नेपाली लोकतन्त्रको भ्रष्टीकरण र बन्ध्याकरण

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७३

१. विषय प्रवेश

लोकतान्त्रिक गणतन्त्र आधुनिक शासन प्रणालीमा उच्चतम राजनीतिक अभ्यास हो। यो प्रणालीलाई जन्माउने, हुकाउने र संरक्षण गर्दै अभ्यास गर्ने अभिभारा पनि लोकतान्त्रिक दलहरूकै हो। राजनीतिक दलहरूले आम जनता र सरकारका बीचमा पुलको काम गर्दछन्। स्थानीय तहदेखि केन्द्रीय स्तरसम्म संगठित राजनीतिक दलहरूले नै सरकारको निर्माण र सञ्चालनमा अहम् भूमिका खेल्दछन्, त्यसैले राजनीतिक दलहरूलाई लोकतन्त्रको खम्बा मानिन्छ। दलहरू लोकतन्त्रका प्राण वायु पनि हुन्। दलहरू बिना लोकतन्त्रको कल्पना नै गर्न सकिन्न। आधुनिक शासन प्रणालीको सञ्चालनमा दलहरूको अहम् भूमिका हुने हुँदा दलको नेतृत्व छनोट र त्यसको सञ्चालन पारदर्शी, जिम्मेवार र नैतिकवान् भए मात्र लोकतन्त्र मजबुद बन्न पुग्छ। विश्वको हालसम्मको अभ्यासले यही स्थितिको बोध गराउँछ।

संसदीय लोकतन्त्रमा सत्ताधारी दल र प्रतिपक्षमा रहने दलको भूमिका फरक भए पनि राजनीतिक प्रणालीलाई सञ्चालन गर्न र टिकाउन दुवैको भूमिका समान रहन्छ। आम जनतालाई सरकारका कमी कमजोरी र त्रुटिहरू केलाई सम्प्रेषण गर्नु विपक्षी दलहरूको कर्तव्य हो भने सत्ताधारी दलहरू सकभर विपक्षीलाई खोट र दोष देखाउनै नपाउने गरी नीति निर्माण र त्यसको कार्यान्वयनमा खट्नु हो। त्यसैले सबल लोकतन्त्रका लागि सत्ता पक्ष र विपक्ष एउटै रथका दुर्इ वटा पाङ्ग्रा हुन्। संसदीय लोकतन्त्रमा विपक्षी दललाई छाया सरकारको रूपमा लिइन्छ। सत्ताधारी दल जीवित स्वरूपको शरीर हो भने विपक्षी दल त्यसलाई पछ्याइरहने अनिवार्य छायारूपी तत्त्व हो। विपक्षी वेन्च खाली राखेर सरकारले कुनै पनि नीति र कार्यक्रमहरू ल्याउन र पारित गर्न सक्दैन यी दुवैलाई आम मतदाताहरूले त्यही अनुरूप आ आफ्नो जिम्मेवारी सुम्पिएका हुन्छन्।

