परिभाषाविहीन आतङ्कवाद र आतङ्कवादी समस्या

जुन देशका शासक यी साम्राज्यवादी, प्रभुत्वादीको खटनपटन मान्दैनन्, कुनै पनि निहुँमा त्यस देशमा विध्वंस गराई सत्तापलट गराउँछ अमेरिका। इराक त्यसको उदाहरण हो।

आदर्श समाज सम्वाददाता
असार ३१, २०७३

के हो आतङ्कवाद ?

आतङ्कवादको परिभाषा गर्न गाह्रो छ। कहिलेकाँही कस्तो देखिन्छ भने पहिले आतङ्कवादी भनिएका व्यक्ति वा शक्ति नै पछि राष्ट्रिय स्वतन्त्रता र जनअधिकारका मसिहाका रुपमा स्थापित हुन्छन्। स्थापित सत्ताको विरुद्ध भएका क्रान्ति वा संघर्षमा संघर्षरत वा परिवर्तनकामी शक्तिले सत्ताको शक्ति क्षयीकरण गर्न यस्ता हत्कण्डा अपनाएका हुन्छन् जुन आतङ्कवादी परिभाषाभित्र पर्छन्। त्यसैले यस्ता शक्तिले विजय प्राप्त गर्दा मुक्तिदाता र पराजित हुँदा भने आतङ्कवादी हुन्छन्।

हाम्रै देशमा हेरौं, केही उदाहरण। बीसको दशकतिर नेपाली काँग्रेसले पञ्चायती व्यवस्थाविरुद्ध ‘हान र भाग’ -हिट एण्ड रन) अभियान चलाएको थियो। त्यसै क्रममा २७-२८ सालतिर नेपाली काँग्रेसका एक कार्यकर्ता भीमनारायण श्रेष्ठले जनकपुरमा राजा महेन्द्रलाई मार्ने उद्देश्यले भीडमै बम प्रहार गरे, पक्राउ पनि परे। मुद्दा चलाएर तत्कालीन कानुनका आधारमा उनलाई मृत्युदण्ड दिइयो। पञ्चायतको अवसानपछि काँग्रेसको सरकारले उनलाई सहिद घोषणा गर्‍यो। भारतीय गुप्तचर संस्था ‘रअ’ को सल्लाहमा काँग्रेसकै नेता-कार्यकर्ताले विराटनगरबाट काठमाडौको लागि उडेको विमान अपहरण गरे। भारतको फारविसगञ्जमा लगे, त्यसमा भएको रुपैयाँ लुटे। अन्तर्राष्ट्रिय जघन्य आतङ्कवादी कार्यको परिभाषाभित्र पर्छ : विमान अपहरण। अपहरणकर्ता नै नेपालका प्रधानमन्त्री, मन्त्री भए। अहिले एमाले बनेको पार्टीा शीर्ष नेताहरूले सुतिरहेको मानिसलाई अपहरण गरी हत्या गरेर क्रान्तिको परिभाषा पेश गर्थे। झापाका धर्मनाथ ढकालको हत्याले जन्मेको हो-माले पार्टी अहिले उनीहरू नै सत्ताको नेतृत्वमा छन्। माओवादीलाई अन्तर्राष्ट्रिय रुपमै आतङ्कवादी घोषणा गरी रेड कर्नर नोटिस जारी भएको थियो। उनीहरूले गरेका आतङ्कको परिभाषाभित्र पर्ने कार्यको फेहरिस्त लामो हुन्छ। अहिले उनीहरू नै शासनमा छन्। त्यसैले भन्न गाह्रो छ, के हो आतंकवाद ? को हुन् आतंकवादी ?

 

अहिलेको प्रसङ्ग

अहिलेको प्रसङ्ग भनेको केही दिनभित्रै आतङ्कका त्रासदीपूर्ण घटना घटे र यी घटनामा संलग्न शक्तिको प्रकृति, प्रवृत्ति र आतङ्क घटाउने तरिकामा रहेको सादृश्यताको विश्लेषण गर्नुमा रहेको छ। र्टर्कीको स्तानबुल विमानस्थलमा भएको हमला, अफ्गानिस्तानको काबुलमा भएको हमला, इराकको राजधानी बगदादमा भएको आत्मघाती हमला, बंगलादेशको राजधानी ढाकामा रहेको अति सुरक्षित मानिएको कुटनीतिक नियोगहरू नजिकैको एक क्याफेमा भएको घटना र साउदी अरेवियाको धार्मिक स्थलमा गराइएको बिष्फोटनसमेतका आतङ्ककारी हमलाकाकर्ताहरू एकै उद्देश्यबाट प्रेरित छन्। मुलतः आफ्नो देशमा विदेशी शोषण एवं हस्तक्षेपको विरुद्ध र इस्लाम धर्म संस्कृतिको रक्षा र सर्म्बर्द्धनको उद्देश्यबाट प्रेरित छन् यिनीहरू। आफूलाई आफ्नो राष्ट्र र स्वधर्मका रक्षाका लागि कृतसंकल्प रहेका -जेहादी) को रुपमा प्रस्तुत गर्दछन्। र, यस उद्देश्यका लागि मर्न-मार्न तयार छन्। मुस्लिम जगतका पढालेखा र उच्च घरानाका युवा यस्तो कार्यमा व्यापक सहभागी रहनु एउटा विशेषता नै हो यो आतङ्की श्रृङ्खलाको।

किन होमिएका छन्, मुस्लिम युवा ?

यसको मूल कारण मुस्लिम जगतमा पश्चिमा देशहरू विशेषतः अमेरिकाले गरेको आर्थिक, राजनीतिक र धार्मिक हस्तक्षेप हो। विश्वको खनिज तेल भण्डारको मूल स्रोत मुस्लिम देशहरूमा छ। त्यो खाडी देशहरू भनौं वा मध्य एशियाका मुस्लिम देशहरू अथाह तेल भण्डार छ यहाँ। यो प्राकृतिक स्रोतमाथि अधिकार जमाउन पश्चिमी मुलुकहरू विशेषतः अमेरिकाले राजनीतिक प्रभुत्व कायम गरेको छ। यी देशमा सैनिक अखडाहरू कायम गरेको छ। जुन देशका शासक यी साम्राज्यवादी, प्रभुत्वादीको खटनपटन मान्दैनन्, कुनै पनि निहुँमा त्यस देशमा विध्वंस गराई सत्तापलट गराउँछ अमेरिका। इराक त्यसको उदाहरण हो। सद्दामले आणविक अस्त्र बनाएको छ भन्ने निहुँ झिकेर अमेरिकी गठबन्धन सेनाले सद्दाम हुसनको तख्तापलट गरेकोमात्र होइन, व्यापक रुपमा हत्या लुटपाट गर्‍यो। इराकीहरूको राजनीतिक, आर्थिक अधिकारमात्र होइन, धार्मिक सांस्कृतिक सबै मान्यता र आस्थामाथि बलात् आक्रमण भयो। अफ्गानिस्तन, लिविया, सिरिया, इजिप्टलगायतका देशको अवस्था हाम्रोसामु छ। इजिप्टमा तत्कालीन राष्ट्रपति होस्नी मुवारकपछि लोकतान्त्रिक पद्धतिअन्तर्गत आमनिर्वाचन भएर बहुमतले निर्वाचित राष्ट्रपति विरुद्ध सैनिक कु गरायो अमेरिकाले। र, अहिले अमेरिकी कठपुतली सैनिक शासकलाई निर्वाचन जितेको बनाइ सत्तारुढ गराएको छ। यिनै हस्तक्षेप मूल कारण हुन् आतंकवाद जन्मनुमा। यिनीहरू अर्थात् व्रि्रोही समूहको मुख्य निशाना भनेको पश्चिमा नै हुन्। काबुलमा नेपालीमाथि भएको आक्रमण क्यानाडाको दूतावास रक्षा गरिदिएका कारणले भएको हो।

अर्को विषय छ : धार्मिक हस्तक्षेप। मुस्लिम जगतमा मात्र होइन, विश्वव्यापी रुपमा नै जहाँ गरिबी र अशिक्षा छ, त्यहाँका मानिसलाई विभिन्न प्रलोभन दिएर क्रिस्िचयन बनाइएको छ। र, धर्म रुपान्तरण व्यापक गराउँदै लगेको, आफ्नो धर्म संस्कृति ध्वंस गराइएको कुरा असह्य भएको छ। विशेषतः इस्लामहरूलाई यसैले मार्न/मर्न तयार छन्, जेहादी  (धर्मरक्षक) हरू। यसलाई एक राजनीतिक शास्त्री स्यामुल पि. हन्टिङटनले सभ्यताबीचको लडाइ भनेका छन्। यही सभ्यताबीचको लडाइमा अमेरिकी गठबन्धनका सेनाले निहत्था निदोर्ष मानिसमाथि बम खसालेको छ भने जेहादीहरूको पनि निहत्था, निदोर्षमाथि नै हमला गरेका छन्।

समाधानको उपाय

यसको समाधानको मुख्य उपाय भनेको एक देशले अर्को देशमा हस्तक्षेप नगर्नु नै हो। कुनै पनि मुलुकको भाग्यको फैसला त्यहीँका जनताले नै गर्ने हो। आफ्नो देशको सम्पदा र शक्ति त्यहीँका जनताको अधिकारको कुरा हो। हालै अफ्गान तालिवानी नेता अखुन्जदाले इद उलफितर चाडको सर्न्दर्भमा दिएको सन्देशमा अमेरिकालगायतका विदेशी सेना हटाइएमा आफूहरू शान्तिवार्ताद्वारा समस्या समाधान गर्न तयार रहेको बताएका छन्। यो एक शुभ संकेत हो।

अर्को खड्किने कुरा हो-मुस्लिम जगतमा आधुनिक लोकतान्त्रिक तथा प्रगतिशील शक्तिले प्रवलता लिन नसक्नु। अतिवादी, कट्टरपन्थी रुढीवादले ग्रस्त पार्नु। आधुनिक शक्तिको प्रवलताका लागि सैनिक र सांस्कृतिक धार्मिक हस्तक्षेप होइन, सहयोग र सौहार्दपूर्ण सहजीकरणको खाँचो छ। कुनै पनि धर्मले शान्ति र प्रगतितर्फ लैजानुपर्छ, विध्वंश र नरसंहारतर्फ होइन।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै