भूभाग, एसियानको संस्थापक सदस्य पनि हो। चार एसियाली बाघ (हङ्कङ, दक्षिण कोरिया, ताइवान र सिङ्गापुर) मध्ये सिङ्गापुर एक हो। यी सबैको श्रेय लिलाई जान्छ। उनमा भिजन थियो, प्रयोग भयो। सन् २०११ मा उनले सक्रिय राजनीतिबाट अवकाश लिए पनि सिङ्गापुरमा उनलाई ‘फादर अफ सिङ्गापुर’ भनेर पुकारिन्छ। कुनै पनि देशको उन्नतिका लागि लि जस्तो नेतृत्वको आवश्यकता पर्दे रहेछ।

बिल गेटको माइक्रोसफ्ट सबैको घरघरको प्रिय वस्तु हुन्छ भन्ने विचार थिएन, यो संयोग र सोच हो। त्यस्तै सन् २००८ मा ओबामाले भनेको ‘होप एण्ड चेन्ज’ त प्रतिज्ञा मात्र हो, भिजन होइन। भिजन त एसियामै छ, चीनमा। केही दिन अगाडि भएको ब्राजिल सम्मेलनमा एक जना वक्ताले रहस्योद्घाटन गरिदिए चिनियाँ भिजनको। पर्यावरण, सौर्य शक्तिको प्रयोग, हावाबाट चल्ने मेसिन, प्रौद्योगिकी क्षेत्रमा अहिले विश्वनेता भएको छ चीन। स्थायी सहर निर्माण, पर्यावरणीय ध्वनिरहित परिवहन प्रणालीमा विकास ब्याट्री-विज्ञान र स्वस्थ वातावरणीय यातायात सेवा आदिले गर्दा यो देश अहिले तीव्र प्रगतिको शिखरमा छ। यस्तै भिजन हाम्रो देशले खोजेको छ। यतिखेर भिजन रोज्ने मौका आएको छ, कोसँग छ त्यो भिजन∕

Related News

सम्बन्धित समाचार

hero news full width