भानुभक्त आचार्य र उनको प्रश्नोत्तर कविता

आदर्श समाज सम्वाददाता
असार ११, २०७३

नेपाली साहित्यको जग बसाउने अर्थात् प्राथमिक कालका विशिष्ट प्रतिभा भानुभक्त आचार्यको जन्म विस १८७१ असार २९ गते आइतबारका दिन गण्डकी अञ्चलको तनहुँ जिल्लाको रमाइलो गाउँ चुँदी, रम्घामा भएको हो। उनका पिताको नाम धनञ्जय आचार्य र माताको नाम धर्मावती आचार्य हो। कवि भानुभक्तले प्राथमिककालीन भक्ति साहित्यमा रामभक्ति धारामा ठूलो योगदान दिएका छन्। जुन वेला व्याकरण गर्भमा थियो। त्यसैखवेला यिनले नेपाली साहित्यको थालनी गर्ने साहस गरेका हुन्। साच्चै भन्नुपर्दा पहराबाट खेतमा सिंचाइ गर्नका लागि कुलो खन्न जति गाह्रो हुन्छ त्योभन्दा गाह्रो काम साहित्यको आरम्भमा कलम चलाउँदा उनलाई भएको अनुभूति गर्न सकिन्छ। संस्कृत अध्यात्म रामायणबाट नेपालीमा अनुवादित उनको रामायण यस धाराको महत्त्वपूर्ण कृति हो। संस्कृत भाषाका प्रकाण्ड विद्वान् वाजे श्रीकृष्ण आचार्यको प्रभावमा साधारण शिक्षा हासिल गरेका कवि भानुभक्तलाई नेपाली वाल्मीकि पनि भनिन्छ। अनुवादित भए पनि उनको रामायणमा काव्यमा हुनुपर्ने तीन गुण जस्तैः लालित्य, सरलता तथा विचारको मिठास पाइन्छ। साथै उनका कवितामा वेदान्त आध्यात्मिक चेतना, नैतिक र औपदेशिक स्वर तथा सामाजिक हाँस्यव्यङ्ग्य चेत पनि पाइन्छन्। तसर्थ हामी उनलाई नेपाली भाषाका आदिकवि अर्थात् प्रथम कविका रूपमा स्वीकार्दछौं। रामायणबाहेक उनका रामगीता, भक्तमाला, बधु शिक्षा र प्रश्नोत्तरी कृति पनि छन्। यसका साथै उनका अन्य फुटकर रचना पनि ज्यादै महत्त्वपूर्ण मानिन्छन्। यी फुटकर कविताले उनलाई आँसु कवि र हास्यव्यङ्ग्य कविका रूपमा पनि प्रतिष्ठित गरेको पाइन्छ। उदाहरणका लागि उनको एक टुक्रा कविता प्रस्तुत गरिन्छः

रोज रोज दर्शन पाउँछु चरणको ताप् छैन मन्मा कछु

रात्भ नाच् पनि हेर्र्छ खर्च नगरी ठूला चयन्मा मछु

लाम्खुट्टे उपियाँ उडुस्र् इ सँगी छन् यिन्कै लहड्मा बसी

लाम्खुट्टेहरू गाउँछन्र् इ उपियाँ नाँच्छन् म हेर्र्छुुबसी।।

जसरी पृथ्वीनारायण शाहले टुक्रिएको नेपाललाई एकीकरण गरेर विशाल राष्ट्र बनाए। त्यसरी नै कवि भानुभक्तले छरिएर रहेको नेपाली भाषालाई एकीकरण गरे। उनको देहान्त वि.सं. १९२५ मा भएको हो। उनी यस संसारमा नभए पनि नेपाली भाषाप्रति अघात माया र अपूर्व सेवा गरेवापत नेपाली साहित्य संसारले उनलाई कहिल्यै बिसर्ने छैन। उनको शालिक नेपालमा मात्र होइन विश्वमा समेत निर्माण हुने र हरेक वर्ष असार २९ गते उनको जन्मजयन्ती मनाउने गरिएको छ। उनको नाममा सरकारले हुलाक टिकट प्रकाशन गरेर सम्मान गरेको छ। उनैका नामबाट विभिन्न राजमार्गको नामाकरण गरेको छ तर पनि हामी भानुभक्तलाई पढेर आज उनैलाई बिसर्न खोजेका छौं किनभने नेपाली भाषालाई अहिले राष्ट्रभाषाको रूपमा नमान्ने र उनका शालिकसमेत तोड्न खोज्ने उदण्डता हामीमा देखा पर्न थालेको छ। मलाई लाग्न नेपाली भएर नेपाली भाषालाई घृणा गर्नु दुःखद् कुरा हो। यस्तो गर्नु आफ्नै आमाको काखमा लात हान्नु हो। अब म तिनै नेपाली साहित्यका अमूल्य रत्न आदिकवि भानुभक्त आचार्यद्वारा लिखित प्रश्नोत्तर कविताको संक्षिप्त चर्चा यस आलेखमा गर्ने जमर्को गर्दछु।

उक्त कवितामार्फत् कवि भानुभक्त आचार्यले जीवनोपयोगी सूक्ति प्रस्तुत गरेका छन् ती सूक्तिमय कविताका केही अंशमात्र यहाँ प्रस्तुत गर्न चाहन्छु :

दरिद्र नाऊ नरमा छ कस्को ?

विशाल तृष्णा घरमा छ जस्को

कुन हो धनी सब नरले कह्याको

सन्तोषले जो छ सुखी रह्याको।

ज्यूँदै मर्‍याको, भनि नाउँ कस्को ?

उद्यम् विना बित्तछ काल जस्को

कुन् हो सबैले, गुरु भन्नु पर्न्या ?

जो हो हितैको, उपदेश गर्न्या।

कुन् हो जती जती दियो, उती बढ्न जान्या ?

विद्यै रहेछ बुझि, निश्चय तेहि मान्या

कुन् काम हो अति डरायर दूर सार्नू ?

लोकापवाद् छ घटिया कहिल्यै नधार्नू।

उनको प्रस्तुत कविता शंकर स्वामीद्वारा संस्कृत भाषामा लेखिएको मणिरत्नमाला नामक मूल कृतिबाट नेपालीमा अनुवाद गरिएको हो। यो कविता छ श्लोकमा आवद्ध छ। पहिलो श्लोकमा संसारमा दरिद्र भनेको के हो भन्दै धेरै लोभ लिने मान्छे दरिद्र हो र सन्तोषले बाँच्न सक्ने मानिसलाई धनी मान्छे भन्नुपर्छ भनिएको छ। दोस्रो श्लोकमा जीवन उद्योगको महत्त्व गाउँदै कुनै पनि आर्जन गर्न नसकी बाँच्ने मान्छेलाई ज्यूँदै मरेको मान्छे भन्नुपर्छ भनिएको छ। साथै संसारका विषयवस्तुमा अनाशक्ति देखाउन सक्ने मानिसलाई अमृतपान गरेको जीवन पाएको भन्दै मान्छेले मोह ममताको पासमा बाँधिनु राम्रो हुँदैन भनिएको छ। तेस्रो श्लोकमा मान्छेले गर्न नहुने काम के-के हुन् भनेर प्रश्न गर्दै आफ्नो आत्मालाई कोरिरहने र पछुतो उब्जाउने निष्कृष्ट कामहरू कहिल्यै गर्नुहुँदैन भनिएको छ। यसका साथै विद्वान् पुरुषले गर्नुपर्ने काम के हुन् भनेर प्रश्न गर्दै आफ्नो सनातन धर्म थाम्नु र विद्याको आर्जन गर्नु विद्वान् पुरुषले गर्नुपर्ने काम हुन भनिएको छ। यस्तै गरी चौंथो श्लोकमा पशुजस्तो भनेर कसलाई भनिन्छ भन्दै यसको उत्तरमा विद्याविहीन मान्छेलाई पशुजस्तो भनिएको छ र यसै क्रममा सज्जन मान्छेले संगत गर्न नहुने को-को छन् भन्दा मूख, पापी र नीच जातिका मान्छेसँग संगत गर्नुहुँदैन भनिएको छ। पाँचौं श्लोकमा मनुष्य जीवनमा कीर्तिको महत्त्व गाउँदै संसारमा साँच्चै जन्मिएको भनेर कस्ता मानिसलाई भनिन्छ भन्ने प्रश्न गर्दै एक पटक जन्मिएपछि संसारमा कीर्ति छोडेर जान सक्ने र कीर्ति आर्जनका निम्ति फेरि जन्मनु नपर्ने मान्छेलाई जन्मेको भन्नुपर्छ भनिएको छ। यसको उल्टो संसारमा मरेको मान्छे कसलाई भनिन्छ भन्दा पञ्च भौतिक शरीर समाप्त भएपछि आफ्नो इतिहास समाप्त हुने मान्छेलाई मरेको मान्छे भन्नुपर्छ भनिएको छ र परेको बेलामा बोल्नुपर्ने कुरा पनि बुझ्ने मान्छेलाई लाटो भन्नुपर्छ भनेरसमेत उक्त श्लोकमा व्यक्त गरिएको छ। अन्तिम श्लोकमा भने चौथो श्लोकमा झैँ विद्याको महिमागान गाउँदै आमाले जस्तै सुख दिने वस्तु यो संसारमा के छ भनेर प्रश्न गर्दै त्यस्तो वस्तु विद्या छ भनिएको छ। अरु वस्तुहरू जति-जति दियो उति-उति बढ्दै जाने वस्तु कुन हो भन्ने प्रश्नमा यस्तो वस्तु विद्या हो भन्ने माव उक्त श्लोकमा नै व्यक्त गरिएको छ।

यसरी प्रश्नोत्तर कवितामा सो भाव र प्रकृतिले धनी, गरिब, जिउँदै मरेको मान्छे, अमृतपान गर्ने मान्छे, खराब मानिसको स्वरूप चिनाउँदै विद्याका विशेषता र महिमा गान गरिएको छ। प्रस्तुत कविताका छ वटा श्लोकमध्ये पाँच वटामा उपजाति छन्दमा र अन्तिम श्लोक वसन्त तिलका छन्दमा राखिएको छ। यसको भाषा सरल र भाव ज्यादै गहिरो छ। अन्त्यानुप्रास पनि मिलेको हुनाले यो गेयात्मक बन्न पुगेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width