२. नेपाली लोकतन्त्रको यात्रा र अनुभव

नेपालको पहिलो जेठो पार्टी प्रजापरिषद्ले थालनी गरेको लोकतन्त्र प्राप्तिको यात्रा यो आफैले एक दशक पनि अघि बढाउन सकेन। वि.सं. १९९० को दशकको सुरुमै थालनी गरेको उक्त यात्रा वि.सं. १९९७ मै राणाहरूको चर्काे दमनका कारण अवरुद्ध भयो। राणाहरूले छिन्नभिन्न पारेको उक्त दल तङ्ग्रिनै सकेन। वि.सं. २००३ सालमा जन्मेको नेपाली राष्ट्रिय काँग्रेस -वि.सं. २००६ सालमा नेपाल प्रजातन्त्र काँग्रेससमेत एकीकरण भई नेपाली काँग्रेसको गठन) ले लोकतान्त्रिक आन्दोलनको रथ हाँक्यो र सुरुमा राणाहरूलाई वैधानिक कानुन २००४ जारी गर्न बाध्य पार्‍यो। यसै बीचमा २००६ सालमा जन्मेको नेपाल कम्युनिष्ट पार्टी पनि बामपन्थी आन्दोलनमा क्रमशः सक्रिय भयो तर २००७ सालको जनक्रान्तिमा भने यसको कुनै उपस्थिति रहेन। नेपाली काँग्रेस एक्लैले राणा शासन ढाल्ने काम सम्पन्न गर्‍यो। हाल राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण प्रभाव पारिरहेका प्रमुख राजनीतिक दलहरूमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टी रूका एकल वा संयुक्त आन्दोलनबाट वर्तमान लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भएको हो। वि.सं. २००७, २०४६ र २०६२ का आन्दोलनहरूमा नेपाली काँग्रेसको अग्रणी र महत्त्वपूर्ण भूमिका रहृयो। यस बीचमा काँग्रेस, कम्युनिष्ट दुवै पार्टीले हिंसात्मक र अहिंसात्मक आन्दोलनहरू दर्जनौँ सञ्चालन गरे। १०४ वर्षे राणाशासन तथा साढे तीन दशकभन्दा लामो शाही शासन (महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्र) ढाल्नका लागि भएका दलहरूका प्रयास ज्यादै कष्टकर र जोखिम पूर्ण रहे। त्यसैले ती आन्दोलनहरू नेपाली राजनीति इतिहासमा स्वर्णाक्षरले लेखिएका छन्। यी आन्दोलनमा नेपालका दलहरूको कुवानी प्रशंसा योग्य र गौरवपूर्ण रहेका छन्। यद्यपि हिंसात्मक र ध्वंसात्मक राजनीतिक गतिविधिहरू भने आम जनमानसमा केही विझाउने, तिक्ततापूर्ण र नकरात्मक प्रभाव छाड्ने घटनाका रूपमा स्मृतिमा रहेका छन्। वि.सं. २००७ सालको जनक्रान्ति भने हिंसात्मक स्वरूपको भए पनि हिंसाबाट जन्मेको राणा शासनलाई ढाली मुलुकलाई उन्मुक्ति दिलाई लोकतन्त्रको स्थापना गर्न कोसे ढुङगा साबित बन्यो, तथापि त्यसले अपेक्षा गरेको संविधान सभाको परिकल्पना र स्थायी राजनीतिक प्रबन्ध हुन सकेन। फलस्वरूप २००७ सालदेखि २०६२।६३ सालसम्म विभिन्न कालखण्डमा विभिन्न स्वरूपका आन्दोलन र राजनीतिक परीक्षण गर्दै नेपाली राजनीति अगाडि बढ्यो। यस बीचमा आधा दर्जन त संविधानै फेरिए। ३ दर्जनभन्दा बढी प्रधानमन्त्री मुलुकले उत्पादन गर्‍यो। झण्डै ६५ वर्षको अस्थिर राजनीतिक यात्रा पार गरेपछि संविधान सभाबाट २०७२ असोज ३ मा संघीय संसदीय लोकतान्त्रिक गणतन्त्रको स्थायी प्रबन्ध गर्न नेपाली राजनीति सफल भयो।

३. दलीय आस्था रुझान र राजनीतिक प्रवृत्ति

राजाको वैधानिक नायकत्व र संसदीय लोकतन्त्रलाई मूल आधार मान्ने पार्टी नेपाली काँग्रेसले आफ्नो स्थापनाकालदेखि २०६२।६३ सम्म उक्त राजनीतिक प्राप्तिका लागि क्रियाशील बन्यो र २०६२।६३ को जनआन्दोलनपछि लोकतान्त्रिक संसदीय गणतन्त्रको धार समात्यो। यसले एकल वा संयुक्त रूपमा नेपालको प्रजातान्त्रिक आन्दोलन यहाँसम्म ल्याइ पुर्‍याउन स्वणिर्म इतिहास रच्यो। त्यस्तै वामपन्थी आन्दोलनमा सक्रिय कम्युनिष्ट पार्टी रू जन्मकालदेखि नै गणतन्त्रवादी भए पनि सिद्धान्तमा जनवादी गणतन्त्रको वकालत गर्दै राजा सहितको शासन परिपाटीमा समेत केही घटक क्रियाशील रहे, केही घटक भने व्यवस्था बाहिर बसी चुनौती दिइरहे त्यसैले २००७ सालको जनक्रान्तिमा राजनीतिक उपस्थिति देखाउन नसकेको वाम आन्दोलन २०६२।६३ मा आइपुग्दा प्रभावकारी र निर्णायक राजनीतिक शक्तिको रूपमा उपस्थित हुन सक्यो। पछिल्ला संविधान सभाका निर्वाचनमा दुर्इ तिहाइभन्दा बढी बाम वर्चश्वको प्रभाव संविधान सभा र बाहिर नेपाली राजनीतिमा रहृयो। अन्य पार्टी रू मध्ये राजावादी, क्षेत्रीयतावादी, जातिवादी पार्टी रू पनि नेपाली राजनीतिमा निर्णायक र प्रभावकारी शक्ति बन्न नसके पनि आ आफ्नो राजनीतिक उपस्थिति झिनो रूपमै भए पनि देखाउन बेला बखतमा क्रियाशील भइनै रहे। वि.सं. २०१५ सालदेखि २०७० सालसम्म आइपुग्दा नेपालले केन्द्रीय र स्थानीय निर्वाचन गरी झण्डै १३ वटा निर्वाचनहरू सम्पन्न गर्‍यो। ती निर्वाचनहरूमा सहभागी भएर वा नभएर राजनीतिक दलहरूले आ आफ्नो राजनीतिक आस्था र विश्वासलाई परिचालन गर्न छाडेनन्।

झापा आन्दोलनबाट उदाएको प्रमुख राजनीतिक धार तत्कालीन माले वि.सं. २०३६।३७ को जनमत सङ्ग्रहकालीन राजनीतिमा धुमिल छाप छाडे पनि २०४६ मा आइपुग्दा नेपाली काँग्रेसको नेतृत्वमा सहकार्य गर्न सहमति भई बाम मोर्चाबाट सहभागी बनी जनताको बहुदलीय जनवादको सिद्धान्त अवलोकन गर्दै एमालेको रूप धारण गर्‍यो। त्यस बेलादेखि हालसम्म नेपाली काँग्रेसको वैकल्पिक राजनीतिक शक्तिको रूपमा आफूलाई उभ्याउन उक्त दल सफल बन्यो। वि.सं. २०४६ को जनआन्दोलनमा ७ बामपन्थी समूहमा संलग्न रही बाम मोर्चाको आवरणमा नेपालका वामपन्थी शक्तिहरू नेपाली काँग्रेसको नेतृत्वमा सम्पन्न उक्त आन्दोलनमा क्रियाशील रहे। तर हाल माओवादी केन्द्रमा संलग्न आधा दर्जन कम्युनिष्ट घटकहरूले छुट्टै संयुक्त राष्ट्रिय जनआन्दोलनमा सक्रिय बनी आफ्नो राजनीतिक उपस्थिति जनाइ रहे। यसरी २०४६ सालसम्मै आइपुग्दा एक दर्जनभन्दा बढी कम्युनिष्ट घटकहरू वाम आन्दोलनमा सक्रिय भइरहे। त्यही बेलादेखि केही कट्टरपन्थीहरू माओवादीका नाममा २०५२ सालबाट सशस्त्र व्रि्रोहको लाइन समात्न पुगी एकदलीय जनवादी गणतन्त्र शासन व्यवस्था स्थापनाका लागि आफ्नो सक्रियता देखाए। उक्त शक्तिले २०६२।६३ बाट शान्तिपूर्ण बाटो समाती आफूलाई एमाओवादीका रूपमा स्थापित गर्‍यो र पहिलो संविधान सभा निर्वाचनमा प्रमुख राजनीतिक शक्ति बनी सरकारको नेतृत्व गर्न पुग्यो। हाल यो शक्ति माओवादी केन्द्रका रूपमा संगठित हुने प्रयास गरिरहेको छ र सत्ताको स्वाद पनि चाखिरहेको छ। अझै पनि अबको कार्य दिशा जनगणतन्त्र भन्दै फुट र विभाजनमा रमेर अलग्गिएका घटकहरूलाई आफूतिर आकर्षण गर्न प्रयत्नरत छ।

नेपाली राजनीतिमा देखा परेका प्रमुख राजनीतिक धारहरूमध्ये नेपाली काँग्रेसको संसदीय रुझान, एमालेको बहुदलीय जनवाद, माओवादीहरूको जनगणतन्त्र, राजावादीहरूको संवैधानिक राजतन्त्र र हिन्दू अधिराज्य तथा मधेशवादीहरूको तराइ मधेश एक प्रदेश सहितको लोकतन्त्रको चाहनाका बीचमा जारी नेपालको संविधान २०७२ ले संसदीय लोकतान्त्रिक संघीय गणतन्त्रको परिकल्पना गरेको छ। ३ असोज २०७२ मा जारी भई क्रमशः लागु हुने चरणमा प्रवेश गरेको छ। यही संविधान अनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका केन्द्रिय अन्तर्गतका अङ्गहरू संक्रमणकालीन रूपान्तरित हुँदै छन्। त्यसैले अव आएर सबै राजनीतिक शक्तिको केन्द्र बिन्दु जारी संविधानै बन्न पुगेको छ। नेपाली लोकतन्त्रको खोजीको यात्रामा निक्लेका नेपालका दलहरूको विगतको पृष्ठभूमि र वर्तमान क्रियाशीलताको स्थितिलाई अवलोकन गर्दा नेपाली लोकतन्त्र अझै खतरामुक्त भइ नसकेको आभाष मिल्न थालेका छन्। किनकि अझै पनि केही दलहरू लोकतन्त्रवादीको आवरणमा लोकतन्त्रकै हुमत लिन तल्लीन रहेका छन्। विशेष गरी निर्दलीय र एक दलीय आत्मा भएका दलहरू तथा जातीय, क्षेत्रीय, धार्मिक आवरण भिरेका दलहरूले नवस्थापित लोकतन्त्रको सुदृढीकरण र स्थायीत्वका लागि कस्तो राजनीतिक भूमिका निर्वाह गर्ने हुन् ? थ्रेसहोल्ड बिनाको जारी संविधान र समानुपातिक राजनीतिकलाई कसरी अगाडि बढाउने हुन् ? यी सबै कुरा शङकाकै घेरामा रहेका छन्। जसले अझै पनि बहुलवादलाई स्वीकार गर्न सकेका छैनन्, संसदीय व्यवस्थालाई नकारात्मक दृष्टिकोणले हेरिरहेका छन् र संघीय शासन प्रणाली तथा धर्म निरपेक्षतालाई पचाउन सकिरहेका छैनन्। त्यस्ता राजनीतिक शक्तिहरूको उपस्थिति र सक्रियताले जारी संविधान र नवस्थापित संसदीय, संघीय लोकतान्त्रिक गणतन्त्र कसरी फस्टाउला ? शङ्काको घेरामा छ। के नेपाली लोकतन्त्र भ्रष्टीकरण र वन्ध्याकरण तथा बदनामीतिर उन्मूख हुँदै त छैन भन्ने गम्भीर प्रश्न उपस्थित भएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै