बासी

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७०

वासी शब्दको शाब्दिक अर्थ भन्नु नै चिसिएको वा पूरानिएको भन्ने बुझिन्छ। चाहे त्यो खाद्यवस्तु होस् चाहे अखाद्य वस्तु सड्नु गल्नु बिग्रनु भन्दा अघिल्लो अवस्थालाई ‘वासी’ भनिन्छ। वासी भन्नु तापमा परिवर्तन आउनु, रङ्गमा परिवर्तन आउनु, स्वादमा परिवर्तन आउनु र आकार प्रकारमा परिवर्तन आउनु नै वासी हो। वासी वस्तुले कसैको हित गर्दैन। वासी वस्तुलाई पहिलेदेखिनै तुच्छ मानिँदै आएको छ। राष्ट्रवासी, देशवासी, सुकुम्वासी, हुकुमवासी, वनवासी, हुम्लावासी, जुम्लावासी, तराईवासी आदी वासी शब्दले दुर्इ खाले अर्थ दिन्छन् ठेट वासी शब्दले मानिसमा हानी नोक्सानी गर्ने भन्ने बुझिन्छ भने, वासी शब्दको अगाडि उपसर्ग लगाउँदा त्यस ठाउँमा रहने मानिसहरू भन्ने बुझिन्छ।

पकाएको खाना बाँकी रह्यो बिहान बेलुका वासी, बाली गएको भैंसी व्याएन वासी बस्यो, हिल्याएको खेत रोप्न भ्याइएन त्यो पनि वासी, काढेको बीउ रोप्न सकिएन वासी, भएका लगन सबै सकिए विवाह भएन एक वर्षका लागि वासी बस्यो, मरेको सिनु  फ्याँक्नु पाइएन त्यो पनि वासी, राति पानी परेन वासीबिदो पर्‍यो।

ताजा छँदा जति स्वाद र महत्त्व हुन्छ, वासी भएपछि त्यसको अस्तित्व तुच्छ मानिन्छ। वासी खान बाध्य भएकै कारणले गरिव निमुखा मानिसहरूलाई हुने खाने सामन्तहरूले तल्लो जात भनी वर्गीकरण गरियो। दास दासी बनाएर वासी सडेगलेको खाना खान बाध्य पारियो, मरेका जनावर सिनो खान बाध्य पारियो। आज त्यसको ठीक उल्टो भएको छ।

अन्न जस्ता छिटै नसड्ने वस्तुलाई वासी मानिँदैन। घीउ, तोरीतेल, महजस्ता वस्तु शुद्ध हुन्थे र धेरै समयसम्म ताजै रहन्थे। आजभोलि यी सबै चिजहरूमा हानिकारक मिसावट प्रसस्त मात्रामा पाइन्छ। यस्ता वस्तुहरू जति वासी राख्यो उती हानिकारक हुन्छन्। आजको वैज्ञानिक जमानाका बौद्धिक जगत वासी, वासी भै रमाउन चाहेका देखिन्छन्। आज भोलि राजादेखि रैती सम्मका मानिसहरूले खाने लाउने, अन्य प्रयोगका वस्तु सबै वासी नै वासी। आजभोलि साजि भोजन गर्नेहरूको सङ्ख्या न्यून हुन पुगेको छ। साजी मकै, साजी ढिँडो, साजी भात यस्तै साजी खानेहरू वासीमा भुले, वासी खान बाध्य पार्नेहरू सीमित साजी खान थाले। नजिक उत्पादनका कुनै पनि वासी वस्तु गरीबको भाग वण्डामा थोरै मात्र पर्छ,  धेरै वासी त हुनेखाने धनी वर्गकै भागमा पर्न गएको छ।

विभिन्न खाद्य वस्तुलाई वासी बनाएर खानका लागि अनेक उपकरणहरूको आविस्कार भएका छन्। यिनै उपकरणले गर्दा होला वासी खाद्य वस्तुहरूको महत्त्व र मूल्य विछट्ट बढेको पाइन्छ। वासी खानेकुरा बनाउनेहरूको होडबाजी नै चलेको छ। नेपाली लोकप्रिय शब्दको छनोट गरीगरी चाउचाउ, विस्कुट, पाउरोटी मिर्ठाई जस्ता वासी खाद्यवस्तुका नामकरण गरिएका छन्। समोसा, केक त्यस्तै के के हुन के के चिज त वासीबाट पनि महावासी बनाएर सबैलाई खुवाइन्छ। वासी चिज उत्पादन गर्न र बिक्री वितरण गर्न सबैलाई छुट छ। यस्तै वासी वस्तु उत्पादन गर्ने उद्योग धन्दा खोल्न र बिक्री वितरण छुट बापत उच्च स्थानमा बस्नेहरूले कमिसन प्राप्त गर्छन्। त्यस्तै सरकारले पनि आयकरको धोक्रो भर्छ। माथिल्लो तहमा बस्नेहरूलाई गतिलो कोसेली चखाए बापत, न्यून गुण स्तरका वस्तुहरूको न्यून तौल भएका वस्तुहरूको स्वादिलो महङ्गो विज्ञापन हुन्छ। “आफै बोक्सी आफै झाँक्री” भने जस्तो गरी अझै नियम कानुन बनाउँछन् र आफैँ उल्लङ्घन गर्छन्। “मरे सासूको छोरो बाँचे मेरो पोइ” भने झैं “रोगी भए मरे यत्रैसिती नमरे तिनैलाई बोलाएर भाषण सुनाउन पाइन्छ, भोट पाइन्छ”। त्यसैले वासी खान आ-आफ्नो इच्छाअनुसार सबैलाई प्रसस्त हुन्छ। अझ सबैभन्दा धेरै वासी खानेहरूलाई त मान्छे हेरेर पुरस्कारको पनि व्यवस्था भएको छ।

वासीको महत्त्व बुझेका बुज्रुकहरू पनि कतै काम विशेषले जानुपर्‍यो भने होटलको आश्रय लिनै पर्छ। “नखाउँ भने दिनभरको शिकार खाउँ भने कान्छा बाउको अनुहार” भनेझैँ भोकले क्याङ्कुली बासेपछि तीन वासी भए पनि खानै पर्ने। विचरा साजी स्वाद चाख्नेहरू पनि पछारिन पुग्छन् होटलभित्र पसेपछि। विभिन्न तालिम लिएका भत्कौराहरू वासी खाना स्वदिलो बनाउन विधि र तरिका जानेका हुन्छन्। यस्ता होटल र रेष्टुराहरू दिनरात प्याक हुन्छन्। यिनै वासी खाना बिकाउन भनी आजकल होटल र रेष्टुँराहरूमा “बाहिर बोक्रो भित्र खोक्रो भएका” सुन्दरीहरूको प्रदर्शनी गराइन्छ। जुठो चोखोको मतलबै हूँदैन, मान्छेहरूको ख्याल को स्वाद सबै खानाद्वारा नै चाख्न नै चाख्न पाइन्छ। जुठो बार्ने परम्परा अब हराइसक्यो। त्यसैले होला “सोझाको मुख कुकुरले चाट” भन्ने उखान सार्थक भएको। सोझो तरिकाले होटल रेष्टुराँ चलाउँछु भन्नेहरू टाट पल्टिएका छन्। निःस्वार्थी, सोझो इमान्दारी बन्छु भन्ने कहीँ कतै सफल हुन सक्दैन।

ज्ञानले विज्ञान जन्मायो विज्ञानले अज्ञान अल्छी, अधर्मी, असहयोगी, अपराधी यस्तै-यस्तै कति बिकृति भित्रयायो, भित्रियो। वासी खानका लागि भनेर रेफिजेरेटरको आविष्कार भयो। माछा, मासु, फलफूल, तरकारी सबै वासी नै बनाएर खान रमाउँछन् घरानियाहरू। अझ ठूला-ठूला भोज भतेर, पार्टीउत्सव होस् वा प्रहरी सैनिक गणहरूमा होस् र होस्टेल छात्रावास जस्ता ठाउँमा ज्यादा वासीको स्वाद चाख्न पाइन्छ। तरकारीवाला होस् वा फलफूलवाला होस् सबैसँग पहिल्यै बरु बासी सडेगलेको देऊ, धेरै देऊ भन्ने सम्झौता हुन्छ। यस्तै विवाह, व्रतबन्ध पास्नीजस्ता उत्सवहरूमा यिनै होटल र रेष्टुरेन्टद्वारा सञ्चालित तरिकाले चखाइन्छ।

यस्तै वासीकै प्रतिस्पर्धाले गर्दा राष्ट्रको वाषिर्क बजेट पनि वासी रहेका छन्। बजेटकै कारणले गर्दा राष्ट्रको उद्योग धन्दा सबै वासी बस्न थालेका छन्। नेपालका उद्योगहरूलाई केही कमिशन खोर र विदेशीहरूको मिलोमतोद्वारा धरासायी बनाउने काम भएको छ। नजिकको तीर्थ हेलाँ भनेझैँ कम गुणस्तरका सामग्री भए पनि विदेशी सामग्रीलाई प्राथमिकता दिइन्छ। औद्योगिक, सञ्चार, यातायात र दैनिक प्रयोगका कतिपय सामग्रीहरू छानीछानी कम गुणस्तरका वस्तुहरू अभागी नेपालीको भागमा पर्दछन्। यतिसम्म कि नेपालबाट वगेर जाने ताजा नदीको पानी पनि ठेलठाल गरेर तराईवासीहरूलाई वासी पानीमा तैरन बाध्य पारिएको छ। हुन त विश्वजगत नै वासीमय हुन थालेको छ। त्यसमा पनि नेपाल त विश्व जगतको फोहोर फाल्ने डम्पिङसाइड भएको छ। साजीसाजी विदेशतिर वासीजति नेपालतिर पठाइन्छ। नेपालले हुर्काए बढाएका ताजा युवायुवतीहरू विभिन्न बहानामा बिदेश सप्लाई गरिन्छ र वासी भएपछि बडो अपमानकासाथ नेपाल फिर्ता पठाइन्छ। विदेशीहरूले बेकाम ठानी फ्याँकिएका वासी शिक्षा नीति नेपालमा लागू गरिन्छ। स्वास्थ्य क्षेत्र त नेपाल विश्व जगतको प्रयोगशाला बनेको छ। नेपालले प्रयोग गर्ने औजार उपकरण सबै साजी छन्। साजी देशले वासी चिजको प्रयोग गर्न कत्तिपनि सुहाएको छैन र सुहाउँदैन नेपालका साजी अमूल्य वस्तुहरूसँग तीन कौडीका वासी वस्तुहरू साँच्न बाध्य छन् नेपालीहरू खाए वा नखाए घिच भने जस्तै गरी साम्राज्यवादी विस्तारवादीहरू नेपालको अस्तित्व मेटन खोज्दैछन्।

हुदाहुँदा राज्य सञ्चालनमा सम्पूर्ण संयन्त्रहरू सबै वासी भएका छन्। राजनीति पार्टीसाजी भएर के भयो, वासी भाइरस पसेर तुरुन्तै सडाएर दुर्गन्धित हुन पुगे बदनाम हुन थाले। उनै वासी हुकुमी भाइरसले एकछत्र रुपमा दुर्गन्धित पारिरहेको छ। सबै त्यसैको शिकार बन्नु परेको छ। साजी राजनीतिक पार्टीभत्र स्वदेशी र वैदेशिक हानिकार वासी भाइरस घुसेको कसैलाई पत्तै हुन्न, अनि त्यसैले भित्रभित्रैबाट कामै नलाग्ने गरी सडाइ दिन्छ। हाम्रै हिमालबाट खोजेर होस्, बन जङ्गलबाट खोजेर होस् वा नदी तलाउबाट खोजेर होस् शुद्ध सञ्जीवनी बुटीखोजे र वासी भाइरसलाई सदाका लागि उन्मुलन गर्नुपर्छ। अब “सौताका रिसले पोइको काखमा पिसाव फेर्ने” भने जस्तो बेइमानी गर्नुहुन्न र सबै मिलेर यस्ता वासी वस्तुलाई नियन्त्रण गर्नुपर्छ र हाम्रा मूल्यवान साजी चिजहरूमा नै जोड दिनुपर्छ।

राष्ट्रको गौरवशाली व्यक्तित्वहरू साहित्यकार, कलाकार, सङ्गीतकार गायककार, समाजसेवी, वैज्ञानिक, देशभक्तजस्ता साजी (जिउँदो) छउन्जेल चारैतिरबाट तिरस्कार गरिन्छ दुःख पाउँछन्, मृत्यु पश्चात् बल्ल मान सम्मानले पुरस्कृत गरिन्छ। उच्च ओहोदामा बस्ने मानिसमा वासी सोच चिन्तनकै कारणले यस्तो भएको हो। धर्म संस्कृति, साहित्य, कला गीत सङ्गीत, बाजागाजा कहिल्यै वासी हूँदैनन् ताजै मानिन्छन् तर वासी स्वादमा जीवन समर्पण गरेका आजका केही युवायुवतीहरू विदेशी गीत, सङ्गीत, कला, साहित्य, बाजागाजालाई “हाँसको बथानमा बकुल्लो” जस्तो गरी ठि· उभ्याइएको छ “सुहाउनु न टुहाउनु त्यो गाँड किन आउनु” भने जस्तै देशले पच्दै न पच्ने क्रियाकलाप गरिन्छ। स्वधर्मको खिल्ली उडाउने र परर्धर्मप्रति आसक्त देखिन्छन् राष्ट्रका कर्णरहरू। “आफ्नो आङ्मा भैसी नदेख्ने अरुको आङ्मा जुम्रा देख्ने” विदेशीको पछि लागेर आफ्नो देशलाई घृणा गर्ने र अर्काको राष्ट्रको नाम गायत्री मन्त्रझैँ जप्न थालेका छन्। यसो गर्नु आफ्नो खुट्टामा आफैले बञ्चरो हिर्काउनु जस्तै हो।

बासी चिजको राम्रो ज्ञान भएका प्राचिन ऋषिमुनिहरू साजीकै खोजी अनुसन्धान गर्न जङ्गल पस्थे र ताजा हावापानी फलफूल मात्र खाएर ध्यान बस्थे। अन्त्यमा धेरै कुराको खोज अनुसन्धान गरेर आफ्नो विलक्षण  प्रतिभा प्रदर्शन गथे। आगो ताप्नु मुढाको कुरा सुन्नु वुढाको भनेझैँ यिनै ऋषि मुनिका अर्ति उपदेशहरूलाई जीवन्त ठान्ने हाम्रा बुढा पाकाहरूका भनाइलाई हामी आजका युवापिँढीले मार्गर्दर्शन मान्नुपर्छ र हानिकारक वासी चिजलाई त्याग्नु पर्छ। हाम्रो मुलुकका बहुमूल्य ताजा वस्तुहरू विदेशमा पठाइन्छ र विदेशमा सड्न लागेको औषधी हुन या खाद्यवस्तुहरू वासी बनाएर पुनः नेपाल भित्रयाइन्छ। विभिन्न अखाद्ययवस्तुहरू नेपाली बजारमा अत्यधिकरूपमा बिक्री वितरण गरिन्छ। यसले गर्दा आज भयावहरूपमा बालक, युवायुवतीहरूमा कमलपित्त दुवै मृगौला नष्ट हुनु, क्यान्सर, मुटुका रोगी, मस्तिष्कघातजस्ता अनगिन्ती डरलाग्दा रोगका सिकार बन्नु परेको छ। त्यसैले अब सम्पूर्ण नेपालका राजनीति पार्टीहरूले, शासक प्रशासकहरूले युवायुवती, शिक्षक कर्मचारी, डाक्टर, इन्जिनियर, सैनिक, प्रहरी, किसान, व्यापारी, मजदुर, विद्यार्थी, खेलाडी, ड्राइभर सम्पूर्णले ताजा स्वच्छ विचारले देशको प्रगति र उन्नतीमा लाग्नुपर्छ र परचक्रीहरू वासी विचारलाई सक्रिय रुपमा निस्तेज पार्नुपर्छ। यो राष्ट्रलाई वासी बनाउन खोलिएका मेनपावर हटाएर राष्ट्रिय उद्योग खोल्नतिर ध्यान जाओस् बल्ल देशले निकास पाउला।

राष्ट्रलाई वासी बनाउने प्राचिनदेखि आधुनिकसम्मका प्रशासकहरूले गर्दा नै हो। यिनै नेताहरूको साथ पाएर परचक्रीहरू पनि नेपाललाई वासी बनाउने खेलमा व्यस्त छन्। हाम्रा सम्पूर्ण युवायुवतीहरूलाई विदेशीका दास बनाएर यो सुन्दर ताजा राष्ट्रलाई वासी बनाउन पाइँदैन। हाम्रा अलौकिक प्रतिभा युवायुवतीहरूलाई राष्ट्र निमार्ण्र्ााो कार्यमा लगाउनुपर्छ। क्षमता हेरी सेवा सुविधा दिनुपर्छ। बल्ल यो राष्ट्र सुन्दर र सुगन्धित बन्न सक्छ। अब पनि हाम्रो राष्ट्रमा उब्जिएका अमूल्य वस्तुहरू विदेश पठाएर पुनः वासी बनाएर भित्रयाउन पाइँदैन। साजी देशमा वासी चिजको भण्डारण गर्न पाइँदैन। समस्त देशवासीहरूले अब भने विचार पुर्‍याउनुपर्छ। समस्त वासी चिजबाट होसियार ∕ होसियार ∕∕ होसियार ∕∕∕

Related News

सम्बन्धित समाचार

hero news full width